कांग्रेसमा बीपीको खोजी

 शान्ति बस्नेत /विकल्प न्यूज
भदौं २४ गते । 

नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको राजनीतिक, सामाजिक, आर्थिक र साहित्यिक क्षेत्रका ज्ञाता बीपी कोइरालाको आज जन्मजयन्ति हो । बीपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । नेपाली आधुनिकताका अग्रणी बीपीले जीवनमा धेरै संघर्ष गर्नु परेको साक्षी इतिहास छ ।

नेपाली राजनीति र साहित्य दुवैमा उत्तिकै प्रखर बीपीले १०४ वर्षे राणा साशन ढाल्न र प्रजातन्त्र थापना गर्न ठूलो संघर्ष गर्नु परेको थियो । उनले पटकपटक गरी करिब १२ वर्ष त कारागारमै बिताएका थिए ।

बीपीको पारिवारिक वातावरण पनि राजनीतिक थियो । उनका पिता कृष्णप्रसाद कोइराला पनि राणा शासनविरुद्ध लागेका थिए । त्यसो हुँदा बीपीलाई सहज भएको थियो । उनले भारतको स्वतन्त्रताको लागि समेत संघर्ष गरेका थिए ।

बीपी कोइरालालाई अन्तर्राष्ट्रियस्तरमा पनि उच्च सम्मान दिइन्छ । उनी एक प्रगतिवादी नेता थिए । हरेक जनताको सामाजिक स्थिति, आर्थिक

स्थितिलाई प्रगतितर्फ लैजान जीवनभर लागि परिरहे । 

बीपीले पहिलो जननिर्वाचित सरकारको २०१५ सालमा नेतृत्व गरे । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री थिए । तर, २०१७ साल पुस १ गते उनी नेतृत्वको सरकार र लोकतान्त्रिक व्यवस्था राजा महेन्द्रले बन्दुकका बलले समाप्त पारेका थिए ।

लोकतान्त्रिक पदप्रदर्शक बीपी कोइराला त्यसपछि नेपाली जनताको स्वतन्त्रताको निम्ति सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा लागिरहे । बीपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट नेपाल फर्किएका थिए । उनी सधैँ सत्य र स्वतन्त्रताका पक्षमा रहे । लोकतन्त्रका मूल्यमा कहिल्यै सम्झौता नगर्ने स्वाभावका राजनेता थिए । आज पनि उनी जस्ता युगपुरुष नेताको आवश्यकता खड्किएको छ ।

बीपीले कल्पना गरेजस्तो गरिबको पेटमा खाना पुग्ने, उपचार नपाएकाले उपचार पाउने, आँेठमा हाँसो नभएकाहरुको ओँठमा हाँसो खेल्ने अवस्था ल्याउन नेपाली कांग्रेसको भूमिका भने देखिएको छैन । आफँमौ अलमलिएको गुटगत राजनीतिमा केन्द्रित कांग्रेसले जनताको इच्छा आकांक्षा पूरा गर्न सक्ला त ? कांग्रेसको संस्कार खै ? यस्तै रहने हो भने इतिहासले धिक्कारदैन ?

अहिले त कोही कांग्रेस बन्छु भन्दा पनि बन्ने वातावरण छैन । सबै अटाउने कांग्रेसको नारा सार्थक बनाउनुपर्छ । अहिलेको नेतृत्वले न कांग्रेसलाई जोगाउन अर्थात् पुरानो इतिहास बचाउन नै सकेको छ न नयाँ इतिहास रच्न सकेको छ  । अबका पुस्ताले कांग्रेसलाई कसरी चिन्ने त ?

जनभावनाअनुरूप पार्टीको कार्य गर्न सकियो भनेमात्रै कांग्रेसको अस्तित्व रहनेछ । अहिलेका नेतालाई जनतालाई के भनेर चिन्ने त भन्ने पनि प्रश्न छ ? बीपीलाई अहिलेसम्म मान्छेले खोज्नुको अर्थ कांग्रेसका नेताहरुले बुझ्नु पर्ने हो । जनताको नेता बनेमात्रै सम्झना लायक बनिने रहेछ । नत्र भविष्यको त कुरै छाडौँ वर्तमानले नै धिक्कार्नेछ ।

अव आउने १४ औं महाधिवेशनमा नेपाली कांग्रेसका नेताले बीपीबाट प्रेरणा लिऊन् । जननायक बीपी कोइरालाको १०७ औं जन्मजयन्तिको अवसरमा हार्दिक श्रद्धासुमन !