‘उदयमान नेतृत्व’ तर कमजोर प्रस्तुती !

विकल्प डेस्क /बेनी

२०७७ असोज ५ गते ।

तथ्य १.गत असार २६ गते म्याग्दीमा भिषण पहिरो गयो । बाढी र पहिरोका कारण ठूलो मानविय क्षति भयो । संघीय सरकार वा प्रदेश सरकारकारका प्रतिनिधिहरु पीडितहरुलाई साहनुभूति दिन तत्काल घटनास्थलमा पुगेनन् ।
तथ्य २. जलविद्युत विकासमा ठूलो महत्व राख्ने राहुघाट जलविद्युत आयोजना निर्माणमा ढिलाई ।
तथ्य ३. राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी खण्डमा ठेकेदारको चरम लापरबाही जसका कारण सडक निर्माणमा ढिलाई ।
तथ्य ४. जिल्लाको पश्चिम भेगका धेरै वस्तीलाई जोड्ने बेनी–दरवाङ सडक स्तरउन्नती योजना अहिले अलपत्र जस्तै छ ।
तथ्य ५. ग्रामिण सडकहरुको अवस्था बेहाल छ । सडकहरु स्तरउन्नती हुनसकेका छैनन् ।
तथ्य ६ . वर्षौ देखि जिल्लावासीले भोग्दै आएको विद्युत समस्या ।

म्याग्दीले केन्द्रिय राजनीति र सत्तामा विस्तारै पहुँच वृद्धि गर्दै जान थालेको छ । जिल्लाका नेताहरुले केन्द्रिय राजनीतिमा पहुँच बढाउँदै जान थालेका छन् । सत्तामा पनि जिल्लाको पहुँच विस्तार हुनथालेको छ । सत्तारुढ नेकपा र नेपाली काँग्रेसका नेताहरुले केन्द्रिय राजनीतिमा आफ्नो उपस्थिति बढाउन थालेका छन् । केन्द्रिय राजनीतिमा नेकपाका केही नेताहरु उदाउन थालेका छन् ।

पूर्व मन्त्री थममाया थापा र भुपेन्द्रबहादुर थापा केन्द्रिय राजनीतिमा उदाउँदा नेता हुन । यसैगरी सामाजिक विकास मन्त्री नरदेवी पुन पनि केन्द्रिय राजनीतिमा बलियो संभावनायुक्त नेतृ हुनुहुन्छ ।

केन्द्रिय राजनीतिमा उदयमान नेतृत्व भएपनि सोझा र कर्मचारीतन्त्रमा पहुँच नभएका कारण अपेक्षा गरेअनुसार लाभ लिन नसकेको जिल्लावासीहरुको बुझाई छ । पच्चायतकालमा भिमप्रसाद गौचनले केन्द्रिय राजनीतिमा हस्तक्षेपकारी पहुँच र सम्बन्धका कारण म्याग्दीमा विकास योजनाहरु भित्राएको भनाई छ । अहिलेका नेताहरुमा हस्तक्षेपकारी भूमिका निर्वाह र शक्तिशाली नेताहरुसँग निकट सम्बन्ध जोड्न नसकेका कारण जिल्लामा बजेट आउननसकेको बुझाई छ । लोकतन्त्र पछि जिल्लाबाट निर्वाचित भएका जनप्रतिनिधिहरु प्रयाजसोको भूमिका एउटै देखिएको छ ।

माथि बुँदामा प्रस्तुत भएका केही तथ्यहरु केन्द्रिय राजनीति र सत्तामा म्याग्दीको कमजोर पहुँचका कारण विकास निर्माणमा परेको प्रत्यक्ष प्रभाव हो । विपत्तीमा समेत यहाँका जनप्रतिनिधिहरुले सत्तामा पहुँच पु¥याएन सकेनन् ।

गत असार २६ गतेको भिषण पहिरोमा परेर धबलागिरि गाउँपालिका ६ मराङ र मालिकाको ७ बिममा ठूलो मानविय क्षति भयो । पहिरोमा परेर घाइते भएकाहरुको सरकारी तवरबाट तत्काल उद्धार र राहत उपलब्ध हुनसकेन । अन्य जिल्लाको बाढीपहिरो स्थलमा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा राहत लिएर घटनास्थलमा पुग्नुभयो तर म्याग्दीमा ठूलो विपद् निम्तिदा पनि गृहमन्त्री थापाको प्राथमिकतामा जिल्ला परेन । कारण के हो ? म्याग्दीवासीको प्रश्न छ । हाम्रा नेता कमजोर भएर हो वा अन्य कारण !

