ताजा समाचार:
Search

म्याग्दीमा पहिरो ः राहत,पुनर्निर्माण र पुनस्र्थापना मुख्य चुनौती

हरिकृष्ण श्रेष्ठ /विकल्प न्यूज
साउन १३ गते ।       मराङ/ म्याग्दी जिल्ला जल उत्पन्न प्रकोपका हिसाबले देशकैं संकटाभिमुख जिल्लामा पर्ने र पछिल्ला केही वर्ष यतादेखि जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले गर्ने मौसमी भविष्यवाणी लगभग मिल्न गएको सन्दर्भमा सो महाशाखाले असार २४ गतेदेखि गण्डकी प्रदेश लगायत देशका धेरै भागमा भारी वर्षाको सम्भवाना रहेकोले सतर्क रहन सूचना गरेको र त्यसै अनुसार नै वर्षा भैरहेको कारण हाम्रो जिल्लामा पनि बाढी, पहिरोले कतै अनिष्ट पारेको खबर सुन्नुपर्ने त होइन भन्ने चिन्ता सबैतिर रहेको थियो । नभन्दै गत असार २५ गतेको राती परेको वर्षाले जिल्लाको मराङ, बिम, ताकम, गलेश्वर लगायत गाउँहरुमा ठूलो जनधनको क्षति भएको खबर २६ गते बिहानै सुनियो ।

कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडक खण्डको गलेश्वरमा रहेको रघुगंगा नदी माथिको बेलिब्रिज बगाउनुका साथै पिप्लेतर्फका घरहरु जोखिममा रहेको खबर पाएपछि सांसद भूपेन्द्र थापा, जिल्ला समन्वय प्रमुख देवेन्द्र केसी, सहकर्मी बालकृष्ण सुवेदीसहित भई त्यहाँ पुगियो ।

तत्पश्चात् जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुसँग जिल्लाभर पु¥याएको क्षतिबारे अपडेट हुनुका साथै तत्काल उद्धार तथा राहतका लागि भएका प्रयाससँगै उद्धारका लागि आउन तैयार हेलिकोप्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको जानकारी समेत पाइयो । लगत्तै जिल्लामा आइपरेको विपदको सामना गर्न तत्काल पार्टी कार्यालयमा आकस्मिक बैठक बसी उद्धार तथा राहतमा जुट्न जिल्ला पार्टीको तर्फबाट विज्ञप्ति प्रकाशित गरी मौसम अनुकूल हुनासाथ घटनास्थलतर्फ जाने र पहिरो पीडितहरुका लागि आर्थिक सहयोग संकलन गर्ने योजना बनाइयो ।
उता पहिरोमा फसेकाहरुको उद्धारका लागि छिटो हेलिकोप्टर पठाई दिन ताकेता भई रहेपनि मौसमको प्रतिकूलताका कारण दिउँसो मात्र नेपाली सेनाको  हेलिकोप्टर मुश्किलले बेनीसम्म आएपनि पटक पटकको प्रयास गर्दा पनि बेनीदेखि पश्चिम जान सकेन ।

बरु नारायण जिसी र राजेश शाक्यले निजी खर्चमा झिकाइएको प्रभु कम्पनीको सानो हेलिले दुखुका १ जना घाइतेलाई ल्याई पोखरा पु¥यायो । भोलिपल्ट असार २६ गते मौसममा सुधार आएपछि नेपाली सेनाको हेलि र नारायण जिसी र राजेश शाक्यको पहलमा आएको प्रभुको हेलिले उद्धारकर्मी, राहत सामग्री र विशेष व्यक्तिहरुलाई लैजाने र पहिरोमा फसेकालाई उद्धार तथा घाइतेहरुलाई ल्याउने काम ग¥यो । सडक यातायातबाट जान गाह्रो देखिएपछि नारायणजीले चार्टर गरेको प्रभुको हेलिमा जाने मौका मलाई पनि मिल्यो । उद्धार कार्यमा सहयोगसँगै त्यहाँको वस्तुस्थिति बुझी राहत तथा अन्य सहयोगका लागि आवश्यकता पहिचान गर्न सकिएला भन्ने हेतुले मराङको अर्बाङ्गमा बस्ने निधो साथ म गएको थिएँ ।

