सुधारीएको चूल्होले भान्सा नै चिटिक्क

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी,पुस २९ गते ।
केही महिना अगाडी सम्म म्याग्दीको हिस्तान गाविस २ घराम्दीकी बिना गर्बुजालाई भान्सा कोठाको काम गर्न निकै गाहे हुन्थ्यो । बल लगाएर अगेनामा फु फु…गर्दै बालेको आगोको घँुवाले आँखा हेर्नै नसक्ने विगतको जस्तो समस्याबाट गर्बुजाले अहिले मुक्ति पाउनु भएको छ ।

histan news photo

‘भान्साकोठामा घुँवाले गर्दा आँखा पिरो भएर आँसु झार्दै खाना पकाउनुपर्दा गृहीणीहरुलाई निकै दुख हुन्थ्यो’ गर्बुजाले भन्नुभयो ‘सूधारीएको चुल्हो जडान गरेपछि घुँवामा आँखा पिरो बनाएर, टप टपी आँसु चुहाउदै खाना पकाउनुपर्ने समस्या हटेको छ ।’

सुधारीएको चुल्होले उहाँ मात्रै नभएर हिस्तानका धेरै गृहिणीलाई सहज भएको छ । ४९६ घर रहेको हिस्तान गाविसका सबैले अहिले सुधारीएको चूल्हो जडान गरेर त्यही खाना पकाउन थालेका छन् । सूधारीएको चूल्हो जडान गरेपछि घुँवा नहुने, दाउराको खपत कम हुने मात्र होईन् सरसफाई कायम राख्न र वातावरण संरक्षणमा पनि सहयोग पुगेको छ ।

पहिले मासिक ८ भारी दाउरा खपत हुने गरेकोमा सूधारीएको चूल्हो जडान गरेपछि ५ भारीले एक महिना पुग्न थालेको हिस्तान ५ टिकोटकी डिलमाया अर्मजाले बताउनुभयो । उहाँका अनुसार सूधारीएको चूल्होमा खाना पनि छिटो पाक्ने भएकाले गृहणीहरुको समयको बचत भएको छ ।

परम्परागत चूल्हो प्रयोग गर्दा घुँवाले घर र खरानीले भान्छाकोठा फोहोर हुने समस्या थियो । सुधारीएको चूल्होमा फलामको चिम्नीबाट भान्छाको घुँवा घरबाहीर बिर्सजन गर्ने र खरानी बाहिर निस्कन नपाउने व्यवस्था भएकाले सरसफाईमा पनि सहयोग मिलेको हिस्तान घराम्दीकी कुमारी फगामीले बताउनुभयो ।

DSC07031

हिस्तानको टिकोट, घराम्दी, औला, रिमाका साथै तल्लो क्षेत्रमा पर्ने दोसल्ले, महभिर बस्तीका घरघरमा फलामे चूल्हो जडान भएको छ । कदम म्याग्दीद्धारा सञ्चालित सुधारीएको चूल्हो प्रर्वद्धन कार्यक्रमले एक सय वटा घरमा सुधारीएको चूल्हो जडान गर्न अनुदानको ब्यवस्था गरेको थियो ।

धेरैले व्यक्तिगत लगानीमा दुई मुखे फलामे चुल्हो जडान गरेको हिस्तान ९ दोसल्लेका मनबिर पुनले बताउनुभयो । केहीले स्थानीय प्रबिधिबाट माटाको सुधारीएको चूल्हो बनाएका छन् । एक वटा दुई मुखे फलामे चुल्हो जडान गर्न रु. सात हजार ५०० रुपियाँ र माटाको बनाउन रु. एक हजार २०० रुपियाँ लगानी गर्नुपर्छ ।

सरकारले बैकल्पिक उर्जा प्र्रर्वद्धन कार्यक्रम मार्फत फलामे चुल्हो जडान गर्ने दलित र जनजाती समुदायलाई रु. तिन हजार तथा अन्यलाई रु. दुई हजार रुपियाँ अनुदानको ब्यवस्था गरेको कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो । हिस्तानलाई घरभित्रको धुँवा मुक्त गाविसका रुपमा पुस ७ गते घोषणा गरिएको हो ।