ताजा समाचार:
Search

मुक्तिनाथ सहकारीको स्थापना दिवसमा एकल महिलालाई सम्मान

विकल्प न्यूज/बेनी
मंसिर २९ गते ।

   बेनी बजारमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १३ औं स्थापना तथा ११ औं हिरा स्मृति दिवसका अवसरमा एकल महिलाहरुलाई सम्मान गरेको छ ।

सोमबार सहकारीको आफ्नै भवनमा आयोजित कार्यक्रमका विच १० जना एकल महिलाहरुलाई न्यानो कपडा प्रदान गरेर सम्मान गरेको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । सहकारीका संस्थापक अध्यक्ष स्वः हिराबहादुरको स्मृतिमा कोष स्थापना गरेर स्थापना दिवसका अवसरमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

एकल महिलाहरु रिमा खत्री,सावित्री थापा,बलकुमारी जुग्जाली,शोभा जिसी,छलि विक,लालकुमारी विक,शोभा सापकोटा,धनकुमारी उपाध्याय,शान्ति भट्चन र मनकुमारी सापकोटालाई संस्थाका अध्यक्ष गौतम,सल्लाहकार शेरबहादुर केसी,कोषानन्द आचार्य र संस्थाका संस्थापक अध्यक्ष स्वः हिराबहादुर केसीको धर्मपत्नी तथा सहकारीको वरिष्ठ सदस्य देवी केसीले न्यानो कपडा प्रदान गरेर सम्मान गर्नुभएको हो ।

साथै सहकारीले बेनीकी मृगौला पीडित जामिला बेगमलाई उपचारमा सहयोग पु¥याउन उहाँको श्रीमानलाई पाँच हजार नगद प्रदान गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार केसी,एकल महिला संघकी पूर्व अध्यक्ष विमला गौचन र सहकारीको वरिष्ठ सदस्य देवी केसीले समाजमा रहेका एकल महिलाहरुलाई सवैको साथ र सहयोगले हौसला मिल्ने बताउनुभयो । एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको उहाँहरुले जोड दिनुभयो ।

सहकारीले संस्थापक अध्यक्ष केसीको स्मृतिमा स्थापना गरेको एक लाख रुपैयाँको अक्षयकोषलाई बढाएर सहकारीले दुई लाख रुपैयाँ पुराएर विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

 

सहकारीका अध्यक्ष गौतमको अध्यक्षतामा,संस्थाका उपाध्यक्ष डण्डपाणी सापकोटाको स्वागत र कोषाध्यक्ष चिरञ्जीवी बोगटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वार्गीय केसीको तस्विरमा माल्यपर्ण गरिएको थियो । कार्यक्रममा स्वः केसीले सहकारीको स्थापनामा पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो ।