म्याग्दीका ६ वटै स्थानीय तहको समन्वयात्मक वैठकद्धारा २० बुँदै बाबियाचौर घोषणापत्र जारी

विकल्प न्यूज/बेनी
पुस २८ गते ।


म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारले पालिका, संघ र प्रदेशका निकायहरुबीच समन्वय गरि सुरक्षालाई थप ब्यवस्थित, सेवा प्रवाहलाई सहज र विकास निर्माणलाई तिब्रता दिने निर्णय भएको जानकारी दिनुभयो ।

अपाराध, मदिरा, महिला, बालबालिका, हिंसा, गुण्डागर्दी, चन्दा असुली, मानव बेचबिखन तथा ओसारपसार, बालबिवाह, लागु औषध उत्पादन, ओसारपसार र प्रयोग नियन्त्रणका लागि सचेतना अभिवृद्धीमा जोड दिदै दोषीलाई कानुनी दायरामा ल्याउने निर्णय भएको छ ।

यसैगरी रोकिएका बिकास आयोजनाको समस्या पहिचान गरि निर्माणको वातावरण बनाउन समन्वय र सहजिकरण गर्ने, कार्ययोजना बनाएर बिकास आयोजना सञ्चालन गर्ने, प्रबिधिको प्रयोग गरेर सेवा प्रबाहलाई नागरिकमैत्री बनाउने घोषणापत्रमा उल्लेख छ ।

बिपद् ब्यवस्थापन, कोरोना नियन्त्रणका लागि पुर्ब तयारीमा जोड दिने भएको छ । गत बर्खाको पहिरोले क्षति पुगेका आवासको पुननिर्माण अघि बढाउने निर्णय भएको छ । बैठकमा छ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सुरक्षा, बिकास र सेवा प्रवाहमा भएका प्रयास, उपलब्धि, समस्या र समाधानका उपायका बिषयमा बिचार ब्यक्त गर्नुभएको थियो ।

बेनी–जोमसोम, पोखरेबगर–चित्रे, गलेश्वर–पिप्ले–भगवति–बेगखोला, बेनी–दरवाङ, बेनी–रत्नेचौर, मंगलाघाट लगायत सडक आयोजनामा भएको ढिलासुस्ति, पहिरो प्रभावितको पुनस्थापना र पुननिर्माणमा भएको ढिलाईका बिषयमा बैठकमा कुरा उठेको थियो ।

प्रहरीको ग्रामिण बस्तिसम्म नियमित गस्ति र उपस्थिति बढाउन, प्रहरीलाई सवारी साधनको ब्यवस्था तथा भवन निर्माणको आवश्यकता औल्याइएको थियो । सेवा प्रवाहलाई एकरुपमा ल्याउने बिषयमा छलफल भएको थियो ।

बैठकमा जिसस प्रमुख देबेन्द्र केसीले ठूला बिकास आयोजनालाई गति दिन पालिका, प्रशासन र समन्वय समितिले दबावका साथै सहजिकरण गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले सबै पालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्न दरबन्दि स्विकृत भएर म्याग्दीको मौवाफाँटमा भवन निर्माण सुरु भएको बताउनुभयो ।