संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली

पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताए ।
संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको अर्थ लाग्ने हुँदा त्यसो गर्न नहुने उनको तर्क थियो । ‘संविधान बनेपछि छ, सोही बमोजिम मुलुक अघि बढ्छ,’ उनले भने, ‘अनि किन चाहियो, संविधान सभा ?’ संविधान लेखेको एक वर्षभित्र सबै काम टुंगिने उनले बताए । ‘सीमाङ्कन गरेर जाऊँ भन्नेहरुले नै अवरोध गर्नाले अहिल्यै काम पूरा गर्न नसकिएको हो । त्यो काम अब आयोगले गर्छ,’ उनले भने ।

पहिला संविधान लेखनमै अवरोध गरेकाले माओवादीको विरोध गर्नुपरेको तर, अहिले संविधान लेखनमा सहयोग भएकाले विरोध गर्नुनपरेको पनि ओलीले बताए । तर अरुहरुले जातीय र साम्प्रदायिक कुरा गरेर राष्ट्रिय एकता हुन नदिने काम गरेको उनको आरोप थियो । ‘सञ्चो नभएका केही मान्छेहरुले जातीय कुरा गरेको अब जनताले बुझिसकेका छन्,’ उनले भने, ‘जातीय लडाइँ झगडा गराएर नेपाललाई रुवान्डा बन्न दिनुहुन्न ।’

– See more at: http://nagariknews.com/main-story/story/42171.html#sthash.1I9oUGjQ.dpuf