म्याग्दीमा टिमुर उत्पादन घट्यो, बजारमा माग बढ्यो

सन्तोष गौतम /विकल्प
म्याग्दी ३ मंसिर । म्याग्दी जिल्लामा यस वर्ष मसलेदार फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटेपनि टिमुरले बजार र मूल्य भने राम्रो पाएको छ ।

टिमुरको बोटमा फुल खेल्ने फागुन–चैतको याममा असिना परेकाले कम फल लागेको हो । असिनाले टिमुरको फुल झारेकाले उत्पादनमा ७५ प्रतिशतले कमी आएको जिल्ला वन कार्यालयले जनाएको छ ।

timur2विगतका वर्षमा चार सय केजी टिमुर उत्पादन हुने ठाउँमा यसपाली मुस्कीलले एक सय किलो संकलन भएको टिमुरका अनुसन्धानकर्ता समेत रहनुभएका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो ।

timmur1म्याग्दीको बेनी नगरपालीका ९ र १० वडामा पर्ने नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, तोरीपानीका साथै भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी गाविसको १३.६१ हेक्टरमा टिमुर खेती भएको छ ।

मौसम अनुकुल भएको र असिना नपरेको अवस्थामा जिल्लाभर वार्षिक दुई हजार ६३ किलोग्राम टिमुर उत्पादन हुने सहायक वन अधिकृत सापकोटाले बताउनुभयो । कात्तिक–मंसिर महिना टिमुर टिप्ने उपयुक्त समय हो । पकेट क्षेत्रका कृषकहरु काँधाधारी बोटमा फलेको टिमुर संकलन गर्न व्यस्त छन् ।

म्याग्दीमा सबैभन्दा धेरै टिमुर उत्पादन हुने बेनी नगरपालीका १० तोरीपानीका कृषक सागर बानियाले उत्पादन घटेकाले बिस किलो फल लाग्ने बोटबाट यसवर्ष पाँच किलोमात्रै संकलन भएको बताउनुभयो ।Timmur 1उहाँका अनुसार उत्पादन घटेपनि टिमुर किन्नका लागि मुस्ताङ र बेनीका ब्यापारी गाउँमै पुगेर खोसाखोस गरेका छन् । पहिले रु छ सय प्रतिपाथीका दरले बिक्री हुने टिमुरको मूल्य अहिले रु. एक हजार दुई सय पुगेको छ । उत्पादन घटेकाले बजारको माग धान्न नसकेको कृषक बानियाले बताउनुभयो ।

तोरीपानीमा वार्षिक एक हजार पाँच सय किलोग्राम सम्म टिमुर उत्पादन हुन्छ । तोरीपानीका एक सय घरधुरीले टिमुरको खेती गरेका छन् । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरलाई न्यानोका साथै तरकारी, दाल र अचारमा मसला तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ ।

गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि ब्यवसायीक खेती विस्तार भैरहेको छ । टिमुरको रुखमा तिखा काँडा हुने भएकाले फल संकलन गर्न निकै दुख हुन्छ । म्याग्दीमा रागे, बोके, तिते र लहरे जातको टिमुर खेती हुने गरेको छ ।

समुद्रि सतहबाट एक हजार पाँच सय देखि दुई हजार पाँच सय मिटरको उचाईमा टिमुर खेती हुन्छ । टिमुर खेतीको विस्तार र बजार प्रर्वद्धन गर्न म्याग्दी उद्योग वाणिज्य संघले ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दीमा उत्पादन भएको टिमुर स्थानीय बजार, पोखरा, काठमाडौ, चितवनका ठूला होटलका साथै जापान र जर्मनमा निकासी हुने गरेको छ ।