यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने

DSC03418

प्रताप बानियाँ \विकल्प
म्याग्दी, कार्तिक २२ । मध्यपहाडी जिल्ला म्याग्दीमा यसवर्ष धान उत्पादनमा कमी आउने भएको छ । खडेरीका कारण समयमै धान रोपाइँ गर्न नपाउनु, पर्याप्त सिँचाइको व्यवस्था नहुनु र धान काट्ने बेला परेको असिनापानीले गर्दा गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन घट्ने देखिएको हो ।
जिल्लाको कुल खेतीयोग्य जमिन ३ हजार ८९५ हेक्टरमध्ये ३ हजार ७७८ हेक्टरमा मात्रै धानखेती लगाइएका कारण पनि धान उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार धान पाक्ने बेला भएको वर्षा, हावाहुरी र बतासले धान ढलाउनुका साथै पाकेको धान भिœयाउने बेला असिनापानी परेका कारण पनि धान उत्पादन घट्ने भएको छ ।
कृषि विकास कार्यालयका योजना अधिकृत ज्योती क्षत्रीका अनुसार यसवर्ष २.६६ प्रतिशतका दरले धान उत्पादन घट्ने अनुमान गरिएको छ । धान उत्पादनको कुल क्षेत्रफलको ३.०९ प्रतिशत क्षेत्रफल घटेको छ भने उत्पादकत्व गत वर्षको ३.२ प्रतिशतमा सीमित रहने उहाँले बताउनुभयो । गतवर्ष १२ हजार ४६४ मेट्रिक टन धान उत्पादन भएको उहाँको भनाई छ ।
हरेक वर्ष असार साउनको वर्षायाममा रोपिने धान भिœयाउन किसानहरुलाई चाडपर्वको रौनकसँगै चटारो पर्दछ । नेपालीहरुको महान् पर्व बडादशैंको अघि र पछिको समयमा धान भिœयाउने चटारोमा किसानहरु लागेका थिए । तर गएको असोज महिनाको अन्तिम साता र कार्तिक ४ गते परेको असिनापानीले धान झारेको थियो । यसैगरी कार्तिकको १०, ११ र १२ गते परेको लगातारको वर्षाले किसानहरुले काटेको धान खेतमै भिजाएको थियो भने धान भिœयाउने तयारी गरेका किसानको धान समेत पानीले झारेपछि उत्पादन घट्ने हुनाले उनीहरु चिन्तित बनेका छन् ।
म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायतका गाविसहरुमा धानखेती हुँदै आएको छ । हिमाली गाविस गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुन नसकेको योजना अधिकृत क्षत्रीले जानकारी दिनुभएको छ । म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका धानहरु रोपिन्छ ।
कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्न नसक्दा पर्याप्त धानखेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिएपनि परम्परागत खेतीप्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि विकास कार्यालयको भनाइ रहेको छ ।