पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँचजनाको ज्यान गयो,संख्या एकसय पुग्यो

साउन ३०,  काठमाण्डाै – 

नेपालमा कोरोना भाइरस सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो ।

जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाण्डौ पठाइएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बिहीबार निधन भएको र शुक्रबार कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक सय पुग्दा ७८ जना पुरुष र २२ जना महिला रहेका छन् ।

अहिलेसम्म प्रदेश नम्बर १ मा नाै जना, प्रदेश नम्बर २ मा ४३ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट ज्यान गएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गएको २४ घण्टामा मात्रै कोरोनाका कारण पाँच जनाको ज्यान गएको छ । मोरङ, धनुषा र सिरहामा १/१ जना र बारामा दुई जनाको ज्यान गएको हो । ujyaaloonline