ताजा समाचार:
Search

मोना यूकेले रघुगंगाका बाढीपहिरो पीडितलाई डेढ लाख सहयोग

विकल्प न्युज/ बेनी

मंसिर ८ गते । 
म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेले डेढ लाख आर्थिक सहयोग गरेको छ।

सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई उक्त सहयोग हस्तान्तण गरिएको हो ।

यसबर्षको अविरल बर्षासँगै विभिन्न बस्तीमा बाढीपहिरोले क्षती पुर्याएको २२ घरधुरीलाई वडास्तरमै पुगेर वितरण गरिने छ ।

बाढीपहिरोबाट विस्थापित म्याग्देलीलाई आर्थिक सहयोग गर्ने संस्थागत निर्णय अनुसार क्षतीको विवरण, वडा, पालिकाको सिफारिसका आधारमा मोनामार्फत सहयोग पठाइएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले पीडितको हातमै सहयोग हस्तान्तरण गर्ने गरी उक्त राहत उपलब्ध गराउने बताए ।

सोही अवसरमा प्रजिअ अधिकारीले प्रवासी म्याग्देलीको सहयोगले जिल्लाका हरेक गतिविधिमा धेरै सहज भएको बताएका थिए ।

मोना यूके रघुगंगा गाउँपालिका सचिव रामबहादुर पुनले पीडितको हातमा सहयोग उपलब्ध गराउन गरेको अनुरोध अनुसार नै सहयोग हस्तान्तरण गर्न वडा सचिवमार्फत जनप्रतिनिधिको उपस्थितीमै हस्तान्तरणको कार्यतालिका बनाइएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार हरिकृष्ण गौतमले गरेका थिए ।

म्याग्दीको मंगला, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा समेत सहयोग हस्तान्तरण गरिने मोना यूकेका कोषाध्यक्ष पदम गर्बुजाले जानकारी दिए ।