ताजा समाचार:
Search

युवा पुस्तामा थाली नाचको क्रेज

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
फागुन २१ गते ।  DSC_0362थाली नाच पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको छ । विभिन्न सभा समारोह र कार्यक्रमहरुमा थाली नाचको प्रस्तुती अनिवार्य जस्तो छ । पछिल्लो समय मगर समुदायका युवतीमा थाली नृत्यप्रति क्रेज वढ्दो छ । पाका पुस्ताबाट थाली नृत्य नयाँ पस्तामा हस्तान्तरण हुँदै छ । विद्यालय तहमा अध्ययन गर्ने उमेर समुहका युवतीहरु माझ थाली नृत्य अझ लोकप्रिय हुँदै छ ।

नयाँ पुस्तामा थाली नृत्यप्रति क्रेज वढ्नु सकरात्मक भएको मगर संघ म्याग्दीका सचिवालय सदस्य खम थापा मगरले बताउनुहुन्छ । विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा मगर समुदायका छात्राहरुले थाली नृत्य देखाउने प्रचलन वढेकाले पुस्ता हस्तान्तरणमा टेवा पुगेको उहाँले बताउनुभयो । थाली नाचमा नाच्ने व्यक्तिले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नाच्छन् । थाली नाच मौलीक र आकर्षक भएकाले नयाँ पुस्तामा लोकप्रिय पनि बनेको थापा मगरले बताउनुभयो । मगर संघ म्याग्दीले नयाँ पुस्तालाई लक्षित गरी भविष्यमा थाली नाचको प्रशिक्षण चलाउने सोच बनाएको उहाँले बताउनुभयो ।

Thali dance (1)दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा यसको नामै थाली नाच रहन गएको हो । यस्तो नृत्य जो कोहीलाई प्रस्तुत गर्न कठिन हुन्छ । यो नाचमा हातखुट्टा र शरिरको चाल समेत मिल्नुपर्छ । यसमा थाल भुईमा खस्यो भने अशुभ मान्ने गरिन्छ । म्याग्दीमा आयोजना हुने विभिन्न मेला, महोत्सव र कार्यक्रमहरुमा थाली नृत्यको प्रस्तुती अनिवार्य जस्तै बनेको छ । पहिले निकै कठिन भएपनि नाच्दा, नाच्दै सजिलो भएको बेनीको माउन्ट एभरेष्ट माध्यमिक विद्यालयमा अध्ययनरत दिया शेरपुञ्जाले अनुभव सुनाउनुभयो । थाली नाच हाम्रो मौलीक संस्कृति हो शेरपुञ्जाले भन्नुभयो,‘नयाँ पुस्ता यसको संरक्षणमा जुट्नु पर्दछ । थाली नृत्य प्रस्तुत गर्दा गौरबको अनुभूति हुन्छ ।’

पहिले चरेसको थाल नचाउने चलन थियो । अहिले स्टलको थाल नचाउने गरिन्छ । आकर्षक र रोचक हुने भएकाले थाली नाच आजभोली म्याग्दी जिल्लामा मात्र सिमित छैन । पहिले पञ्चे बाजामा पनि थाली नृत्य गर्ने चलन थियो । थाली नाच म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाकी हिरामाया पुनले वि.स २०२८ मा पहिलो पटक नाच्नुभएको भनाई छ । महिला कलाकारले मौलीक पोषाक गून्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्ने चलन छ । पछिल्लो समय मगर समुदायका आमा समूह र युवतीहरुले थालीनाचको संरक्षणमा अग्रसरता देखाएका छन् । नवविकल्प साप्ताहिकमा प्रकाशित