भारतमा कोरोनाबाट ३८२ डाक्टरको मृत्यु

असोज १, २०७७ काठमाडौं

भारतमा कोरोना भाइरस संक्रमणबाट ३ सय ८२ जना डाक्टरको मृत्यु भएको छ।  इन्डियन मेडिकल एसोसियसनले जारी गरेको विज्ञप्तिअनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मीले पनि कोरोना महामारीमा ज्यान गुमाएका छन्।

संघले कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित डाक्टरहरु भएको र सरकारले यसमा कत्ति पनि ध्यान नदिएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ।  सरकारले कोरोना भाइरसका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको तथ्यांक समेत नराखेको भन्दै मेडिकल एसोसियसनले महामारीको कानून तथा महाव्याधि व्यवस्थापन कानून लागू गर्ने नैतिक अधिकार सरकारसँग नरहेको टिप्पणीसमेत गरेको छ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्रीले संसद बैठकमा कोरोनाबाट प्रभावित हुने स्वास्थ्यकर्मीको तथ्यांक सरकारसँग नभएको बताएपछि त्यहाँको मेडिकल एसोसियसनले आपत्ति जनाएको हो। एसोसियसनले कोरोना महामारीमा नागरिकको उपचारका संलग्न हुँदाहुँदै ज्यान गुमाएका डाक्टरहरुको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, कोरोना रोकथाम र नियन्त्रणका लागि योजना बनाउँदा डाक्टरहरूसँग पर्याप्त छलफल गर्नुपर्ने लगायतका माग राखेका छन्।