ताजा समाचार:
Search

मोनाको महाधिवेशनको तयारी सुरु

विकल्प न्युज
बेनी, भदौ २ गते । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ ।

असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न देशका राष्ट्रिय समितिको साधारणसभा, अधिवेशन र प्रचारप्रसार सुरु गरिएको हो ।

अधिवेशनको पूर्वसन्ध्यामा म्याग्दी उद्दार समिति बहराइनको साधारणसभा मार्फत मोनाको राष्ट्रिय समितिमा रुपान्तरण गरिएको छ । यसैगरी दुवइमा मोनाले स्थापना गर्न लागेको आकस्मिक अक्षयकोषका लागि म्याग्देली सांस्कृतिक धमाका २०१९ भएको छ ।

महाधिवेशनको तयारीको शिलशिलामा मोनाका अध्यक्ष चक्र थापा, ओमनारायण जुग्जाली लगायत पदाधीकारीहरुको टोली हालै हङकङ पुग्नुभएको थियो । हालसम्म मोनाको १९ देशमा राष्ट्रिय कार्यसमिति गठन भएको छ ।

जापता र पोर्चुगलमा क्षेत्रीय कार्यसमिति बनेको छ । महाधिवेशनलाई भब्य रुपमा सफल बनाउन तयारीलाई तिब्रता दिएको मोनाका अध्यक्ष थापाले बताउनुभयो । महाधिवेशनबाट मोनाको नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

मोनाको पहलमा म्याग्दीको शिक्षा, विकास निर्माण र विभिन्न परोपकारी अभियानमा सहयोग भएको छ । मोनाले प्रवासीको लगानी भित्र्याउन पनि पहल गरेको जनाएको छ ।