लोकतन्त्र प्राप्तीपछि राजनीति र सत्तामा जिल्लाको पहुँच वृद्धि भएको छ । तर अपेक्षा गरे अनुरुप विकास निर्माणले गति लिन सकेको छैन । जिल्लामा भित्रिएका विकास आयोजनाहरुको निर्माणको गतिलाई हेर्दा केन्द्रिय राजनीति र सत्तामा पहुँच भएपनि जनप्रतिनिधिको कमजोर भूमिका प्रष्ट सँग देखिन्छ ।

छिमेकी जिल्ला पर्वतको विकासको लहर म्याग्दीवासीहरुले टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता कहिले सम्म ? जिल्लावासीको प्रश्न जनप्रतिनिधिलाई तेर्सीएको छ ।
वर्तमान प्रधानमन्त्री केपी ओलीले तिन सदस्यीय मन्त्रिपरिषद गठन गर्दा तत्कालिन नेकपा एमालेको पोलिट व्युरो सदस्य थममाया थापा क्याविनेट मन्त्रीमा चयन हुनुभयो । तिन सदस्य मन्त्रिमण्डमा पर्नुभएकी थापा पार्टीमा शक्तिशाली महिला नेतृ हुनुहुन्थ्यो । नेकपाको बलियो सरकारको क्याविनेट मन्त्रीमा प्रतिनिधित्व हुँदा जिल्लामा खुसियाली छाएको थियो । जिल्लामा विकासको लहर आउने अपेक्षा धेरैले गरेका थिए । तर अपेक्षा गरेअनुरुप थापाको कार्यकालमा विकासले गतिलिन सकेनन् ।

थापाको कार्यकालमा जिल्लावासीले गर्व गर्न लायक कुनै पनि काम हुनसकेनन् । २०७६ मंसिर ४ गते उहाँको मन्त्री पद खुस्कियो । राजनीतिमा स्वच्छ छवी भएपनि कार्यक्षमताको अभाव देखाउँदै नेतृ थापाको मन्त्रि पद गुम्यो । पटक पटक थापा पार्टी सक्ती र सत्ताको नजिक रहनुभयो । अहिले पनि थापा नेकपाको केन्द्रिय सदस्यमा हुनुहुन्छ ।

त्यस्तै २०७० सालमा तत्कालिन एमालेबाट समानुपातिक सांसद हुँदै केपी ओलीको नौ महिने कार्यकालमा पशुपंक्षी विकास राज्य मन्त्री बन्न सफल नरदेवी पुन २०७४ को निर्वाचनमा प्रदेश ख बाट प्रदेश सांसदमा जित हासिल गरी अहिले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुहुन्छ । गण्डकी प्रदेशमा नेकपाकै बलियो सरकार छ । राजनीति र सत्तामा सामाजिक विकास मन्त्री पुनको बलियो पहुँच छ । तर मन्त्री भएको साढे दुई वर्ष वितिसक्दा पनि जिल्लाले अपेक्षा गरेअनुसार मन्त्रि पुनबाट लाभ लिन सकेको छैन ।

पार्टी भित्रको गुट र उपगुटमा रमाउन चाहने स्वाभाव भएकी मन्त्रि पुन जिल्ला पार्टीको नीति र योजना अनुसार अघि नबढेको नेकपाको जिल्लास्तरका एक नेताले बताउनुभयो । पार्टीको झण्डा लिएर चुनाव जितेर मन्त्री र सांसद बनेकाहरु गुटको घेराबन्दीमा परेका कारण आशा गरेअनुसारको उपलब्धी हाँसिल नभएको ति नेताको बुझाई छ ।

त्यस्तै नेकपाका केन्द्रिय सदस्य र म्याग्दी इन्चार्ज हुनुभएका भुपेन्द्रबहादुर थापा प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । केन्द्रिय राजनीतिमा थापाको बलियो पहुँच छ । म्याग्दीलाई हिमाली जिल्लाको रुपमा सुचिकृत गर्न भूमिका खेल्नुभएका थापाले पनि साढे दुइवर्षको अवधिमा अन्य कुनै ठोस उपलब्धीमुलक काम गर्न सक्नुभएको छैन ।

