ताजा समाचार:
Search

“सात महिना भित्र घलेम्दीबाट विद्युत उत्पादन गर्दछौं ” ः अध्यक्ष सुवेदी

सन्तोष गौतम/विकल्प न्यूज
नारच्याङ ४ भदौ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ ।

galemdhi 3 घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको आयोजनाको आईतबार बाँध र आउटलेटतर्फबाट खनिएको सुरुङ जोडिएको हो । आउटलेट (फोरवे)तर्फबाट एक हजार र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको घलेम्दी हाईड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले जानकारी दिनुभयो ।
“आयोजनाको मुख्य काम सुरुङ निर्माण भएपछि भौगोलिक रुपमा विकट र सडक नपुगेको क्षेत्रमा रहेको बाँधमा निर्माण सामाग्री ढुवानी गर्न सहज हुन्छ” अध्यक्ष सुवेदीले भन्नुभयो “निर्माण सामाग्रीको ढुवानी सहज, छिटो हुनुका साथै खर्च पनि घट्छ ।”

अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधसम्म सडक नभएकाले पिठ्यु र खच्चरमा बोकाएर सामान ढुवानी गरिदै आएको थियो । विद्युतगृहको छेउसम्म सडक पुगेको छ । रोपवे मार्फत करिब दुई सय मिटर माथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरीएको छ ।galemdhi 2नेपाली सेना र प्रहरीको निगरानीमा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खनिएको हो । दुई तर्फबाट जोडिने टनेलको अन्तिम बिस्फोट अन्नपूर्ण गाउँपालीकाका उपाध्यक्ष केशमाया मगरले गराउनुभएको थियो । वडाका जनप्रतिनिधि, लगानीकर्ता र संस्थापकहरुको उपस्थितीमा सुरुङ निर्माणको काम सकिएकोमा खुसीयाली मनाइएको थियो ।

बाँधतर्फ डाईभर्सन, बालुवा थिग्राउने पोखरी र क्यानल बनाउने काम आधा सकिएको छ । निलगिरी खोलाको बाँया किनारमा विद्युतगृह निर्माणका लागि जग खन्ने काम सकिएको छ । नदी नियन्त्रणका गर्न किनारमा पक्कि पर्खाल बनाइएको छ । वि.स २०७१ देखि सुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म पचहत्तर प्रतिशत पुरा भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

यो आयोजना म्याग्दीका उद्योगी, ब्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको हो । २०७४ चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । ईलेक्ट्रोमेकानीकल उपकरण खरिद भैसकेको कम्पनीले जनाएको छ । स्थानीय बासिन्दाको अपन्त्व र सहयोगले काम गर्न सहज भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो । आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग)को दुरी १७५ मिटर अग्लो छ ।

दैनिक दुई सय जनाको हाराहारीमा जनशक्ति परिचालन भएका कम्पनीका सचिव बिमल रिजालले बताउनुभयो । एक सय जना आयोजना प्रभावीत नारच्याङका बासिन्दाले आयोजनामा रोजगारी पाएका छन् । एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपैया संस्थापक सेयर रहेको आयोजनामा लुम्बीनी र टुरीजम विकास बैङ्कले ५५ करोड रुपैया लगानी गरेका छन् । घराप स्थित तातोपानी साना जलविद्युत आयोजनाको सब स्टेशन मार्फत घलेम्दीको विद्युत केन्द्रिय प्रशारण लाईनमा जडान गर्ने योजना छ ।