तस्विरमा हेर्नुहोस् दाना सब–स्टेशन

ठाकुरप्रसाद आचार्य/बेनी
माघ २९ गते ।

 म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेशन तयार भएर परिक्षण सफल भएसँगै उत्पादित विद्युत प्रशारणलाइनमा जोडिएका छन् । सब–स्टेशन र प्रशारणलाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गएको थियो । नेपाल विद्युत प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना– खुर्कोट प्रशारण लाइन र सब–स्टेशन एकहप्ता अघि सञ्चालनमा ल्याएपछि यहाँ उत्पादित विद्युत केन्द्रिय प्रशारणलाइनमा जोडिन थालेका हुन ।

 

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण भएको पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत एकवर्ष पछि दाना सब–स्टेशन मार्फत केन्द्रिय प्रशारणलाइनमा जोडिएको हो । यसैगरी मुस्ताङ निर्माण भएको १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत पनि दाना सब–स्टेशन मार्फत केन्द्रिय प्रशारणलाइनमा जोडिएको कालिगण्डकी करिडोर प्रशारणलाइन आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

अहिले घलेम्दीखोलाबाट १.५ मेगावाट मात्र विद्युत उत्पादन भएको छ । भने निर्माणको अन्तिमचरणमा रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत पनि यसै सब–स्टेशन मार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिने छ । यो आयोजनाले निर्माण सम्पन्न गरि परिक्षण उत्पादिनको तयारी थालेको छ ।

विद्युत उत्पादन भएपनि समयमै प्रशारणलाइन निर्माण नहुँदा एकवर्ष सम्म विद्युत खेर गएको घलेम्दी हाइड्रोपावर लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो । विद्युत खेर जाँदा कम्पनीले धेरै नोक्सानी ब्यहोर्नुपरेको उहाँले बताउनुभयो । प्रशारणलाइन निर्माण भएपछि यस क्षेत्रमा जलविद्युत विकासको ढोका खुलेको उहाँले बताउनुभयो । यसैगरी थापाखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको तीन वर्षपछि केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।

यसक्षेत्रमा १०९ मेगावाट क्षमताको निलगिरी जलविद्युत् आयोजना निर्माणको चरणमा छ । प्रशारणलाइन निर्माण भएसँगै आयोजना एकवर्ष भित्र सम्पन्न गर्ने गरी निर्माणलाई तिव्रता दिएको छ । ४० मेगावाट क्षमताका रघुगंगा जलविद्युत आयोजनाले पनि निर्माणलाई तिव्रता दिएको छ ।

चिनियाँ लगानीमा निर्माण हुने १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणस्थल पनि नारच्याङ पर्दछ । १२ मेगावाट क्षमताको मिस्ट्रिखोला दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले पनि निर्माण सुरु गर्ने तयारी गरेको छ ।

गोरखापत्रबाट 

तस्विरहरु ः ठाकुरप्रसाद आचार्य