गण्डकी प्रदेशद्वारा अरूणालाई १ लाख नगद सहित सम्मान

विकल्प न्युज/ बेनी

माघ ३ गते ।

अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा अरुणाले पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी हुन । सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स्वरुप नगद १ लाख प्रदान गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले नगद १ लाखको चेक अरुणालाई प्रदान गरेकी छन ।

सो अवसरमा वोल्दै सामाजिक विकास मन्त्री पुनले अरुणालाई वधाई दिंदै मन्त्रालय प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताइन । उनले भनिन–“कोभिडका कारण मन्त्रालयको ध्यान नागरिककको स्वास्थ्य प्रती केन्द्रित गर्नु परेकोले अन्य काममा त्यती ध्यान पुग्न सकेको छैन तर आर्थिक क्षमताले भ्याए सम्म विकासको कार्यलाई अघि वढाएको छ ।”

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले प्रदेश खेलकुद समितीको गठन पछि त्यसलाई अझै तिव्रता दिने बताईन ।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गर्दै खेलाडीको हितका लागि अगाडी वढ्नुपर्ने बताए ।

उनले पोखरामा हुने नवौं खेलकुदको तयारीका लागि जुट्न आग्रह गर्दै पोखरामा अरुणा जस्ता खेलाडी उत्पादन गर्ने विद्यालयको योगदानलाई विर्सन नहुने बताए ।

यसै गरि अरुणा शाही जिताउ अभियान अन्तर्गत वचत रकम समेत अरुणालाई हस्तान्तरण गरिएको छ । अभियान अन्तर्गत वचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्सहान वापत प्राप्त नगद १ लाख सहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो ।

 

अभियान अन्तर्गत संकलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिवल संघका सल्लाहकार एवम पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले अभियान अन्तर्गत भएको भलिवल प्रतियोगितामा टिकट विक्रिबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको जानकारी दिए ।

अभियान अन्तर्गत ई–सेवा भोटिङका लागि १० लाख, भलिवल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य खर्च गरि कूल १३ लाख खर्च गरिएको जानकारी दिंदै सल्लाहकार शर्माले अरुणालाई जिताउन प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन वाँकी रहेको बताए । सल्लाहकार शर्माले अरुणालाई जिताउन देश विदेशबाट सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन ।

कार्यक्रममा अरुणाले पल्सर स्पोर्टस अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्दै यो जितले आफूलाई अझै जिम्मेवारी वोध गरेको बताइन । उनले यो जित आफ्नो मात्रै नभई सवै भलिवल खेलप्रेमीहरुको भएको बताउँदै पोखरेलीहरुको मायाँ र प्रेरणाका कारण आफू विभागिय टिममा पटक–पटक बोलाउँदा समेत नगएको बताइन ।