सिङ्गाको ऐतिहासिक नाम के थियाे ?

चन्द्रप्रकाश बानियाँ / विकल्प न्युज

साउन ३२ गते ।

बेनी नगरपालिका अन्तर्गत वडा नं. ४ मा पर्ने एउटा सुन्दर बस्तीको नाम हो– सिङ्गा । सिङ्गा भन्ने नाम एउटा कालखण्डमा अलि बृहद अर्थमा पनि प्रयोग भयो ।

पर्याप्त खेतियोग्य जमिन रहेको ठाउँ सिङ्गाको नामबाट पञ्चायतको अन्तकालतिर ‘सिङ्गा गाउँ पञ्चायत’को न्वारन भयोे ।
छयालीस साले राजनीतिक परिवर्तनपछि स्वभावतः त्यसैको नाम ‘सिङ्गा गाउँ विकास समिति’ बन्यो ।

पछिल्लो गणतान्त्रिक परिवर्तनले सिङ्गै गाविसलाई नगरपालिकाको एउटा वडामा सीमित गरिदिएपछि सिङ्गा पुनः एक पटक एउटा स्थान विशेषको नाममा संकुचित हुन पुग्यो ।

रमाइलो संयोग कस्तो रह्यो भने पुलाचौर गाउँ पञ्चायतबाट अलग हुनुपूर्व राणाकालीन ‘पुला ग्राम पञ्चायत’मा होस् वा ‘पुला थुम’ अन्तर्गत हुँदा होस् सिङ्गाको हैसियत यस्तै थियो । पुलाचौर गाउँ विकास समिति अन्तर्गत रहँदा पनि सिङ्गा सग्लो वडा थिएन ।

अर्थात सिङ्गा भन्नाले म्याग्दी नदीको किनारमा अवस्थित एउटा स–सानो बस्ती र मनग्य खेतियोग्य जमिन रहेको ठाउँ भनेर चिनिन्थ्यो ।

त्यो पुरानो परिचय पुनः दोहोरिएको छ । पुला ग्राम पञ्चायतको बेला होस्, वा पुला थुम भनेर चिनिँदा होस्. यतिखेरको बेनी नगरपालिका मध्येको दुई तीहाई क्षेत्रफत्र ओगटेको थियो र त्यही विशाल क्षेत्रफलभित्र सिङ्गा पनि पर्दथ्यो ।

कुनाको तालदेखि सज्यार्नीको वनको पुछारसम्म सुलुत्त परेर सुतेको तीनकुने जमिन सिङ्गा भन्ने नामले चिनिन्छ ।

त्यस ठाउँको नाम कसले, कहिले, किन सिङ्गा राखिदियो भन्ने कुराको जानकारी सबैमा नहुन सक्छ । स्वयम सिङ्गाका बासिन्दाहरूमा त्यस्तो जानकारी नहुनु आश्चर्य मान्नुपर्ने विषय होइन ।

समय सन्दर्भले नामहरू गढिन्छन्, प्रयोगमा रहन्छन्, समयको आवश्यकताले फेरिन्छन् र पुराना नाम विस्मृतिको गर्भमा विलीन हुन्छन् ।

तातो पानीको श्रोत भएको ठाउँको नाम ‘तात्पानी‘ रह्यो, साज नामको वनस्पतिको बाहुल्यता रहेको वनको नाम ‘सज्यार्नी’ भनियो ।
गोठ राख्ने डिँहीलाई ‘गोठाल्डीँ’ भनियो । काठको साँगु राख्ने ठाउँ ‘कोटसाँगु’ भयो ।

पुलस्त्य–पुलह ऋषिद्वयको तपोभूमी भएकोले ‘पुला’ नाम रहन गयो । सिङ्गा भन्ने नाम रहनुको पनि कुनै सार्थक कारण अवश्य हुनुपर्छ र त्यो के होला भन्ने प्रश्न जिज्ञासुहरुका मन मनमा रहनु स्वाभाविक हो हो, सिंगा एउटा ऐतिहासिक स्थान हो भन्दा फरक पर्दैन । ठाउँको ऐतिहासिक महत्व भएपछि त्यसको नामकरण पनि ऐतिहासिक हुने नै भो ।

कुनै पनि ठाउँको नामसँग जातीय र भाषिक इतिहास जोडिएको छ । सिंगाले आफ्नो इतिहास आफै भन्छ । सिंगाा भन्ने नामको एउटा ऐतिहासिक इतिहास छ ।

