ताजा समाचार:
Search

शान्ति समाजको राष्ट्रिय परिषद् बैठकको तयारी पुरा

LOGOसन्तोष गौतम /विकल्प
म्याग्दी ३ मंसिर । मानव अधिकार तथा शान्ति समाजको म्याग्दीमा शुक्रबारदेखि सुरु हुने १८ औ राष्ट्रिय परिषद् बैठकको तयारी पुरा भएको छ ।

समाजको म्याग्दी शाखाको आतिथ्यतामा हुन लागेको बैठकको ब्यवस्थापन, आर्थिक संकलन, प्रचारप्रसार लगायतको तयारी पुरा भएको हो । शुक्रबार अपराहन्न ४ बजे बेनीको जिविस सभाहलमा उद्घाट हुने बैठकको शनिबार गलेश्वर स्थित सत्संग भवनमा बन्दसत्र हुने जनाइएको छ ।

विभिन्न जिल्लाका सहभागिहरु बेनी आउने क्रम सुरु भएको छ । बैठकमा ४० जिल्लाका दुई सय जना प्रतिनिधिहरुको सहभागिता रहने शान्ति समाजका सभापति गंगाधर अधिकारीले बताउनुभयो । बैठकको उद्घाटन कार्यक्रममा मानव अधिकारबादी नेता कृष्ण पहाडी प्रमुख बक्ता रहनुहुने भएको छ ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, एमालेका थममाया थापा, एकिकृत नेकपा माओवादीका प्रवत्ता दिननाथ शर्मा, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक, लोककवी अर्जुन पराजुली लगायतको पनि उद्घाटन कार्यक्रममा सहभागिता रहने म्याग्दी शाखाका उपसभापति ठाकुरप्रसाद शर्माले बताउनुभयो ।

बैठकले संस्थाको प्रगति र आर्थिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी वर्षको कार्ययोजना तयार गर्नेछ । अहिंसा, राष्ट्रिय स्वाभिमान एकता, सद्भाव र आत्मसम्मान, नयाँ संबिधानको उपलब्ध, राहत अभियान, राष्ट्रिय स्वमसेवक परिचालन, नाकाबन्दी मानवता विरुद्धको अपराधको रुपमा अभियान चलाउने प्रस्तावका साथै र जीवनको अधिकारप्रति संवेदनशिल बन्न आग्रह गर्ने जनाइएको छ ।

बैठकको अवसरमा शुक्रबार बिहान बेनी सामुदायीक उच्च मावि र प्रकाश उच्च माविमा ‘शान्ति हाम्रो अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । यसैगरी शनिबार बिहान गलेश्वरमा शान्ति पदयात्रा गर्ने कार्यक्रम छ ।