ताजा समाचार:
Search

प्रहरीद्धारा रुमका दुई गाँजा कारोबारी सार्वजनिक

विकल्प न्यूज/बेनी
फागुन १८ गते ।

म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट प्रहरीले ठूलो परिमाणमा गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । घरगोठमा गाँजा लुकाइराखेको गोप्य सूचनाका आधारमा दरबाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेको उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ ।

फागुन १३ गते खटिएको प्रहरी टोलीले भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनले बाख्राको खोरमा लुकाएर राखेको १२ किलोग्राम ८५० ग्राम गाँजा सहित पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी १७ गते खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका ३ रुम डाँडा गाउँ पात्लेका वर्ष ६३ का हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा सहित रोकालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई अदालतबाट पाँचदिनको म्याद थपेर कानुनी कारबाही र अनुशन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।
लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार नियन्त्रणमा लिएर कानुनी कारबाहीको अगाडि बढाइएको उहाँले बताउनुभयो । आरोप पुष्टी भएमा दुई वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि एकलाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।