अरूणालाई अवार्ड जिताउन म्याग्दीमा अभियान

विकल्प न्यूज/बेनी
पुस १९ गते ।


नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई ‘भोट गरी जिताउँ’ अभियानमा सरोकारवाला निकायले साथ दिएका छन् । अवार्डको मनोनयनमा छनौट भएपछि गृह जिल्ला म्याग्दीमा आएकी शाहीले भलिबलमा पु¥याएको योगदानको कदर गर्न सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रबाट समेत उपाधी जिताउने अभियानले तिब्रता पाएको हो।

जिल्ला भलिबल संघ म्याग्दीले बेनीबजारमा घरदैलो अभियानसँगै आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्ने बक्ताले भलिबल खेलमा अन्तराष्ट्रिय उपाधी जिताउने म्याग्देली चेलीलाई सबैभन्दा धेरै साथ र भोट दिएर सम्मान गर्नुपर्ने बताएका थिए ।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले भलिबलमा अरुणको मेहनतको सम्मान भोट दिएर गर्नुपर्ने बताए । प्रजिअ उमाकान्त अधिकारीले राष्ट्रिय खेल भलिबलको महिला समुहको नेतृत्व गर्ने म्याग्देली चेलीलाई अवार्ड विजेता बनाउनु आम म्याग्देलीको जिम्मेबारी भएको बताए । पत्रकार सम्मेलनमा कप्तान शाहीले मनोनयनमा परे लगत्तै जिल्लाबाट धेरै सहयोग मिलेको बताईन्।

‘मेरो हरेक सफलतामा तपाईहरूको योगदान छ,‘सफलता मिल्दा अभिभावसँगै आफ्नो जन्मभूमिलाई सम्झने गरेको छु’ शाहीले भनिन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउन सफल भएकी थिईन् ।

पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ र अरुणा जिताउँ अभियानका संयोजक तेजेन्द्र बानियाँले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई भोटिङ गरी साथ दिन अनुरोध गरेका थिए ।

अरुणाको भलिबलमा प्राप्त सफलताले म्याग्दीको गरिमा समेत उच्च भएकाले दुईदिनसम्म विभिन्न माध्यमबाट जिल्लाभित्र अभियान सञ्चालन गर्ने आयोजकको तयारी छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का साथै वर्षभरको खेल प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको छनौटमा परेकी शाहीलाई अनलाइन भुक्तानी माध्यम ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिन्छ ।