तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी
चैत ३ गते ।

(तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने युवाहरुले आशा गरेका छन् । व्यवस्थित खेलमैदानको अभावमा खेलकुद गतिविधिहरु प्रभावित भएपछि स्थानीय मनकामना युवा क्लबको पहलमा डेढ वर्ष अघि मैदान निर्माण सुरु गरिएको थियो ।

रोजगारीको शिलशिलामा विदेशमा रहेका तुसारेपानीवासीहरुबाट मैदान निर्माणका लागि करिब २२ लाख रुपैयाँ सहयोग प्राप्त भएको मनकामना युवा क्लबका उपाध्यक्ष लालकुमार रोकाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ९ लाख र चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै देउसी भैलोबाट संकलन भएको तिनलाख रुपैयाँ क्लबले मैदान निर्माणमा खर्चिएको उहाँले बताउनुभयो । निर्माण सम्पन्न गर्न अझै १० लाख रुपैयाँ अपुग हुँन्छ रोकाले भन्नुभयो,‘अपुग रकमका लागि दाताको सहयोगको पर्खाईमा छौं ।’

दुईरोपनी भन्दा वढी क्षेत्रफलमा निर्माण गरिएको मैदानमा भलिबल,बास्केटबल र ब्याडमिन्टन खेल सञ्चालन गर्न सकिन्छ । मैदानमा सिमेन्टेट डलान गरिएको छ । वरीपरी पर्खाल र घेराबार लगाइएको छ । दर्शकहरु वस्नका लागि प्याराफिट निर्माण गरिएको छ । मैदानमा राती समयमा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्तिहरु जडान गरिएको छ । भलिबल खेल्नका लागि खेलाडीहरुलाई सहज होस भनेर क्लबले फर्म राख्ने योजना बनाएको छ ।

आवश्यक भौतीक संरचना अभावको कारण गाउँमा खेलकुदको विकास हुन नसकेको समयमा मैदान निर्माण भएपछि खेलकुद क्षेत्रको विकासमा टेवा मिल्ने विश्वास गरिएको क्लबका अध्यक्ष चुचन फगामीले बताउनुभयो । यसअघि विद्यालयमा खेलमैदान हुँदा खेलकुद गतिविधिहरु सञ्चालन गर्न समस्या हुने भएकाले विद्यालय भन्दा तिनसय मिटर टाढा मैदान निर्माण गरिएको उहाँले बताउनुभयो । खेल मैदान निर्माण भएसँगै गाउँमा राम्रा खेलाडी उत्पादन हुने विश्वास गरिएको छ । खेल मैदान निर्माण सँगै युवाहरुमा खेल प्रतीभाको विकासमा सहयोग पुग्ने स्थानीयवासीहरुले आशा गरेका छन् ।