फरक कति मात्रै हो भने इतिहासँग जोडिएको पुरानो नाम हरायो अथवा सुन्दै बोल्दै जाँदा मासियोे । अप्रभंश हुन गयो । पुरानो स्वरुप हरायो । नयाँ स्वरुपमा प्रकट भयो ।

नयाँ नाम व्यवहारमा प्रयोग हुन थाल्यो । नयाँ नामले पुरानोलाई विस्थापित गरिदियो ।

ऐतिहासिक नाम के थियो भनेर इतिहासको गर्भमा दफन्निएको त्यो तथ्य खोतल्दा निस्कने परिणाम सबैका लागि रुचिको विषय अवश्य बन्ने छ ।

दर्बाङ्बाट सिधा पूर्वदक्षिणतिर हानिएको म्याग्दी नदीको धार राक्सेको पहरामा ठोकिएपछि अलिकता दक्षिण मोडिएर पुनः पूर्वतर्फ लाग्दछ ।

वास्तवमा सिङ्गाको निर्माता त्यही कुनातालको पहरो हो । पथरिलो चट्टानले नदीको बेग रोकिदिनाले दक्षिणतिर लाग्न वाध्य बन्यो ।

नदीले बाटो बदल्ने सन्दर्भमा सिङ्गाको बगरको निर्माण भयो । उत्तर पश्चिमको कुना’तालदेखि पूर्वदक्षिणमा पर्ने सज्यार्नी वनको पुछारसम्मको उक्त बगर चौबीसी राज्य पर्बतको मल्ल राज्यकालमा आवाद भएको हो ।

आवाद हुनुपूर्व म्याग्दी नदीले बनाएको बयरनी बगर थियो । म्याग्दीले बगर बनायो ।

सदियौंको बर्खे बाढीले त्यसमा मलिलो पाँगो माटो भरिदियो । डाँडाखेत र सिस्नेरालाई बीचबाट चिरेर पानीपँधेरादेखि सिङ्गासम्मको राजकुलो निर्माण गरियो र राज्यकै तर्फबाट खेत बिराइयो, खेति गर्न थालियोे हो भनिन्छ ।

यतिखेरसम्म पनि सिमखेत र बाँझगराको बीचबाट झर्ने पानीको श्रोत (कुलेसो) लाई ‘राजकुलो’ (राजिकुलो) भन्ने परम्पराले त्यो ऐतिहासिक कथ्यलाई पुष्टि गरिदिन्छ ।

नदीले बगर बनायो । कुलो काटेर खेत बिराइयो । खेतको न्वारान गरियो । तर त्यो नाम अहिले प्रचलनमा रहेको सिङ्गा थिएन ।

नाम त अर्कै थियो र अर्थपूर्ण थियो । भन्दै बोल्दै जाँदा विकृत भयो । सायद सबभन्दा पहिले खेतको नाप नक्सा हुँदा खेतको मोठ लगतमा ‘सिंगा’ लेखियो होला । टिपोटकर्ता स्थानीय थिएनन् ।

लेख्दा कलम घुम्यो अथवा सुन्दा गल्ति भयो र नयाँ नाम सिंगा टिपियो । बानियाँहरुको विर्ता हरणको कागजमा ‘सिंषेत’ भनिएको छ ।

सम्भवतः ‘सि‘ मा लागेको शिरविन्दु नाके स्वरका लागि मात्रै थियो । त्यो शिरविन्दु ‘ङ’ भन्ने अर्थमा लेखिएको थिएन । त्यो ‘न’ को सट्टामा प्रयोग भएको पनि थिएन ।

न त त्यो शिरविन्दु ‘म’ को प्रतिस्थापनाका लागि प्रयोग भएको थियो । किनकि उक्त खेतको नाम न सिङखेत थियो, न सिनखेत थियो न सिमखेत थियो ।

त्यसको नाम ‘सिञा’ थियो । बोलचालमा ‘स्याँ’ पनि भनिन्थ्यो । नापनक्सा गर्नेहरुले त्यही सिञा वा स्याँ भन्ने शब्दको सट्टामा “सि” मा शिरविन्दु जडिदिएको हो ।

‘सिञा’ डोटेली खस भाषाको शब्द हो । त्यसको अर्थ ‘सुत्नु वा सुतेको’ भन्ने लाग्दछ । म्याग्दी नदीको किनारमा लमतन्न परेर सुतेको बगरलाई डोटीतिरबाट बसाई सरी आएका खसहरूले सिञा भन्ने नाम दिए । सिञाको भूतकाल ‘सिन्या‘ पनि हुन्छ । अर्थात सिञालाई सिन्या पनि भन्न मिल्छ ।

