म्याग्दीका नवीन खत्रीको यसरी झिकियो शिक्षण अस्पतालबाटै मिर्गौला

काठमाण्डौं ।
भदौ ३१ गते ।

Teaching-Hospital-TUत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ ।

मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले छानबिन गरिरहेको छ ।

२० पुस २०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला झिकेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । कागजी प्रक्रिया पूरा गर्न दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएका थिए ।

मिर्गौला निकाल्न नदिए मार्छु भन्ने धम्की आयो ः नविन खत्री

Pidit-Nabin-320x264पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जीसीले एउटा स्याउ मिर्गौला दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए ।

म पोखरामा घर बनाउने काम गर्थेँ । सोही क्रममा नारायण जिसी भन्ने व्यक्ति सम्पर्कमा आउनुभयो । उहाँले ‘तपाईंको शरीरमा एउटा स्याउ छ, मलाई दिनुस्, म १० लाख, ऋणमा एउटा गाडी र जागिर दिन्छु’ भन्नुभयो । मलाई स्याउ भनेको थाहा भएन । मिर्गौला होला भन्ने पनि सोचिनँ । स्याउ दिँदा यति ठूलो रकम पाउने भएपछि दिउँ न त भन्ने लाग्यो । जिसीले मलाई काठमाडौं ल्याएर भक्तपुरका प्रकाश बस्नेतलाई जिम्मा लगाए । उनले मलाई काठमाडौंकै शम्भुलाल श्रेष्ठसँग भेट गराए । मैले चार महिना श्रेष्ठकै घरमा बसेर काम गरेँ । समय–समयमा स्वास्थ्य परीक्षण पनि भयो ।

अप्रेसन गर्ने वेला चिकित्सकहरूको बोर्ड बैठक बस्दोरहेछ, त्यसवेला मात्र मैले थाहा पाएँ मेरो मिर्गौला निकालिँदै छ भनेर । यो थाहा पाएपछि भाग्ने सोच बनाएँ । त्यही वेला प्रकाश भन्ने दलालले फोन गरेर मलाई धम्क्यायो । ‘भाग्यो भने मार्छु’ भन्नेसम्मको धम्की आएपछि बोल्न सकिनँ र बाध्य भएर मिर्गौला निकाल्न दिएको हुँ ।

उनीहरुले सुरुमा मलाई एक लाख २५ हजार दिए, अहिले मिडियामा जान्छु भनेपछि पाँच लाख थप दिएका छन् । तर, हामी कानुनी प्रक्रियामा जाने तयारीमा छौैँ । सिआइबीले बाहिर मिल्नुस्, हामीसँग कुनै सम्बन्ध छैन भनेकाले कानुनी रूपमा जान समस्या देखिएको छ । मेरो नागरिकता नै मिल्दैन । हामी फरक–फरक जातका मानिस भएकाले उनीहरूले दाजुभाइ देखाउन मेरो नक्कली नागरिकता बनाएका रहेछन्, तर मैले त्यो नागरिकता देख्न पाएको छैन । नयाँ पत्रिकाबाट