पत्रकार ठाकुर आचार्य (शिव), युवा संघका दिनेश केसी भाइ र एकजना प्रहरीसहित हामी ४ जना असार २६ गते दिउँसो बेनीदेखि शिबाङ्गका लागि उड्यो । करिब १० मिनेटमा हेम माविको मैदानमा उत्रिएपछि अघिल्लो दिन उद्धार गर्न बाँकी रहेका तीनजनालाई लिन धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल सोही हेलिबाट कल्लेनी पुगेर लिई आउनुभयो । त्यसपछि मसँग जानुभएको बाँकी तीनजनालाई शिबाङ्ग छाडी गाउँपालिका अध्यक्ष थमसरा पुनसहित उपाध्यक्ष रेशमजी र म मराङतिर लाग्यौं । शुरुमा मराङको राम्चेमा पुगी केही समय त्यहाँ रहेका पहिरो पीडितसँग भेटघाट तथा वस्तुस्थिति बुझ्यौं र पछि मराङकै अर्बाङमा झ¥यौं । त्यहाँ रहेका जनताहरुसँग छोटो भेटघाट र कुराकानी पछि अध्यक्ष र उपाध्यक्ष ताकमको धारापानीतिर लाग्नुभयो । म भने मेरो गन्तव्यस्थलमै रहें ।
अब भने म मेरो मुख्य जिम्मेवारी रहेका क्षेत्रमा पुगेको थिएँ । धवलागिरी गाउँपालिका वडा नं. ६ मराङ अर्बाङस्थित श्री जनविकास आधारभूत विद्यालयको भवनमा पहिरो पीडितहरुका आश्रयस्थल बनेको रहेछ ।

वडाअध्यक्ष राजाराम सुवेदी पारी राम्चेमा रहेका पीडितहरुलाई भेट्न त्यता जानुभएको र सो क्षेत्रका वडा सदस्य लोकप्रसाद पुन युवाहरु लिएर रिखमा पुरिएका मृतकका लाश निकाल्न जानुभएकोले सोही स्कूलका प्रधानाध्यापक तिलकमान गर्बुजा सरसँग घटनाको बारेमा सामान्य जानकारी लिएँ । गाउँ आउँदा हेलिबाट र झरेपछि राम्रोसँग गाउँ नियाल्दा पूरा मराङ गाउँलाई पहिरोले छियाछिया बनाएको पाएँ ।

२५ गते राती भिषण पानी परेपछि सबैभन्दा पहिले रिख गाउँमा राती झण्डै १२ बजेटिर पहिरो गएको र त्यसपछि बिहान ३ः३० बजेतिर राम्चे, कुम्री, कल्लेनी र अन्य ठाउँमा गएको रहेछ । राती ठूलो वर्षा, अन्धकार र गाउँका सबै पहिरोको त्रासमा भएकाले उद्धारमा समस्या परेको पाइयो । रिखमा दुईघरका ४ र ३ गरी ७ जना राम्चेमा दुई घरमा ४/४ र एक घरमा १ जना गरी ९ जना, ठूलो गाउँ, कल्लेनी र कुम्रीमा १/१ गरी ३ जना सहित वडा नं. ६ मराङमा जम्मा १९ जनाको ज्यान गएको छ भने कल्लेनीमा २ जना अझै बेपत्ता छन् । यसैगरी पहिरोमा परी रिखका ४ जना, राम्चेका ४ जना र कल्लेनीका १ जना गरी वडा नं. ६ मा ९ जना घाइते भएकामा सबैको उद्धार भई पोखरा र बेनीमा उपचार भयो । त्यस्तै पहिरोमा परी वडा कार्यालय रहेको घरसहित २८ घर पूर्णरुपले क्षतिग्रस्त भएको छ भने ५ घरलाई आंशिक क्षति पुगेको छ । पहिरोको डरले विस्थापित भई घर छाडेका ठूलोगाउँ, कुम्री, रिख, घण्टीबाङ्ग, अर्बाङ्ग, खाउरीबाङ्ग, दमका र वेंशीगाउँ गरेर झण्डै ५०० जना अर्बाङस्थित श्री जनविकास आधारभूत विद्यालयमा यसैगरी राम्चे, खक्सी, खोर र नामरुक गाउँका गरी झण्डै ३०० जना राम्चेस्थित दलित सामुदायिक भवनमा र कल्लेनीका करिब १५० जना ताकम र शिबाङमा बसेका छन् । पहिरोले बाटोघाटो पूरै क्षतिग्रस्त बनाउँदा आवागमन लगायत उद्धार र राहत वितरणमा समेत असर पारेको छ । 

