किसानहरुलाई सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम

सन्तोष गौतम/विकल्प
म्याग्दी ३ मंसिर । म्याग्दीको बेनीमा बिहीबार सुन्तलाजात बगैचा सुदृढीकरण कार्यक्रमको अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ ।

जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बगैचा सुदृढीकरण कार्यक्रमको उपलब्धी, समस्या र यस वर्ष सञ्चालन हुने गतिबिधिहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा म्याग्दीका विभिन्न गाविसका २५ जना कृषकहरुको सहभागिता रहेको थियो ।
जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजिकरण गर्नुहुदै बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले सुन्तला बालीको गुणस्तर वृद्धीका लागि बगैचाको सरसफाई, बिरुवामा पौष्टिक तत्वको आपूर्ती र स्याहार सुसारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

DSC03756 (1)

कार्यक्रममा सहभागि कृषकहरुले बगैचा सुदृढीकरण कार्यक्रम सञ्चालन भएपछि सुन्तलाका बिरुवाको स्याहारसुसार, सरसफाई, मलजल र पौष्टिक तत्वको आपूर्ती गराउने विषयमा सचेत भएको बताएका थिए । उनिहरुले पुराना बोटहरुले उपचारपछि फल दिन थालेको जानकारी गराएका थिए ।

कृषकहरुका अनुसार बगैचा सुदृढीकरण कार्यक्रम प्रभावकारी देखिएपनि यस वर्ष प्रतिकुल मौसम र फल कुहिने रोगले सुन्तला उत्पादन प्रभावित बनेको छ । असिना, हावाहुरी र टिप्ने बेला भएको सुन्तलाको दानामा किरा लागेर पहेलो हुदै झर्न थालेकोमा कृषकहरुलो चिन्ता व्यक्त गरेका छन् । ईन्धन अभावका कारण ढुवानीको साधन नपाएर सुन्तलाको बजारीकरण गर्नका लागि पनि कृषकलाई चुनौती देखिएको छ ।