भन्दै सुन्दै जाँदा त्यही सिञा, स्याँ वा सिन्या कालान्तरमा सिङ्गा बन्न गयो । सिंजा–डोटीतिरबाट पूर्वतिर संक्रमित हुने सिलसिलमा पुलामा आइपुगेका खसहरूले पहाडको टुप्पातिर अर्थात ढोलठाना, गाजने र पुलाडाँडामा पहिले बस्ती बसाले । आवादी बढदै जाँदा विस्तारै विस्तारै औलतिर खुट्टा पसार्दै गए ।

प्रकृतितः पुलाको माथिल्लो पाटो भिरालो छ । माथितिर हेरी सिंगाको प्रकृति आरामसँग सुते जस्तो देखिन्छ । त्यसैले सुतेको बगर भन्ने अर्थमा खसहरूले त्यसलाई ‘सिञा’ को बगर भने । खेत बिराएपछि स्याँ खेत भने । पूरानो गाउँ ‘पूर्न गाउँ’ भयो । पूरानो डिँही ‘पुरुन्डी’, र डाँडाखेत ‘डाँण्खेत’ भएजस्तै सिञा ‘स्याँ’ भएको हो र अहिले पनि बोलीचालीमा स्याँ नै भनिन्छ ।

पहुल पानी नभएको मात्र होइन, सिँचाईको लागि पानीको न्यूनतम आवश्यकताको अभाव रहेको नेपाने खेतको परिचय थियो सिङ्गाको ! २÷४ मिटर तल म्याग्दी बग्थ्यो, सिङ्गाको खेत पानी नपाएर बाँझै पनि बस्थ्यो ।

विज्ञान प्रविधिमा पिछडिएको समाजका लागि सिङ्गाको मलिलो माटो आकासे खेती गरिने ठाउँको रुपमा उपेक्षित थियो ।

पानी विनाको टारको रुपमा परिचय बनाएको भए पनि सिङ्गासँग जोडिएको एउटा रमाइलो उखान छ –‘बानियाँको भर नपर्नु, सिङ्गाको खेती गर्न नछोड्नु’ ! छेलोखेलो पानी नभएको ठाउँ, माटो असल भएको हुनाले विउ घुसार्न मात्र पाए पनि अन्नबाली राम्रो लाग्ने हुनाले खडेरी परेर ढिलो भए पनि खेती गर्नु भन्ने अर्थमा खेती गर्न नछोड्नु भनिनु स्वाभाविक हो ।

सिङ्गाको खेतीसँग बानियाँको ‘भर नपर्ने’ कुरा कसरी गासिन गयो होला त ? विषय प्रसंग चाखलाग्दो छ ! डिम्ववमले पर्बत राज्य डोलाउनु पूर्व नै बानियाँहरु पुलामा आइपुगेका थिए ।

दह, ध्वाँखोला, माछखेत, मूल, आम्बोट, सिमखेत, मार्सीखेत, देउरालीसेरा, गैरीसेरा, सिमखेत, कोटसाँगु, गोठालाडिहीँ जस्ता पुलामा रहेका खेतका उब्जाउ फाँटहरु सायद त्यो जमानामा बानिँहरुकै स्वामित्वमा थिए होलान् ।

राजाले ढोलठानालाई राजधानी बनाएर बस््न थाले पनि खाद्यान्नका निमित्त बानियाँहरुकै भरपर्नु पर्ने हुन्थ्यो होला । सिञाको बाँझो बगर बिराएर खेत बनाए पनि साउन नबितेसम्म पानीपँधेराको पानी सिंङ्गासम्म पुग्दैनथ्यो होला ।

साउन बिताएर रोपेको धान राम्रो नफल्ने भए पनि राजदरबारले आफ्नो कामदार, कमरा कमारीहरुलाई ‘खाद्यान्नका लागि कति बानियाँहरुको आशा गर्ने, पानी परे पनि नपरे पनि ढिलो भए पनि चाँडो भए पनि सिङ्गाको खेती गर्न नछोड्नु’ भनेर उर्दी गरे होलान् । त्यही राजाको उर्दी कालान्तरमा लोकोक्ति बन्न गयो होला ।

