ताजा समाचार:
Search

चिमखोलालाई चिनाउने थाली नाच

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,चैत ८ गते ।
म्याग्दीको चिमखोलाका महिलाहरु थाली नाचको माध्यमबाट आफ्नो गाउँलाई चिनाउन जुटेका छन् ।

चिमखोलामा उत्पत्ती भएको थालीनाचको संरक्षण र प्रर्वद्धनमा चिमखोलाका वृद्धा, महिला र युवतीहरु सक्रिय भएका हुन् । पृथक पहिचान बोकेको थालीनाच अहिले चिमखोलामा मात्रै नभएर जिल्ला, देशका विभिन्न सहर र बिदेशमा समेत लोकप्रिय बनेको छ । वि.स २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक थाली नृत्य प्रस्तुत गरेकी थिइन ।

Thali Dance
वि.स २०४४ सालमा काठमाडौमा भएको सार्क सम्मेलनमा पुनले थालीनाच प्रस्तुत गरेपछि यसको राष्ट्रिय र अन्तराष्ट्रियकरण भएको चिमखोला गाविसकी सामाजिक परिचालक थवीना तिलीजाले बताइन । पछिल्लो समय चिमखोलाबासी पुगेको ठाउँमा थालीनाच पुगेको र नयाँ पुस्ताले पनि संरक्षणमा चासो दिएका तिलीजाले बताइन ।

हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपुर्वक गरिने थानीनाच मौलीक, आकर्षक र संयमित हुनाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नाच सम्बन्धि गीत पनि रेकर्ड भएकाले यसको लोकप्रियता झन बढेको चिमखोलाका कलाकार बिष्णु पुनले बताइन् ।Chimkhola ko Thali dance

थाली नाचमा मौलीकता र आफ्नोपन झल्कने कलाकारहरु बताउँछन् । दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचक हुने गर्छ । यस्तो नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाहे हुन्छ । धेरै प्रयास गर्नुपर्छ । हातखुट्टा र शरिरको चाल मिल्नुपर्छ । थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ ।

चिमखोलाकी सञ्जु गर्बुजाले थाली नृत्य सिक्नका लागि अघिल्लो पुस्ताका आमाहरुबाट प्रशिक्षण लिएको बताइन । विभिन्न मेला, महोत्सव र कार्यक्रमहरुमा थाली नृत्य देखाउने गरिन्छ । पहिले निकै कठिन भएपनि नाच्दा, नाच्दै अहिले सजिलो भएको कलाकारहरुले बताएका छन् । पहिले चरेसको थाल नचाउने चलन थियो । अहिले स्टलको थाल नचाउने गरिन्छ ।

आकर्षक र रोचक हुने भएकाले थाली नाच आजभोली म्याग्दी जिल्लामा मात्रै नभएर प्रवासका म्याग्देलीले आयोजना गर्ने कार्यक्रममा पनि देखाउने गरिन्छ । थाली नाच सम्बन्धि गीत रेकर्ड भएपछि यसले अझ ब्यापकता पाएको म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाको भनाई छ । पहिले पञ्चे बाजामा पनि थाली नृत्य गरेको अनुभव थापासंग छ । महिला कलाकारले गून्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ ।