मिर्गौला पीडित सुरेशलाई युकेबाट एक लाख सहयोग

विकल्प न्यूज/बेनी
पुस २२ गते । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट १ लाख तीन हजार रुपियाँ सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदायबाट सो सहयोग संकलन भएको थियो ।

मल्कबाङ समाज युकेका अध्यक्ष समेत रहेका छन्त्यालको नेतृत्वमा युकेमा संकलन भएको उक्त सहयोग रकम आईतवार बेनीमा आयोजित एक कार्यक्रमका बिच सुरेश बचाउ अभिायन समितिलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, अभियानका सदस्य लालकुमार रोका र पिडित छन्त्यालकी आमा सितालाई समन्वयकर्ता म्याग्दी अनलाईन डटकमका सम्पादक कमल खत्रीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

आर्थिक रुपमा बिपन्ता रहेको र उपचारमा लाखौँ खर्च लाग्ने समाचार बाहिर आएपछि युकेमा आर्थिक संकलन गरि पठाईएको आर्थिक संकलनको नेतृत्व गर्नुभएका छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, सो सहयोग जुटाउन युकेमा रहेका छन्त्याल समुदायबाट उल्लेख्य सहयोग भएको छ ।

१९ वर्षिय छन्त्यालको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको पहलमा उपचार खर्च जुटाइरहेको छ । गत साउनदेखि अलका र टिचिङ अस्पतालमा उपचार गराईरहेका छन्त्यालको मृगौला प्रत्यारोपणको तयारी भैरहेको उनकी आमा सिताले बताउनुभयो ।

छन्त्यालको उपचारमा अहिलेसम्म करिब २९ लाख संकलन भएको कोषले जनाएको छ । छन्त्याल बेनी स्थित माउण्ट एभरेष्टमा कक्षा १२ मा अध्ययन गर्दै आएका थिए । उनको उपचारमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पिडित परिवारलाई ठुलो सहयोग पुगेको भन्दै कोषका अध्यक्ष शाक्यले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।