पर्यटकको रोजाइमा घोरेपानीको ‘मगर सङ्ग्रहालय’

राम थापा/बागलुङ
मंसिर १४ गते ।
अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकका लागि म्याग्दीको घोरेपानीमा रहेको ‘पुनमगर सङ्ग्रहालय’ ले आकर्षण थपेको छ । त्यहाँका रैथाने पुनमगरहरुको कला, संस्कृति र रीतिरिवाज झल्कने सङ्ग्रहालयले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याएको छ । १५ वर्षअघि स्थापित सङ्ग्रहालयमा सयौँ प्रकारका मगर पहिचान झल्कने वस्तु तथा सामग्री राखिएको छ ।

11215758_1142093679153696_1866612155477603455_n

पुनहिल आमा समूहको पहलमा बनेको सङ्ग्रहालय अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको समूहका अध्यक्ष जुगमाया पुनले बताउनुभयो । सङ्ग्रहालयमा पुनमगरहरुले पुख्र्यौलीदेखि प्रयोग गर्दै आएका भाँडाकुँडा, घरायसी सामान, गरगहना, लत्ताकपडा, हस्तकलाका सामग्रीलगायत राखिएको छ । “हामी पुनमगरहरुको पहिचान र संस्कृति जोगाउन र बाहिरबाट आउने आगन्तुकका लागि आकर्षण थपोस् भनेर सङ्ग्रहालय बनाएका हौँ” – अध्यक्ष पुनले भन्नुभयो ।

नेपालको पश्चिम क्षेत्रमा बस्ने मगर समुदायको पहिचान झल्काउने गरी सङ्ग्रहालय बनाइएको छ । विशेष गरी घोरेपानी क्षेत्रमा पुस्तौँदेखि बस्दै आएका पुनमगरहरुको रीतिरिवाज र परम्परालाई उजागार गर्न सङ्ग्रहालयको अवधारणा ल्याइएको हो ।

सङ्ग्रहालयमा पुनमगरहरुले पहिरने परम्परागत गहनाले विशेष आकर्षण थपेका छन् । लोप भइसकेका गहना र तिनका स्वरुपले त्यहाँ पुग्ने जो कोहीलाई लोभ्याउने गर्छ ।

ठेमारा, रैँया, फूली, जलेसी, बारुली, बुलाकीजस्ता पुराना गहनाले सङ्ग्रहालय सजिएको छ । सङ्ग्रहालयमा विभिन्न देशका सिक्का तथा पैसाका नोट पनि सङ्ग्रहित गरिएको छ । नेपालमा विभिन्न राजा महाराजाका पालामा जारी गरिएका नोटलाई पनि जोगाएर राखिएको छ ।

घोरेपानी घुम्न आउने पर्यटकका लागि थप गन्तव्यका रुपमा सङ्ग्रहालय विकसित भएको स्थानीय पर्यटन व्यवसायी टेकसर बुुद्धुजा पुनमगरले बताउनुभयो । “यहाँ आउने पर्यटक एक पटक सङ्ग्रहालय पुग्ने गर्छन्, हामी पनि पर्यटकलाई त्यहाँ जान अनुरोध गर्छौं, आफैँ पनि लिएर जान्छौँ” पुनले भन्नुभयो । उहाँले पुनमगरको जातीय पहिचान र सांस्कृतिक गरिमा कायम राख्न सङ्ग्रहालयले टेवा पु¥याएको उल्लेख गर्नुभयो ।

महिनौँ लगाएर गाउँघरमा खोजेर÷सङ्कलन गरेर सामग्री सङ्ग्रहित गरिएको उहाँको भनाइ छ । कतिपय वस्तु स्थानीयले निःशुल्क उपलब्ध गराएका थिए भने कतिपय समूहले किनेर राखेको हो । सङ्ग्रहालयलाई मगर जातिको अध्ययन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको समूहले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घोरेपानी पदयात्रा–पर्यटनका लागि देशविदेशमा प्रख्यात छ । वार्षिक ३० हजार बढी पर्यटक घोरेपानी पुग्ने गर्छन् । रमणीय हिमशृङ्खला, सूर्योदय अवलोकन र साहसिक पदयात्राका लागि घोरेपानी–पुनहिल पर्यटकको रोजाइमा पर्ने गर्छ । रासस