को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !

विकल्प न्यूज/बेनी
माघ २ गते । DSC_0038

कालि र म्याग्दीको संगमस्थलमा आयोजना भएको म्याग्दी महोत्सवको सञ्चालिका शोभा त्रिपाठीले हजारौं दर्शकहरुको मन जितेकी छिन । कला र गलामा धनी शोभा त्रिपाठी बेनीमा आयोजना गरिएको छौठौं म्याग्दी महोत्सवकी सञ्चालीका हुन । कार्यक्रम सञ्चालन गर्न निकै सिपालु त्रिपाठी म्याग्देली दर्शकमाझ प्यारी बनेकी छिन् । उनको प्रस्तुतीले दर्शकहरुलाई लोभ्याइरहेको छ । चार दिन देखि निरन्तर महोत्सवको सञ्चालिका रहेकी त्रिपाठीलाई आयोजकले म्याग्दी निम्ताएको हो । त्रिपाठी नेपाली लोक संगीत क्षेत्रमा स्थापित व्यक्तित्व हुन् । दशकभन्दा लामो समयदेखि सञ्चार कर्ममा क्रियाशील शोभा आफैं लोक गायिका समेत हुन् । DSC_0070धादिङ मलेखुमा जन्मेकी शोभा उतै हुर्किन् र पढिन् । सानैदेखि नाच्न र गाउन मन पराउने उनी कतै कुनै गीत बजेको सुन्ने वित्तिकै नाच्न थालिहाल्थिन् । उनको त्यो उत्साहमा उनका साथी संगीहरुले थप उर्जा थपिदिन्थे । त्यसैले शोभा आफू आज यो ठाउँसम्म आइपुग्न तिनै साथीहरुको प्रेरणालाई प्रमुख कारण मान्छिन् । उनी भन्छिन्–मेरा प्रेरणाका स्रोत भनेकै मेरा स्कूलका साथीहरु हुन् । म नाचिदिन्थें,गाइदिन्थें । साथीहरु ताली बजाउँथे,तेरो स्वर र नाच राम्रो छ भन्थे । त्यही प्रेरणा र हौसलाले आज मलाई यहाँसम्म ल्यायो । सबैका सामू सफल गायिका र सञ्चारकर्मीका रुपमा चिन्ने अवसर पाएकी छु ।  DSC_0128धादिङबाट एसएलसी उत्तीर्ण गरेपछि शोभा उच्च शिक्षा अध्ययनकालागि काठमाडौं आइन् । काठमाडौंमा आए लगत्तै उनी इमेज च्यानलमा कार्यक्रम चलाउन थालिन् । लोक गीतको दैनिक कार्यक्रम उकाली ओरालीकी सञ्चालिकामध्येकी एउटी उनी पनि थिइन् । दर्शकहरुमाझ उकाली ओराली कार्यक्रम निकै लोकप्रिय बन्दै गयो । यता सञ्चालिका शोभाको लोकप्रियता पनि चुलिदै थियो । इमेजमा रहँदा उनले इमेज एफएममा समेत कार्यक्रम सञ्चालन गरिन् । त्यहाँ पनि श्रोताको प्रिय बनिन् । जीवनशैली शोभाले चलाउने अर्को लोकप्रिय कार्यक्रम थियो इमेज च्यानलमा ।

कार्यक्रम सञ्चालिकाको रुपमा लोकप्रिय बनिरहेकै बेला शोभालाई पनि गायिकाको रुपमा प्रतिभापरीक्षण गर्ने हुटहुटी चल्यो । त्यही हुटहुटीले उनी लोक सर्जक एकनारायण भण्डारीकोमा पुगेर आफ्नो योजना र सपनाका बारेमा बताइन् । DSC_0065

नभन्दै उनले एकनारायणकै शब्द र संगीतमा तीज गीतको पहिलो एल्वम निकालिन् शीरैमा शीरफूल । १० वर्ष अघि निकालेको शोभाको पहिलो एल्वम नै अपेक्षाभन्दा बढी लोकप्रिय बन्यो । उनी सम्झन्छिन्–त्यतिखेर क्यासेटको जमाना थियो । एउटा क्यासेट विक्री भए वापत ५ देखि १० रुपैयाँसम्म रोयल्टी पाइन्थ्यो । शीरफूल एल्वमबाट मैले २ लाख रुपैयाँ रोयल्टी पाएँ । त्यो पैसालाई मैले बचत गरिराखें र हरेक वर्ष त्यही पैसाबाट एल्वम निकाल्दै आएँ ।

त्यस यता हरेक वर्ष तीजमा एल्वम निकाल्दै आएकी शोभाको प्रायः सबै गीत हिट मानिदै आएको छ । यसलाई उनी आफ्ना श्रोता र दर्शकले गरेको मायाको प्रतिफल मान्छिन् । त्यही मायाको सम्मानमा उनले यो वर्ष पनि टिकिया हरायो बालेको तीज गीत सार्वजनिक गरिसकेकी छिन् । विगतका गीतले जस्तै शोभाको टिकिया हरायो गीतले पनि श्रोता दर्शकको माया पाइरहेको यूट्युवमा बढ्दो भ्यूअर्सले पुष्टि गरेको छ । DSC_0038झण्डै आधा दशक काम गरेपछि शोभाले इमेज च्यानल छोडिन् । यसबीचमा उनले युकेबाट प्रसारण हुने नेपाली टिभी र अमेरिकाबाट प्रसारण हुने ह्वाइट हिमाल टिभीकालागि लोक गीत संगीत सम्बन्धी कार्यक्रम निर्माण र सञ्चालन गरिन् ।

नेपालभित्र पनि उनका श्रोता र दर्शकले शोभा कता गइन् किन हराइन् भन्ने सोधीखोजी गर्न थाले । दर्शक र श्रोताको अपार मायालाई सम्मान गर्दै शोभा फेरि स्वदेशी दर्शकहरु माझ फर्किइन् नेपाल टेलिभिजन मार्फत । नेपाल टेलिभिजनमा उनले झण्डै तीन वर्ष कार्यक्रम सञ्चालन गरिन् । त्यसबाट उनी लोकप्रियताको थप उचाइमा पुगिन् । अर्थात् अब उनी साँच्चिकै लोककी शोभाका रुपमा परिचित भइन् । नेपाल टेलिभिजनसँगको सम्झौता सकिएपछि शोभाले त्यहाँबाट पनि विदा लिइन् ।

उनै लोककी शोभा फेरि नेपाली टेलिभिजनका दर्शकहरुबीच फर्किएकी छिन्,अझ थप जिम्मेवारी र परिस्कृत रुपमा । यतिखेर शोभा त्रिपाठी जनता टेलिभिजनसँग आवद्द भएकी छिन्–प्रस्तोता र निर्माताको जिम्मेवारीका साथ । shovaशोभा त्रिपाठी हरेक दिन दिउँसो १ देखि २ बजेसम्म कार्यक्रम लोकमालाका साथ उपस्थित हुनेछिन् । दैनिक एक घण्टाको कार्यक्रममा शोभाले लोक संगीत क्षेत्रका सम्पूर्ण जानकारीका साथमा कलाकारसँगको अन्तवार्ता, दर्शकसँग फोनमा प्रत्यक्ष कुराकानी,सन्देश,साताका उत्कृष्ट गीतहरु लिएर आउनेछिन् । त्यति मात्र होइन हरेक शनिवार लोकमाला अन्तर्गत प्रत्यक्ष लोकदोहोरीको घम्सा घम्सी समेत हेर्न सकिने शोभाले बताइन् ।

DSC_0130झण्डै एक दशकपछि हरेक दिन प्रत्यक्ष रुपमा दर्शकहरु माझ उपस्थित हुँदैछु । त्यसैले निकै उत्साहित भएकी छु । लोकमालाबाट दर्शकहरुको अझ बढी माया पाउँछु भन्नेमा विश्वस्त छु,शोभा भन्छिन् । लोकमाला वाहेक जनता टेलिभिजनका अन्य प्रस्तुतिहरुमा समेत शोभालाई हेर्न सकिन्छ । जनता समाचारको सहयोगमा