ताजा समाचार:
Search

गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउन हङकङमा जुट्यो ४२ लाख

विकल्प न्यूज/बेनी
फागुन १३ गते ।  म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको गरिब तथा विपन्न उपचार कोषमा म्याग्दी प्रवासी संघ(मोना) हङकङमा आवद्ध म्याग्देलीहरुले करिब ४२ लाख रुपियाँ सहयोग गरेका छन् ।

कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि सहयोग जुटाउन यतिखेर हङकङमा रहनु भएका कोष अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरलाई त्यहाँ रहेका प्रवासी म्याग्देलीहरुले स्वतस्फुर्त रुपमा उक्त सहयोग गरेका हुन । कोषलाई सहयोग जुटाउन प्रवासी म्याग्देलीहरुले एक कार्यक्रमको आयोजना गरेका थिए । मोना हङकङको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा ४२ लाख रुपैयाँ सहयोग संकलन भएको कोषका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । ‘यहाँ रहेका म्याग्देलीहरुले गरेको सहयोगले आफू उत्साहित भएको छु’ अध्यक्ष शाक्यले भन्नुभयो ‘ पैसा अभावका कारण गरिब र विपन्नले मृत्युबरण गर्न नपरोस भन्ने हाम्रो अभियानमा साथ दिने मोना हङकङलाई विशेष धन्यबाद दिन्छौं ।’ दुई लाख रुपैयाँ सहयोग गरेर १२ जनाले संरक्षक सदस्यता लिएका अभियानका लागि हङकङ पुगेका कोषका सचिव लोक पुनमगरले जानकारी दिनुभयो । अन्य २४ जनाले पाँचहजार पाँचसय ५५ रुपियाँ सहयोग गरेर कोषको आजिवन सदस्यता लिएको उहाँले बताउनुभयो ।

संरक्षक सदस्यता लिनेहरुमा मोनाका संस्थापक प्रकाश पुन, मोना हङकङका बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, निवर्तमान अध्यक्ष इन्द्र एलजी थापामगर, अध्यक्ष कर्ण पुन, कोषाध्यक्ष नारायणसिङ पुन, सचिव जेबेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा, ज्ञानेन्द्र थापा, पदम शेरचन, गोमा पुन, संरक्षक इञ्जिनियर हर्कमान मगर र कार्यसमिति सदस्य लील रोका सल्लाहकार गोमा पुन रहनुभएको छ ।  कार्यक्रममा ओमकुमारी शान्ति कोषले गरेका गतिबिधि, उद्देश्य र योजनाको बारेमा संस्थाका अध्यक्ष शाक्यले जानकारी गराउनुभएको थियो । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र आर्थिक अभावका कारण औषधि उपचारबाट बञ्चित १०१ जना म्याग्देलीहरुलाई एक करोड ८२ लाख रुपैयाँ सहयोग जुटाएको छ ।
हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन शान्तिको स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो । शान्तिको उपचार र कोषको ब्याजबाट भएको १६ लाख १९ हजार १०५ रुपैयाँ सहित अभियान सञ्चालन गरेर आर्थिक वर्ष २०७४÷७५ सम्म उक्त संख्याका बिरामीलाई सहयोग गरिएको हो । शान्तिको उपचारको क्रममा सञ्चालित अभियानबाट बचत भएको १३ लाख ७८ हजार रुपैयाँबाट सुरु भएको कोषमा यसअघि स्वदेश तथा बिदेशबाट ६२ लाख रुपैयाँ नगद संकलन भएको छ । मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ । कोषको ब्याजबाट बिरामीको उपचारमा सहयोग गर्ने संस्थाको योजना छ । तीन लाख रुपैयाँ भन्दा बढी सहयोग गरेर छ वटा संस्था र यसअघि दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेर १८ जना व्यक्तिले संरक्षक सदस्यता लिनुभएको थियो । पाँच हजार पाँचसय ५५ रुपैयाँ तिरेर आजिवन सदस्यता लिन सकिन्छ । जन्मदिन, बिवाह, छेवार, ब्रतबन्ध जस्ता अवसरमा विभिन्न व्यक्तिहरुले फजुल खर्च कटाएर कोषलाई सहयोग गर्ने लहर चलेको छ । कोषका अलावा बिरामीको नाममा अभियान सञ्चालन गरेर पनि आर्थिक सहयोग जुटाएर औषधि उपचारमा सहयोग गरिएको छ । प्रवासी नेपाली म्याग्देली संघ (मोना)को कतार, नेडरल्याड, फ्रान्स, बेल्जीयम र बेनीको कस्तुरी बहुउद्देश्यिय सहकारी संस्थाले संरक्षक सदस्यता लिएका छन । म्याग्दी उद्दार समिति बहराइन पनि संरक्षक सदस्य बनेको छ । कोषले सहयोगदाता र अभियानका क्रममा संकलित तथा खर्च भएको रकमको विवरण सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत सार्वजनिक गर्दै आएको छ । संस्थाका पदाधीकारी तथा सदस्यहरुले संस्थाको कार्यक्रम र अभियानका लागि व्यक्तिगत रुपमै खर्च व्यवस्थापन गर्ने गरेका छन् ।