करेन्ट लागेर घाइते भएका बस्यालको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प
म्याग्दी,पुस ८ गते ।
करेन्ट लागेर घाइते भएका म्याग्दीका एक युवाको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

पिप्ले ७ का गोविन्द बस्यालको उपचारका लागि कुवेतमा रहेका म्याग्दी देविस्थानका डमप्रकाश बस्यालको पहलमा संकलित २२ हजार १२९ रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । DSC06195
मिजार समाजले बेनीमा आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष सुकलाल किसान र डमप्रकाशकी श्रीमती टिका बस्यालले गोविन्दका बुवा भिमसेन बस्याललाई नगद हस्तान्तण गर्नुभएको थियो ।

मिजार समाजका अध्यक्ष सुकलाल किसानको अध्यक्षता, उपाध्यक्ष भबिराम किसानको स्वागत र सञ्जन बोहोराको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रिय सचिव यामबहादुर चर्माकार प्रमुख अतिथि रहनुभएको थियो ।

भदौ २७ गते पर्वतको बगरफाँट स्थित डेरामा करेन्ट लागेर घाइते भएका बस्याललको काठमाडौ स्थित शुष्मा कोईराला अस्पतालमा उपचार भैरहेको छ । बस्यालको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले जिल्लाबासी तथा प्रवासी म्याग्देलीहरुले सहयोग संकलन अभियान सञ्चालन गरेका छन् ।