नेकपा कै युवा नेता विनोद केसी निर्वाचन क्षेत्र क बाट गण्डकी प्रदेशको सांसद हुनुहुन्छ । यसरी पद र शक्तिका आधारमा चारै जनाले राजनीति र सत्तामा बलियो हस्तक्षेप गर्न सक्ने हैसियत राख्नुहुन्छ । तर निर्वाचित भएको साढे दुइवर्ष वितिसक्दा जिल्लामा अपेक्षित रुपमा विकास निर्माण हुन सकेको छैन । जिल्लामा भित्रिएका विकास योजनाहरु पनि अलपत्र छन् ।

बेनी–जोमसोम कोरोला सडकको म्याग्दी खण्डमा अपेक्षा अनुसार काम हुनसकेको छैन । यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बेगखोलमा पुल नहुँदा बर्षातको समयमा ज्यान जोखिम मोलेर वारपार गर्नुपर्ने कारुणीयक अवस्था छ ।
यस्तै म्याग्दीको जलविद्युत विकासको ढोका खोल्ने भनिएको रहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न हुने समयमा बल्ल सुरु भएको छ । बेनी दरवाङ सडकको अवस्था लाजमर्दो छ । वर्षौ देखि म्याग्दीवासीहरुले विद्युत समस्या भोग्दै आएका छन् ।

पर्वतका मुख्य ग्रामिण सडकहरु कालोपत्रेको चरणमा प्रवेश गरेका छन् भने म्याग्दीका ग्रामिण सडकको अवस्था नाजुक छ ।
बलियो स्थायी सरकार र सत्तरुढ दलका शक्तिसाली नेताहरु भएको जिल्लाले लाभ लिन नसक्नु दुर्भाग्य भएको नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले बताउनुहुन्छ । हाम्रा नेताहरु सोझा र भलादमी पाराका भए श्रेष्ठले भन्नुभयो,‘ देशमा अझै पच्चायतकालिन संस्कार छ । नेताहरुमा हड्डी फोर्ने सक्ने तागत भएन ।

’ म्याग्दीको विकासका लागि अहिलेको जस्तो अवसर अव आउन नसक्ने उहाँको भनाई छ । पार्टी र सत्तामा अहिले बलियो पहुँच छ उहाँले भन्नुभयो, ‘नेताहरुमा इच्छाशक्ति र काम गर्ने जागर हुने हो भने जिल्लालाई कायपलट गर्न सकिने अवसर छ ।’
‘कर्मचारीतन्त्र हावी छ,हाम्रा नेताहरुमा अध्ययनको कमि छ । कर्मचारीले नेताहरुलाई घुमाइदिन्छन् । त्यहि भएर आशा गरेअनुरुपको विकास हुनसकेन ।’ श्रेष्ठले भन्नुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले भर्खर उदयमान नेतृत्व भएकाले केन्द्रिय राजनीति र सत्तामा प्रभाव पार्न नसक्नुले म्याग्दी विकासमा पछाडी परेको बताउनुहुन्छ ।

पर्वत र बागलुङको स्तरमा म्याग्दीमा विकास भित्रिएको छैन । यहाँको तुलनामा त्यहाँ दशौं गुणा बढी बजेट आउँछ शर्माले भन्नुभयो ‘राजनीति र सत्तामा पहुँच भएपनि कर्मचारीतन्त्रमा म्याग्दीको पहुँच नभएका कारण पछाडी परेको हो ।’ बजेट ल्याउन राजनीति पहुँचका साथै कर्मचारी भित्र पनि प्रभाव पार्न सक्ने नेतृत्वको आवश्यकता हुने उहाँको बुझाई छ ।

‘जिल्लाका नेता र जनप्रतिनिधिहरुमा केहि गरौं भन्ने इच्छा शक्ति नभएको भन्ने होइन तर सत्तामा प्रत्यक्ष प्रभाव पार्नसक्ने खालको नेतृत्वको विकास भएको छैन ।’ उहाँले भन्नुभयो ।

आएको बजेटको सदुपयोग हुन नसकेका कारण पनि जिल्ला पछाडी परेको उहाँको बुझाई छ । सत्तालाई प्रभावमा परेर जिल्लामा बजेट ल्याउने उचाईमा हाम्रा नेताहरु पुगेका छैनन् उहाँले भन्नुभयो । ‘नेताहरुमा नगरौं भन्ने छैन तर केन्द्र देखि तलसम्म राम्रो वातावरण बनेको छैन । नेताहरुलाई रचानात्मक सुझाव दिने बौद्धिक जमातको पनि खाँचो छ ।’ उहाँले भन्नुभयो । नवविकल्पमा प्रकाशित