ताजा समाचार:
Search

सहकारीको लगानी कृषि क्षेत्रमा ः कार्की

प्रताप बानियाँ /विकल्प
म्याग्दी, मंसिर २ । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की ‘बिखर्ची’ले सहकारीले कृषि क्षेत्रमा लगानी वृद्धि गर्न जोड दिनुपर्ने बताएका छन् । बिहीबार म्याग्दीको बेनी नगरपालिका १३ तातोपानीमा सञ्चालित तातोपानी कृषि सहकारी संस्थाको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले सहकारीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् ।

DSC03842
म्याग्दी कृषिजन्य उत्पादनको सम्भावना बोकेको जिल्ला भएको बताउँदै अध्यक्ष कार्कीले सहकारीमार्फत उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे । जिल्लास्थित सरोकारवाला निकायले कृषि क्षेत्रको विकास तथा विस्तारका लागि ध्यान दिन नसकेको भन्दै उनले कृषि क्षेत्रबाट देशको आर्थिक विकास हुने भएकाले यसमा लगानीको आवश्यकता रहेको बताएका थिए ।
उनले सहकारीहरु राज्यको नीति, नियम र ऐन अनुसार सञ्चालन हुनुपर्ने बताउँदै तीनखम्बे अर्थनीतिलाई अँगाल्नुपर्नेमा जोड दिएका थिए । म्याग्दी जिल्लामा सहमति संस्थामार्फत विभिन्न गाविसमा सहकारी गठन गरी शतप्रतिशत घरधुरी सहकारीमा आबद्धता गाविस घोषणा गरिएपनि जिल्ला सहकारी संघसँग आवश्यक समन्वय नभएकोमा उनले गुनासो गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै जिल्ला लघुउद्यमी समूह संघ डिमेगा म्याग्दीका अध्यक्ष धनबहादुर खातीले कृषि सहकारीले युवा स्वरोजगार, प्याकको कार्यक्रम र कृषि अनुदान लिएर लगानी गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले आयआर्जनका कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर बन्नेतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।
सहकारीले कुल शेयर पुँजी १५ लाख २० हजार, निक्षेप सङ्कलन १८ लाख ९४ हजार ४८२, लगानी २७ लाख ४९ हजार ४९ रुपैयाँ, आम्दानी तीनलाख ६१ हजार ७०४ र खर्च तीनलाख ४१ हजार ४८३ रुपैयाँ रहेको जनाएको छ । साधारणसभामा संस्थाका अध्यक्ष तुलप्रसाद श्रेष्ठले संस्थागत, सचिव मीना क्षत्रीले प्रगति, कोषाध्यक्ष सिर्जना आचार्यले आर्थिक, लेखा समिति सदस्य पार्वती खड्काले लेखा तथा सुपरीवेक्षण र ऋण उपसमिति संयोजक उजेली श्रीसमगरले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

DSC03828
यसैबीच सोही अवसरमा सहकारीमा उत्कृष्ट बचत गरेको भन्दै भविसरा रोका, असल ऋणी मनबहादुर रोकामगर र उत्कृष्ट कारोबारकर्ता माया विकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सदस्य प्रताप बानियाँ, शुभकामना कृषि सहकारी संस्थाका अध्यक्ष केदार पौडेल, सिङ्गा तातोपानी प्रहरीचौकी इन्चार्ज पदम केसी र शेयर सदस्य बिक्रम बुढाथोकीले मन्तव्य राखेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष श्रेष्ठको अध्यक्षता, सचिव क्षत्रीको सञ्चालन र सदस्य लक्ष्मी सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।