ताजा समाचार:
Search

आहा! सुन्तला बगैचा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी
मंसिर १७ गते । प्रत्येक घरमा व्यवस्थित सुन्तला बगैचा । बोटमा पाकेका सुन्तलाले बगैचा नै पहेलपुर । यो हो बेनी नगरपालिका ४ बास्कुना जसलाई सुन्तला गाउँ भनेर चिनिन्छ ।

वास्कुनावासीहरुले धानखेत छाडेर सुन्तला खेती गरेका छन् । वास्कुनामा रहेका २५ घरधुरीले व्यवसायिक रुपमा सुन्तला खेती गरेका छन् । प्रत्येक घरले कम्तिमा पनि वार्षीक रुपमा ३ लाख देखि ७ लाख सम्मको सुन्तला बिक्री गर्दछन् । सवै घरधुरीले सुन्तला खेती गर्न थालेपछि बास्कुनालाई सुन्तला गाउँ भनेर नामाकरण गरिएको हो । बास्कुना, थामडाँडा र सुर्केमेला गरेर ७० घरधुरीले २० हजार सुन्तलाका विरुवा लगाएका छन् ।

यतिखेर करिब १० हजार सुन्तलाका बोटले फल दिएका छन् । उत्पादन भएका सुन्तलाको बजारीकरण र तालिम तथा मल विउको व्यवस्थापनका लागि कृषकहरुले बास्कुना कृषि सहकारी स्थापना गरेका छन् । सहकारी मार्फत सुन्तला बिक्री गर्ने गर्दछन् । सहकारीले प्रत्येक वर्ष सुन्तलाको नयाँ मूल्य निर्धारण गर्दछ । सुन्तला खरिद गर्न व्यवसायीहरु गाउँमै आउँछन् । बोटबाटै सुन्तला बिक्री हुन्छन् बास्कुना कृषि सहकारीका अध्यक्ष तिलक गुरुङले भन्नुभयो ‘यसवर्ष पनि व्यवसायीहरु सुन्तला खरिद गर्न आएका छन् ।’

गत वर्ष गाउँबाट ४० लाख रुपियाँ बराबरको सुन्तला बिक्री भएको गुरुङले बताउनुभयो । यस वर्ष भने सुन्तलाको फलमा रोग लागेकाले गत वर्ष जस्तो आम्दानी नहुँने उहाँले बताउनुभयो । यस वर्ष पनि सुन्तला बिक्रीबाट ३० लाख देखि ३५ लाख रुपियाँ गाउँमा भित्रिने अनुमान गरिएको उहाँले बताउनुभयो । सुन्तलामा औसिया किरा लागेर झर्ने समस्या छ गुरुङले भन्नुभयो ‘गत वर्षको जस्तो आम्दानी यस वर्ष नहुने भयो ।’ सहकारीले यसवर्ष ए ग्रेडको सुन्तलाको मल्य प्रतिकेजी ६५ रुपियाँ निर्धारण गरेको छ ।

गुरुङले १९ रोपनी जमिनमा ७ सय बोट लगाउनुभएको छ । ३५० बोट फल दिने छन् । यस वर्ष रोगकिरा लागेकाले गत वर्ष जस्तो आम्दानी नहुँने उहाँले बताउनुभयो । यस्तै सन्दीप खत्रीले बोटबाटै सुन्तला बिक्री गरिसक्नुभएको छ । ६ लाख ५० हजारमा सुन्तला बोटबाटै बिक्री गरेको खत्रीले बताउनुभयो । न्यूजिल्यान्डमा रहेका लालबहादुर केसीले अन्तर्राष्ट्रिय स्तरको बगँैचा व्यवस्थापन गर्नुभएको छ । यसैगरी तिलक गुरुङ,मनिषा गुरुङ,टेकबहादुर खत्री,तिलक खत्री जसबहादुर थापाले उच्चस्तरको आधुनिक प्रविधियुक्त सुन्ताला बगैँचा बनाएका छन् ।

सुन्तालाका दाना टिप्ने, गोडमेल गर्ने, औषधि उपचार गर्ने लगायतका कामहरु प्रविधिको सहयोगले गर्ने गरेका छन् । यहाँका अधिकांश घरपरिवारले अन्न बाली छाडेर व्यवसायिक रुपमा सुन्तला खेती गर्न थालेका हुन ।

जिल्लामा दुई वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुन्तला जोन कार्यक्रम सुरु भएपछि सिँचाई सुविधा,तालिम र प्रविधिमा सहयोग पुगेको कृषक गुरुङले बताउनुभयो । आधुनिक प्रविधिको प्रयोग गरेर सुन्तलाको बगैँचा व्यवस्थापन, बिरुवा रोप्ने तरिका, तालिम, स्वादिलो फलका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा यहाँका कृषकले तालिम लिएका छन् । सुन्तलाको बजारीकरण र यन्त्रीकरणमा सुन्ताल जोन कार्यक्रमले सहयोग गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख सुधिर थापाले बताउनुभयो ।