बिजुली र खानेपानी बगाउँदा गाउँ पूरै अन्धकार हुनुका साथै सञ्चार सम्पर्कमा समस्या आएको छ । पिउनेपानीको अभावले संक्रामक रोगको सम्भावना बढाएको छ ।
मराङमा भएको क्षतिको विवरण
मृतकः १९ जना (रिख ७, राम्चे ९, ठूलोगाउँ १, कुम्री १, कल्लेनी १)
बेपत्ताः २ जना (कल्लेनी)
घाइतेः– ९ जना (रिख ४, राम्चे ४, कल्लेनी १)
पूर्ण क्षति घर ः २८ घर
आंशिक क्षति घरः ५ घर
खानेपानीः अधिकांश क्षतिग्रस्त
विद्युतः केन्द्रीय र स्थानीय दुवै क्षतिग्रस्त
सडकः मोटरेबल तथा घोडेटो अधिकांश क्षतिग्रस्त
वस्तुभाउः विवरण आउन बाँकी ।
विस्थापितः ९५० जना
(स्रोतः वडाअध्यक्ष राजाराम सुवेदीबाट प्राप्त)
विपदको बेलामा राज्यको उपस्थिति ढिलो हुँदा जनताको आक्रोश चुलिएको पाइयो । जसलाई म आफैले पनि व्यहोर्नुप¥यो । मौसमको प्रतिकूलताका बाबजु्द पनि खोज तथा उद्धारमा स्थानीयको भूमिका सराहनीय रहेको पाएँ । स्थानीय प्रगति युवा क्लब र डाँफे युवा क्लबका भाइहरुको मेहनत, आमा समूहका दिदीबहिनीहरुको सक्रियता, गाउँपालिका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष राजाराम सुवेदी र वडा सदस्य लोकप्रसाद पुनको समन्वयात्मक र नेतृत्वदायी भूमिका उल्लेखनीय रह्यो । बेलाबेलामा दुई गाउँका युवाहरुबीच झगडा हुने गरे पनि यो विपत्तिमा सबै भूलेर मानवीय भावनाका साथ सहयोग गर्न छिमेकी गाउँ मल्कबाङका सनलाइट युवा क्लब र जनचेतना आमा समूहका ४० जना युवायुवतीको नेतृत्व गरेर आउने वडाअध्यक्ष खर्ककुमारी छन्त्याल सहितको टोलीको मेहनत प्रशंसायोग्य रह्यो । बेनीबाट प्रकाश पौडेलको नेतृत्वमा पुगेको अखिलका ७ जना भाइहरुको हिम्मतलाई पनि सलाम गर्नैपर्ने हुन्छ । जसले असम्भव ठानिएको बाटो छिचोलेर रिखको लाश निकाल्न विशेष सहयोग पु¥याए । विपदमा सँधैं अग्रपंक्तिमा रहेर उद्धार कार्यमा जुट्ने नेपाली सेना, जनपथ प्रहरी तथा सशस्त्र प्रहरीका उद्धार टोलीले रिख बाहेकका गाउँमा खोज तथा उद्धार कार्यमा गाउँलेलाई सहयोग पु¥याए । र विशेष धन्यवादका साथ सम्झन पर्ने हुन्छ ।

