म्याग्दीका युवा हाँस्यकलाकार कार्कीको सफलता चुलीँदो

सन्तोष गौतम/विकल्प न्यूज,
फागुन ३० गते ।
म्याग्दीका हाँस्य कलाकार रवि कार्कीको व्यस्तता बढेको छ । बिदेशबाट फर्कीएर कमेडी नृत्य र हाँस्य प्रस्तुतीमा लागेका कार्कीलाई विभिन्न मेला महोत्सवमा आफ्नो प्रतिभा देखाउन भ्याई नभ्याई भएको हो ।

रोजगारीका लागि मलेशियामा गएको एक वर्ष नपुग्दै बिरामी भएर निराश हुदै घर फर्कीएका कार्की उपचारसंगै २०७२ बैशाखदेखि हाँस्यव्यङग्य प्रस्तुतीको क्षेत्रमा होमीएका थिए । सानैदेखि हाँस्य अभिनय, गायन र नृत्य प्रस्तुतीमा रुची राख्दै आएका २४ वर्षिय कार्कीले आफ्नो कला देखाएरै उपचार गर्दा लागेको ऋण तिरीरहेका छन् ।

Rabi Karki (1)

कार्कीले मेला र महोत्सवमा कमेडी नृत्य तथा अभिनय प्रस्तुत गर्छन् । मौलीक भेषभुषामा गरिने अभिनय र प्रस्तुतीका कारण उनी आयोजक र दर्शकको रोजाईमा परेका हुन् । नयाँ वर्षको अवसरमा बैशाख १ गते राखु कलेजबाङको न्यु लालीगुराँस युवा कल्वले आयोजना गरेको मेलाबाट कला क्षेत्रको यात्रा सुरु गरेका कार्कीले अहिलेसम्म ८६ वटा कार्यक्रममा सहभागिता जनाएको जानकारी दिए ।

म्याग्दी, पर्वत र बागलुङका मेलाहरुमा प्रस्तुतीका लागि कार्कीलाई निम्तो आउने गरेको छ । तिजको समयमा एकै महिनामा १७ वटा सम्म कार्यक्रममा सहभागि भएको कार्कीले बताए । पत्थरीको अप्रेशन गर्दा लागेको ऋण आफ्नो कला बेचेर भएको आम्दानीले तिरीरहेको कार्की बताउँछन् । एउटा कार्यक्रममा जाँदा आठ देखि १० हजार सम्म आम्दानी हुने कार्कीले बताए ।
हिम सम्झौता म्युजीक प्राली मार्फत आफ्नै लय र स्वरमा रहेको गिती एल्बम बादल भित्र लुक्ने जुन हुँ म बोलको गित समेत बजारमा ल्याएका कार्की लोकदोहोरी गायनमा पनि पोख्त छन् । कुश्माको कालीगण्डकी टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिसिरीयल भाडभैलोमा डाङग्रे जड्या र जोगीको भुमिकामा अभिनय गर्दै आएका छन् ।Rabi Karki (2)

कार्कीलाई म्याग्देली कलाकार धु्रब जिसी र निशा केसीको पञ्चेबाजाको गिती एल्बम सहनाई रोलाकीमा शंकर बिसी र पार्वती राईसंग हाँस्य कलाकारको रुपमा अभिनय गरेको देख्न सकिन्छ । यसैगरी नहकुल ढकालको रोईला गित रुदै मेला पातमाको भिडीयोमा भरत रकाल र शुष्मा अधिकारीसँग पनि कार्कीले अभिनय गरेका छन् ।

मलेसीयामा रहेका नेपाली सम्बद्ध संस्थाहरुले आयोजना गर्ने सांस्कृतीक कार्यक्रममा प्रस्तुती गर्दा पाएको दर्शकको साथले नेपाल फर्कीएर यस क्षेत्रमा सक्रिय हुन प्रेरणा मिलेको कार्कीले बताएका छन् । बेनीको म्याग्दी काली एफ एमबाट प्रशारण हुने काउसो कार्यक्रमबाट उनले हाँस्य अभिनय थालेका थिए ।

उनि अहिले पनि उक्त एफ एममा पुराना लोक दोहोरी गित र पुराना व्यक्तित्वहरुसंगको कुराकानी समेटीने कार्यक्रमहरु चलाउँछन् । हाँस्यबग्यङ्ग्य क्षेत्रलाई प्राथमिकता र लोकदोहोरीलाई वैकल्पीक रुपमा अघि बढाउने योजना बनाएका कार्की केही आयोजकले कार्यक्रममा बोलाएर यातायात खर्च र पारिश्रमीक पनि नदिएर पठाएकोमा भने दुखि छन् । नवविकल्प साप्ताहिकको २५ औ संस्करणमा प्रकाशित