सिङ्गाको अर्को ऐतिहासिक पाटो पनि छ । चौबीसी राज्य पर्बत र बानियाँसँग सिङ्गाको गहिरो सम्बन्ध रहेको थियो भन्ने कुराको ऐतिहासक तथ्य फेला पर्छ । चौबीसी राज्यहरुले संगठित भएर गोर्खाको विजय अभियानलाई लामो समयसम्म रोकेका थिए ।

चौबीसी राज्यहरुको संयुक्त फौज गठन गरेर पर्वतका तत्कालीन राजा किर्तिवमले त्यसको नेतृत्व लिएका थिए । बहादुर शाहको नायवी कालमा गोर्खाको कूटनीतिले चौबीसी एकता तोड्न सफल भयो ।

चौबीसीमध्येको एउटा बलियो सदस्यलाई आफ्नो पक्षमा पार्न उनले पाल्पासँग वैवाहिक सम्बन्ध जोडे । गोर्खासँग पाल्पाको सम्बन्ध जोडिएपछि चौबीसी एकता खण्डित भयो ।

पाल्पाको सहयोगमा लमजुङ, तनहुँ, कास्की र गलकोट गोर्खाले कब्जा ग¥यो । गोर्खा समक्ष गलकोटले आत्मसमर्पण गरिदिएपछि पर्बत एक्लै प¥यो ।

त्यस्तो परिस्थितिको पूर्वानुमान गरेका राजा कीर्तिवमले कुनै कारणवश पर्बत दरबारसँग रुष्ट रहेका बानियाँहरुसँग वि.सं. १८३६ मा एउटा सम्झौता गरेर नितान्त एक्लो परेको पर्वतको शक्तिको भरमा गोर्खासँग भिडिने तारतम्य मिलाए । शाके सम्वत १७०१ भदौ १६ गते अन्तिम मल्लराजा कीर्तिवम मल्ल र बानियाँहरुबीच भएको सम्झौतामा निम्न व्यहोरा परेको छः

“………..पाचा खेतका रुपैया नतिरी दलन गर्नु…………..बानियाँ पनि सेवामा रुजु रहनु…व्यहोर पनि ९(नवौं राजा) सित गर्नु…..९(राजा)ले पनि व्यहोर राख्नु……….यो पैडो बानियाँकन बक्सनु भयो……..।”

यसरी सिङ्गाको खेत बानियाँले विर्ता पाए । जागिर पाए । त्यस वापत गोर्खा विरुद्धको युद्धमा राज्यलाई सघाउन रुद्र र रामदत्त बानियाँहरु सहमत भए तर उक्त विर्ता उति धेरै लामो समयसम्म बानियाँहरुले उपभोग गर्न पाएनन् । वि.सं. १८४३ को असोज महिनामा गोर्खाले पर्बतलाई पनि निल्यो ।

अर्थात चौबीसीमध्येको आखिरी राज्यमा कब्जा जमायो । पर्बतको राजपरिवार भागेर भारतको बलिरामपुरमा शरण खोज्न पुग्यो । युद्धमा भएको पराजयसँगै बानियाँहरुको विर्ता पनि खोसियो । विर्ता हरणको लिखतमा यस्तो व्यहोरा परेको छ ः

“स्वस्ती श्री मञ्जिव साह, श्री जगजीत पाँडे्, श्री दामोदर पाँडे., श्री शिवनारायण षत्री, श्री पारथ भण्डारी, श्री अम्वरसिं राना, श्री प्रबल रानाकस्य लिषा पत्रम् आगे षरिदार लक्ष्मीपति पाँडेके, रुद्र बानियाँको विर्ता सिंबाझो मुरी १६०…… समेत काठमाडौमा घरषेत नपुग्याको सदर ञाहा दियुँ, घरषेत जानी भोग्य गर, इति संवत १८४३ कार्तिक वदी रोज ६ मुकाम ढोलठाना शुभम् ।”

सात बर्ष अगाडि प्रमाणका लागि ताम्रपत्र समेत गरेर पर्बत राज्यले विर्ता दिएको सिञा खेतको त्यो बर्ष लागेको धानबाली समेत रुद्र र रामदत्त बानियाँहरुले उठाउन पाएनन् । बालि समेत विर्ता हरण गरियो ।

गोर्खाले बानियाँको विर्ता खोस्नुको कारण के थियो भन्ने कुराको कथा लामो छ । अर्को कुनै सन्दर्भमा त्यो ऐतिहासिक वृतान्त पनि इष्टमित्र आफन्तको जानकारीका लागि अवश्य प्रस्तुत हुनेछ ।