दन्त शिविरबाट चार सय लाभान्वित

विकल्प न्यूज/बेनी
पुस १४ गते । प्रवासीहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ र अन्नपूर्ण गाउँपालिका ३ दानामा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले सेवा लिएका हुन् ।
मराङमा १७० र दानामा २५० जनालाई दन्त परिक्षण, परामर्श, उपचार र निशूल्क औषधी वितरण सेवा दिइएको मोना नेदरल्याडका अध्यक्ष जंगबहादुर पुनले जानकारी दिनुभयो । शिविरबाट धवलागिरी गाउँपालिकाको मराङ, मल्कवाङ, ताकम, खिवाङ, मालिकाको बिम, अन्नपूर्णको दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घारका बासिन्दाहरुले सेवा लिएका थिए ।

सोमबार र मंगलबार मराङ तथा बुधबार र बिहीबार दानामा सञ्चालन भएको शिविरमा त्रि.वि शिक्षण अस्पतालका दन्त प्राबिधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिनुभएको थियो ।

ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधा र दन्त स्वास्थ्य सम्बन्धि चेतना फैलाउने उद्देश्यले शिविरको आयोजना मोनाका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार शिविर सञ्चालनका लागि प्रवासीहरुले चन्दा संकलन गरेर तीन लाख रुपैयाँ सहयोग गरेका थिए ।