ताजा समाचार:
Search

दसैंमा ४ चलचित्र, कसलाई पर्न सक्छ कति मर्का ?

जेठ १ गतेबाट सरेर कात्तिक ३ गते प्रदर्शन मिति तोक्दा चलचित्र ‘चंखे शंखे पंखे’ सोलो रिलिजमा थियो । करोड भन्दा बढी बजेट लगाएर नयाँ निर्माता सन्तोष सेनले बनाएको यो चलचित्रका लागि सोलो रिलिजले राम्रै फाइदा दिने पक्का थियो । सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा सुदर्शनकै साथमा सुवास थापा, प्रेम पुरी र पूजा शर्मा मुख्य भूमिकामा छन् ।

तर, आजका मितिसम्म आइपुग्दा यो चलचित्रसँगै अन्य ३ चलचित्र पनि आउने पक्का भैसकेको छ । यदि, दसैंमा भनिए अनुसार नै ४ चलचित्र आएको खण्डमा करोड बजेटको चलचित्रलाई अप्ठ्यारो पर्ने पक्का छ ।
यही मितिमा नेपालकै चर्चित वितरक कम्पनी एफडीका अध्यक्ष प्रदिप उदयले बनाएको चलचित्र ‘अधकट्टी’ प्रदर्शनमा आउने पक्का भैसकेको छ । कमेडी जनराको ‘अधकट्टी’ र राष्ट्रियता र कमेडीको भाव बोकेको ‘चंखे शंखे पंखे’को भिडन्तलाई सामान्य रुपमा हेरिएको थियो ।

तर, रोचक कुरा अब यही मितिमा नेपालको चर्चित ब्यानर गोपिकृष्ण मुभिजले बनाएको चलचित्र ‘ठमेल डट कम’ पनि प्रदर्शनमा आउने भएको छ । यो चलचित्र प्रदर्शनमा आउँदा करोड बजेटको चलचित्रलाई असर पर्ने देखिन्छ । कारण, ‘अधकट्टी’ले एफडी वितरणका धेरै हल र ‘ठमेल डट कम’ले गोपिकृष्ण च्यानलका देशभरका थुप्रै हल पकड्नेछ ।

यही मितिमा ‘परदेशी’ नामक चलचित्र पनि आउने चर्चा छ । कात्तिक ३ बाट काठमाण्डौ बाहिर र कात्तिक ६ गते काठमाण्डौ भित्र मिति तोकेका यी ४ चलचित्र एकसाथ प्रदर्शनमा आएको खण्डमा महंगा बजेटका चलचित्र मारमा पर्नेछन् । ४ वटा चलचित्रलाई धान्न सक्ने हल नेपालमा छैनन् ।

– See more at: http://www.onlinekhabar.com/2015/07/301994/#sthash.fCcg3BhS.dpuf