हिमालको फेदीमा लोभलाग्दो भेडापालन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
कात्तिक२४गते।          चिसो बढेसँगै धौलागिरी,निलगिरि र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लीदै छ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदै छन् । भेडाहरु तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् ।

हिमाली चरनक्षेत्रमा पाइने जटीबुटी खाएर भेडा बेँसी तिर घाम ताप्न झर्ने गर्दछन् । चैतवैशाख तिर उकालो लागेका भेठीगोठ अचेत तल बेंसीहरु झर्न थालेका हुन ।

म्याग्दीको खोप्रालेक लगायतका लेकाली क्षेत्रहरुमा करिब दुईदर्जन भेडापालक किसानहरुले ७ हजार भन्दा बढी भेडाहरु पालेका छन् । भेडापालनबाट किसानले लोभलाग्दो आम्दानी गरेका छन् । वार्षीक रुपमा १० देखि ३० लाख रुपियाँ सम्म आम्दानी हुने किसानहरु बताउँछन् ।

धौलागिरि गाउँपालिका ५ मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्यालले यतिखेर धौलागिरी आधार शिविर नजिकैबाट भेडा गाउँको शिर पुतली डाँडा नजिक ल्याउनुभएको छ । बैशाख महिनामा उकालो लागेको भेठीगोठ हिमालको नजिक बुकी क्षेत्र सम्म पु¥याएर तल झार्दै हुनुहुन्छ । उहाँका करिब पाँचसय भेडा छन् ।

२२ वर्ष मलेशियामा रोजगारीको क्रममा समय विताउनुभएका ४५ वर्षीय छन्त्याल तिनवर्ष अघि गाउँफर्किएर पचासलाख लगानीमा भेडापाल्न थाल्नुभएको हो । लगानी बढाएर भेडाको संख्या बढाउने सोचमा छन्त्यालले हुनुहुन्छ ।

छन्त्यालले वर्षमा ३० लाख भन्दा बढीका भेडा विक्री गर्नुहुन्छ । यसवर्षको दशैंमा मात्रै १७ लाखका भेडा बिक्री गरेको उहाँले बताउनुभयो । बाउबाजेको पुर्खौली पेशालाई निरन्तरता दिन छन्त्याल मलेशियाको रोजगारी छाडेर गाउँ फर्किनुभएको हो । छन्त्याल सहित मल्कबाङका ३ जनाले व्यवसायिक रुपमा भेडापालन गरेका छन् ।

यस्तै अन्नपूर्ण गाउँपालिका ५ खोप्रामा १० वटा भेडीगोठहरु छन् । शिख,घारा र पाउद्धारका भेडापालन कृषकहरुले खोप्रा र खयरलेक चरन क्षेत्रको रुपमा प्रयोग गर्दछन् । खोप्रालेक पर्यटकीय स्थल पनि हो । यहाँ मात्रै करिब ३ हजार भन्दा वढी भेडाहरु छन् । यहाँ पुग्ने पर्यटकहरु भेडीगोठ हेर्न र अनुभव लिन एकरात भेडीगोठमै बास बस्ने गर्दछन् ।

भेडा खरिद गर्न व्यपारीहरु भेडीगोठमै पुग्छन् । उत्पादन भएका भेडा विक्रीका लागि कुनै समस्या छैन भेडापालक किसान छन्त्यालले भन्नुभयो, ‘चरन क्षेत्रमै आएर प्रति भेडा १५ देखि २५ हजार रुपियाँ सम्ममा खरिद गरेर लैजाने गर्दछन् ।’

 

साभार गोरखापत्रअनलाइन