ताजा समाचार:
Search

उत्कृष्ट राष्ट्रपति पुरस्कारद्वारा ३ जना कृषकहरु पुरस्कृत

DSC03648
प्रताप बानियाँ \विकल्प
म्याग्दी, कार्तिक २२ । उत्कृष्ट राष्ट्रपति पुरस्कार जिल्लास्तरबाट म्याग्दीका ३ जना कृषकहरु पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबार ३५ औं खाद्य दिवसको अवसरमा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।
व्यावसायिक बाख्रापालनतर्फ म्याग्दीको भकिम्ली ६ का धनबहादुर श्रीष, व्यावसायिक तरकारी खेतीतर्फ घार ५ का रामचन्द्र बरुवाल र बेनी नगरपालिका १ रत्नेचौरका रुद्रबहादुर थापालाई पुरस्कृत गरिएको छ । उनीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल र वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले अबिर लगाई नगद १०÷१० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेका थिए ।
यसैगरी सोही कार्यक्रममा खाद्य दिवसको अवसरमा ‘कृषि र सामाजिक सुरक्षा, गरिबी घटाउने प्रतिबद्धता’ भन्ने मूल नारामा आधारित रहेर आयोजना गरिएको अन्तरमावि जिल्लास्तरीय निबन्धलेखन प्रतियोगिताको पुरस्कार समेत वितरण गरिएको थियो ।
विभिन्न ६ ओटा विद्यालय सहभागी निबन्धलेखन प्रतियोगितामा प्रकाश उच्च माविका गोकर्ण विक प्रथम, बेनी बोर्डिङका रामचन्द्र गौतम द्वितीय, बेनी सामुदायिक उच्च माविका सदिश शर्मा तृतीय र जामुनाखर्क उच्च मावि अर्थुङ्गेका प्रकृति ढुङ्गाना सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः नगद २ हजार, १५ सय, १२ सय र ८०० रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
सम्मान ग्रहणपछि बोल्दै कृषक धनबहादुर श्रीषले आफू लामो समय विदेशमा बसेपनि राम्रो कमाई नभएपछि स्वदेश फर्किएर गाउँमै बाख्रापालन व्यवसाय शुरु गरेको बताए । उनले कृषि क्षेत्रबाटै देशको आर्थिक विकास सम्भव भएको भन्दै कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने माग गरेका छन् । DSC03664
कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कृषि क्षेत्रको व्यावसायिकरण र कृषिमा आधुनिकीकरण गरी व्यावसायिक कृषकहरु उत्पादन गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रको विकास तथा विस्तार नभएसम्म गरिबी निवारण हुन नसक्ने भन्दै सरकारी एवं गैरसरकारी संघसंस्थाले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले कृषिको प्रचारप्रसार गरी व्यवसायिक बनाउन सकेमा सबै नेपाली आत्मनिर्भर बन्न सक्ने बताएका थिए । वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालको स्वागत र योजना अधिकृत ज्योती क्षत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गोकर्ण विकले आफ्नो निबन्ध वाचन गरेका थिए ।