म्याग्दीका कृषकको नमुना काम,आगलागीबाट क्षति व्यहोरेका गुल्मीका कृषकलाई सहयोग

विकल्प न्यूज/बेनी
म्याग्दी, ६ फागुन ।

 

खोरमा आगलागी हुँदा सबै बाख्रा सहित लाखौँको क्षति व्यहोरेका गुल्मीका एक युवालाई म्याग्दीका बाख्रापालक युवाहरुले सहयोग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका बिरेन्द्र शाहको एसथ्रि बाख्रा फर्ममा गत पुस २३ गते राती आगलागी हुँदा उनी व्यवसायबाट पलायन हुने अबस्थामा पुगेका थिए ।

आगलागीबाट गोठमा रहेका २६ वटा बाख्रा सहित खोरको सबै संरचना जलेर नष्ट हुँदा ३२ लाख बढीको क्षति व्यहोरेका शाहलाई म्याग्दीका बाख्रापालक कृषकहरुले ४ वटा बाख्रा र रु १५ हजार नगद सहयोग गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष, वडा नम्बर २ हुलाकेका नरबहादुर थापा, वडा नम्बर ६ चुत्रेनीका कृष्ण मल्ल र वडा नम्बर ४ का महेन्द्र बानियाँले १/१ वटा बाख्रा र बाख्रापालन सुरु गर्नुभएका नारायण जिसीले रु १५ हजार नगद सहयोग गरेका छन् ।

गुल्मीबाट बेनी आउनुभएका शाहलाई किसानहरुले संयुक्त रुपमा बाख्रा र नगद सहयोग हस्तान्तरण गरेका थिए । उक्त अवसरमा बागलुङका चिरञ्जीवि केसी ले समेत १ वटा बाख्रा शाहलाई उपलब्ध गराएका थिए । आगलागीबाट ठुलो क्षति व्यहोर्नुभएका शाहलाई व्यवसायबाट पलायन हुनबाट जोगाउन आफ्नो क्षमता अनुसारको सहयोग गरेको बाख्रापालक किसान कृष्ण मल्लले बताए ।

फर्ममा लागलागीबाट ठुलो क्षति व्यहार्नुपरेको अबस्थामा आफ्नो व्यवसायलाई पुरानै अबस्थामा पुनः सञ्चालनको लागि म्याग्दीका बाख्रापालक व्यक्तिहरुबाट पाएको सहयोगले आफुलाई हौँसला थपिएको शाहले बताए ।

‘‘ बाख्रापालनतर्फ क्षमता विस्तार गरि संख्या बढाउँदै लगेको थिए, अक्षाज्ञ व्यक्तिहरुले खोरमा लागो लगाएपछि खोरका सबै बाख्रा मरे, खोर पुरै ध्यस्त भयो, म घाईते पनि भएँ, पुनः यो व्यवसायमा फर्कनसम्भव देखेको थिइन्, अहिले विभिन्न ठाउँबाट बाख्रापालक साथिहरुबाटै सहयोगहरु आउन थालेको, अब पुरानै अबस्थामा फर्कने गरि बाख्रापालन सुरु गरेको छु’’–शाहले भने ।