न्याय सम्पादनलाई छिटो, छरितो र त्रुटीरहित बनाउनुपर्ने

सन्तोष गौतम/विकल्प
म्याग्दी ११ मंसिर ।
म्याग्दीको बेनीमा शुक्रबार अदालत र अर्धन्यायीक निकायका कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले सहायक कर्मचारीहरुको लागि क्षमत्ता विकास तालीम सुरु भएको छ ।

दुई दिन सम्म सञ्चालन हुने तालीममा म्याग्दी स्थित अदालत, प्रशासन, प्रहरी, वन, मालपोत, सरकारी वकील कार्यालयका करिब २५ जना कर्मचारीहरुको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै पुनरावेदन अदालत बागलुङका न्यायाधिश अग्नीप्रसाद थपलीयाले न्याय सम्पादनको कामलाई छिटो, छरितो, त्रुटीरहित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

DSC04454
ढिलाई र सामान्य त्रुटीले गर्दा सर्वसाधारणले लाखौ आर्थिक हानी र गम्भिर समस्या भोग्नुपर्ने अवस्था आउन नदिन न्यायीक र अर्धन्यायीक निकायका कर्मचारी सचेत रहनुपर्ने न्यायाधिश थपलीयाको भनाई थियो ।

सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले अर्धन्यायीक निकायका कर्मचारीमा ज्ञानको कमी हुँदा कार्यसम्पादनमा समस्या भएको अनुभव सुनाउदै तालीमले सुधार ल्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

जिल्ला न्यायाधिश धु्रबकुमार पियाले काम गर्ने शिलशिलामा देखिएका समस्या पहिचान गरि अनुभव आदानप्रदान र छलफलको माध्यमबाट समाधानको उपाय खोज्ने उद्देश्यले तालमिको आयोजना गरिएको बताउनुभयो ।

युएनडिपी रोलरको सहयोगमा आयोजित तालीमको पुनरावेदन अदालतका न्यायाधिश अग्नीप्रसाद थपलीया, रजिष्टार कुलप्रसाद भण्डारी, जिल्ला अदालतका न्याधिश ध्रुबकुमार पिया र श्रेष्तेदार गोकर्णराज पन्तले सकजिकरण गर्नुहुने जनाइएको छ ।