बेनीको नमस्ते र बागलुङको सिवाईसी सहकारीबिच एकिकरण

विकल्प न्यूज म्याग्दी, माघ २० ।

म्याग्दी २० माघ ।

म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ ।

दुई सहकारीबिचको एकताको सम्पूर्ण प्रकृया पुरा भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने केन्द्रका संयोजक तुलसीनाथ सुवेदीले जानकारी दिनुभयो ।

सहकारीले बेनीमा मंगलवार पत्रकार सम्मेलन गरि बेनीमा एक समारोह आयोजना गरि बुधवार सहकारीको एकिकरण र सेवा केन्द्रको औपचारिक सुभारम्भ गरिने जानकारी गराएको छ । सिवाईसीसंग एकिरण भएपछि नमस्ते सहकारीका सञ्चालक समिति सिवाईसीको सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन उपसमितिको रुपमा रहने सहमती भएको छ ।

बेनीको नमस्ते सहकारीमा ७४ जना शेयर सदस्यको रु १ करोड १२ लाख रुपैयाँ शेयर पुँजी रहेको थियो । एकिकरण पछि बेनीमा सञ्चालन हुने सिवाईसीको १७ औँ सेवा केन्द्रमा एटिएम काउण्टर समेत सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सिवाईसीका अध्यक्ष चण्डीप्रसाद शर्माले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो ।

हुनेखानेको पैसा हुँदा खानेसम्म पु¥याउने र हुँदा खानेलाई हुनेखाने बनाउने उदेश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभाबकारी बनाउँदै आएको उहाँको भनाई छ ।

‘सहकारीमा खुला शेयर सदस्य बन्न पाउने व्यवस्था गरेका छौँ, सहकारीलाई धनिहरुको मात्रै नभएर गरिब, बिपन्न बर्गको समेत पहुँच पु¥याउनेतर्फ हाम्रो जोड रहेको छ, शेयर सदस्यलाई आपत, विपतमा वित्तिय सहजीकरण र आर्जन भएको रकमको बचतमा आकर्षक व्याज दिनुपर्छ भन्ने हाम्रो मुल उदेश्य हो’’–अध्यक्ष शर्माले भन्नुभयो ।

१३ हजार ४४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी , एक अर्ब २७ करोड १६ लाख २५ हजार ६६५ बचत संकलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ । सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल, इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको सहकारीका सञ्चालक समितिका सह–सचिब सुवास आचार्यले जानकारी दिनुभयो ।

सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ ।

विहान ७ बजेदेखि बेलुकि ७ बजेसम्म नै सेवा प्रवाह गर्दै आएको यस सहकारीले आकस्मिक फोन सेवा मार्फत समेत वित्तिय सेवा प्रवाह गर्दै आएको छ । सहकारीको बेनीमा रहने सदस्य सेवा केन्द्रको बुधवार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुहुनेछ ।