घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा

सन्तोष गौतम /विकल्प न्यूज
असोज ८ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा शनिबार देखि जिल्लामै पहिलो स्विमीङ पुल सहितको कालीगण्डकी रिसोट सञ्चालन भएको छ ।

पिप्लेका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा करिब ३० रोपनी जग्गा भाडामा लिएर कालीगण्डकी रिसोर्ट एण्ड एचबिसी स्विमीङ पुल सञ्चालनमा ल्याउनुभएको हो । IMG_8474पहिलो चरणमा रेष्टुरेन्टको सेवा सुरु गरेको रिसोर्टले छिट्टै लज र स्विमीङ पुल पनी सञ्चालन गर्ने तयारी गरेको हो । पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुललगायत पूर्वाधार निर्माणको कार्य भइरहेकोे छ । हालसम्म रिसोर्ट निर्माणका लागि रु ८० लाख भन्दा बढी लगानी भइसकेको छ भने पूर्वाधार निर्माणले पूर्णता पाउँदासम्म रु साढे एक करोड लगानी पुग्ने चन्दले बताउनुभयो ।

‘‘मैले यहाँ सञ्चालनमा रहेको रेस्टुरेन्ट खरिद गरी त्यसमा थप सेवा सुविधा उपलब्ध गराउनका लागि रिसोर्ट सञ्चालन गरेकोे छु,’’–उहाँले भन्नुभयो ।

‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्यसहित रिसोर्ट सञ्चालन गर्न लागेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, लगायतसँगै स्थानीय उत्पादनको स्वाद चखाउने बताउनुभयो । शुरु शुरुमा हरेक महिना एक दिनदोहोरी साँझसमेत राख्ने उहाँले जानकारी दिनुभयो ।IMG_8452बेनी–जोमसोम आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्दसमेत लिनसक्ने व्यवस्था गरिनेछ । पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ कुखुरा, हाँस र माछापालन व्यवसायलाईसमेत सँगसँगै अगाडि बढाएको चन्दले बताउनुभयो ।
माछापालनका लागि तीनवटा पोखरी निर्माण गरिएका छन् । अहिले १२ हजार भुराबाट माछापालन व्यवसाय शुरु गरेका छौं, उहाँले भन्नुभयो – कमनकार्प, ग्रासकार्प र सिल्भर कार्प जातका माछापालन शुरु गरेका छौं । यसका लागि थप ४० हजार माछाको भुरा मगाएको पनि उहाँले जानकारी दिनुभयो ।

यसका साथै चन्दले अहिले दुईसय कुखुरा पाल्नुभएको छ भने ३०० हाँस पाल्ने योजनासहित आकर्षक खोरसमेत निर्माण गर्नुभएको छ । चार वर्षसम्म कोरियामा बसेर फर्किएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने अठोटका साथ रिसोर्ट सञ्चालन गर्न लाग्नुभएका उहाँले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सीपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने योजना रहेको बताउनुभयो ।IMG_8455‘‘४० देखि ५० जनासम्म न्यूनतम रुपमा बास बस्नसक्ने गरी रिसोर्टको क्षमता विस्तार गर्दैछु, मिटिङ हल र पार्टी प्यालेससहितका सुविधा यहीबाटै प्रदान गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ’’– चन्दले भन्नुभयो ।

जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताउनु भएका चन्दले विदेशबाट आर्जन गरेको स्रोत, साधन र सीपलाई आफ्नै ठाउँमा रोजगारमूलक क्षेत्रमा लगानी गर्ने योजनाअुनसार रिसोर्ट सञ्चालन गर्न लाग्नुभएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतार, मलेसिया, कोरियालगायतका मुलुकमा युवा अवस्थाको ऊर्जाशील समय खर्चिएका चन्दले आफ्नो रिसोर्टमा १० जनाभन्दा बढीले रोजगारी पाउने जानकारी दिनुभयो ।