समाजसेवी नारायण जिसी र राजेश शाक्यलाई जसले आफ्नो निजी खर्चमा हेलिकोप्टर चार्टर गरी घाइते तथा पहिरोमा फसेकाहरुलाई उद्धार र राहत सामग्री ढुवानी तथा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार र हामीजस्ता व्यक्तिहरुलाई पनि घटनास्थलसम्म ल्याउन, लैजान मद्दत गर्नुभयो । सँगसँगै उहाँहरुलाई पनि धन्यवादका साथ स्मरण गर्नुपर्ने हुन्छ जजसले शुरुदेखि हालसम्म र भोलिका दिनमा समेत पीडित जनताहरुलाई राहत सहयोग उपलब्ध गराउनुभयो ।

अन्तमा प्राकृतिक विपत्तिमा परी जिल्लाले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकोृ छ । मराङ, बिम र दुखुमा गरेर २८ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । थुप्रै व्यक्तिहरु घाइते छन्, घरबार विहिन भएका छन्, सयौंका संख्यामा विस्थापित हुन पुगेका छन्, भौतिक सम्पत्तिको क्षतिको गणना गरेर साध्य छैन ।

समग्रमा त्यसक्षेत्रका जनताको जनजीवन अस्तव्यस्त भएको छ । यतिबेला उद्धारको काम सकिएको छ । पहिरो पीडितहरुलाई खाने र वस्ने उचित व्यवस्थापनको खाँचो छ । सडक पूर्ण रुपमा बन्द छ । पैदल हिडने बाटो समेत पहिरोले बगाएको छ । यस्तो अवस्थामा पीडितहरुलाई राहत पु¥याउन चुनौती छ । अबको मुख्य चुनौति भनेको राहत, पुनर्निर्माण र पुनस्र्थापनको हो । पहिरोबाट परिवार गुमाएका घाइते भएका र भौतिक सम्पत्तिको क्षति भएकालाई आवश्यक राहत, घरबार विहिन परिवारलाई अस्थायी पुनर्बास र वर्षायाम सकिएपछि स्थायी पुनर्बासका लागि आवश्यक योजनाको खाँचो छ । तत्कालै आवागमन खुल्ला गर्ने, खानेपानीको वैकल्पिक व्यवस्था मिलाउने, विद्युत सुचारु गर्ने र क्रमशः सडक, यातायात सञ्चालन गर्ने सोच बनाउनुपर्छ । यी सबैको तारतम्य मिलाएमा बिस्तार जनजीवन सामान्यीकरण हुँदै जानेछ । यो अवस्थामा विपदमा परेका जनताहरुलाई सहयोग गर्नु तीनै तहका सरकारको मुख्य दायित्व हो । निरीक्षणमा आउनुहुने सरकारका जिम्मेवार व्यक्तिहरुले आश्वासन पनि दिनुभएको छ, त्यसैले हामी आशा एवम् विश्वास गरौं राज्यका निकायले अवश्य सहयोग गर्छ । साथै हरेक विपदमा सहयोग गर्ने संसारभरका म्याग्देलीसहित नेपाली जनता, संघसंस्थाले पनि पक्कै सहयोगको हात बढाउनेछन् । सुन्नमा आएको छ कि यो अभियानका लागि स्वदेश तथा विदेशमा सहयोग संकलन पनि भइरहेको छ ।

यी सबै सहयोगहरुलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्ने, प्राप्त हरहिसाबलाई पारदर्शी बनाउन पनि उत्तिकै जरुरी छ । यसो गर्न सकियो भने पीडितले पनि राहत महसुस गर्नेछन् र गरेको काममा सबैको विश्वास रहनेछ । लेखकः नेकपा म्याग्दीका सचिव हुनुहुन्छ ।

तस्विरहरु ठाकुरप्रसाद आचार्य