म्याग्दीका किसानले उत्पादन गरेको मह जापान पुग्यो

प्रताप बानियाँ/विकल्प
म्याग्दी, मंसिर २ । व्यावसायिक मौरीपालनको सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा मात्रै साढे २२ हजार केजी मह उत्पादन भएको छ । गएको आर्थिक वर्ष २०७१÷७२ मा अघिल्लो वर्षको तुलनामा १९ सय ५० केजी वृद्धि भई कुल २२ हजार ५५० केजी मह उत्पादन भएको हो ।
जिल्लाको विभिन्न गाविसमा मौरीपालक कृषकहरुले शुरु गरेको मौरीपालन व्यवसायबाट मह उत्पादन गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाभर सञ्चालनमा रहेका ४५ सय १० ओटा घारहरुबाट सो परिमाणमा मह उत्पादन भएको कृषि कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

DSC04973 (1)
उहाँका अनुसार कार्यालयबाट कृषकहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बिउ पुँजीलगायत सेवासुविधाको सहयोग भएपछि वर्षेनी मौरीपालक कृषक र मह उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७०÷७१ मा ४१ सय २० घारबाट २० हजार ६०० केजी मह मात्रै उत्पादन भएको थियो ।

जिल्लाको पुलाचौर, घतान, पात्लेखेत, कुहुँ, ज्यामरुककोट, भूरुङ–तातोपानीलगायतका गाविसहरु मौरीपालनको पकेट क्षेत्र मानिन्छन् । यीमध्ये पुलाचौरको डडुवा, कुहुँ र ज्यामरुककोट क्षेत्रलाई मौरी स्रोतकेन्द्रको रुपमा विकास गरिएको छ ।
म्याग्दी जिल्लामा उत्पादन गरिएको मह विदेशको जापान, कतार, साउदी, बहराईनजस्ता मुलुकहरुमा पुग्ने गरेको किसानहरुले बताएका छन् । विदेशका ती देशहरुमा प्रवासी म्याग्देलीहरुले मह पु¥याउने गरेका छन् । जापानी पर्यटकले समेत नेपाल भ्रमणमा आएको समयमा मह किनेर लैजाने गरेको बेनी नगरपालिका १२ डडुवाकी मौरीपालक कृषक रामकुमारी खत्रीले जानकारी दिनुभएको छ ।
विगत २ दशक भन्दाबढी समयदेखि व्यावसायिक मौरीपालन शुरु गर्नुभएकी खत्रीले आफ्नो र आफन्तकोमा गरी झण्डै ७० ओटा घारमा मौरीपालन गरेको बताउनुभएको छ । प्रति घारबाट करिब ८ केजीसम्म मह उत्पादन हुँदै आएको र प्रतिकेजी महको १ हजार रुपैयाँ मुल्य पर्ने गरेको कृषक खत्रीको भनाई छ ।

मह, घार, मौरीपोला र मौरीसँगै घार बिक्री गरेर उहाँले वार्षिक झण्डै ३ लाख रुपैयाँसम्म मौरीपालन व्यवसायबाटै आम्दानी गर्दै आएको अनुभव सुनाउनुभयो ।
पछिल्लो समय मौरीपालनको सम्भावना बोकेका गाविसका किसानहरु व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । उनीहरुले कठ्यौरी र आधुनिक घारमा मौरी पाल्दै आएका छन् । महलाई औषधी र पुजाआजामा प्रसादको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।