मगरभाषा मासिँदा समेत छन्त्यालभाषा कसरी जिवित रहन सकेकोे होला!?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
म्याग्दी,साउन १९ गते ।
chandraचौबीसी राज्य पर्वतको चौहद्दी अन्तर्गत पनि, खासगरेर, म्याग्दीको सेरोफेरोमा अवस्थित अधिकांश लेकाली गाउँबस्तीहरुको नामसँग कि “वाङ” जोडिएको हुन्छ कि “खानी” जोडिएको देखिन्छ । छन्त्याल जातिको बसोबास रहेका घरगाउँहरुका नामसँग “खानी” जोडिनु स्वाभाविक हो । छन्त्यालहरु जातिगत हिसाबले नै त्यतिबेलाको जमानामा खानी मजदुर र इञ्जिनियर दुबै थिए । भौगोलिक वनावटका हिसाबले म्याग्दी जिल्ला आफै दुर्गम छ । त्यसमाथि छन्त्यालका बस्तीहरु अति दुर्गममा बसेका देखिन्छन ।

मल्लकालीन पर्र्वत राज्यसिमाभित्र २२ खानी सञ्चालनमा रहेको इतिहास प्रमाण फेला पर्छ । यातायातको सुगम व्यवस्था नभएको त्यो जमानामा स्वभावतः खनकहरुले खानी वरपर बस्ती बसाले होलान् । खानी बन्द भैसके पनि बस्ती बाँकी रहे होलान र ती बस्तीहरु खानीकै नामले चिनिएका होलान ।

सबै छन्त्याल बस्तीहरु विभिन्न खानीका नामले चिनिन्छन् अर्थात छन्त्याल बस्तीसँग अनिवार्य रुपमा खानी जोडिएर आउँछ । म्याग्दीमा एउटा त्यस्तो गाउँ पनि छ जहाँ खानी खनिएको अवशेषको रुपमा सुरुङ छ तर गाउँकोे नामसँग खानी जोडिएको पनि छैन र त्यो गाउँमा छन्त्यालवस्ती पनि छैन । एक दुई घरहरु रहेका भए पनि गाउँलाई छन्त्याल बस्ती भन्न मिल्दैन ।

त्यस्तो एकमात्र गाउँ हो– ताकमको “धारापानी” । बाजिकाको उकालो छिचोलेर अलिकता तेर्पाएँ बाटो हिँडेपछि गाउँछिर्नु पूर्व अर्थात गाउँको मुखमै एउटा पानिको धारा र ससानो पोखरी छ । त्यो पानीको मुहानमा खानी खन्नका लागि बनाइएको सुरुङको मुख छ । पानीको मूलदेखि माथितिर धारे परेर चट्टानिलो पहाड ठडिएको छ । अनुमान के गर्न सकिन्छ भने धारापानीको बस्ती बस्नुपूर्व त्यो ठाउँमा खानी खनिएको हुनुपर्छ । त्यसैले त्यो ठाउँको नाम “धाराखानी” भनिन्थ्यो होला । खानीबाट पानीको श्रोत निस्केपछि खानीलाई पानीले विस्थापित गरिदियो होला । त्यसरी खानी नजिकको गाउँसँग “खानी” जोडिने परम्पराको अपवाद “धारापानी” बनेको होला ।
लिच्छवी कालमा “मंग्वर विषय” अर्थात मगर जिल्लाको नाम पाएको भूभाग अन्तर्गत बाईसी चौबीसी राज्यकालमा पर्वत राज्य स्थापना भएको थियो । समालवंशी मल्लहरुको राज्य स्थापना हुनुभन्दा अगाडि भेरीपूर्व र त्रिशुलीपश्चिमको इलाकालाई “मगरात” भनेर चिनिन्थ्यो । मंग्वर विषय होस् वा मगरात त्यसले मगरजातिको बसोबास रहेको इलाका भन्ने अर्थबोध गराउँछ ।

मगरात नाम पाएको भूखण्डमा इतिहासको कुनै कालखण्डमा पनि एउटै मगर राज्य कायम भएको इतिहासप्रमाण फेला पर्दैन तापनि अहिलेसम्म पनि यो भूखण्ड मगरबाहुल इलाकाको रुपमै परिचित छ । त्यही कारणले हुनुपर्छ यस क्षेत्रमा पर्ने नदी, नाला, पर्वत, बस्तीहरुका नामाकरण मगरभाषमै भएको देखिन्छ । भाषाको हिसाबले लुम्विनी पनि मगरभाषाबाट बनेको नाम होला भनेर अनुमान गर्न सकिन्छ । मगर भाषा “मागधी”को भाषिका हो भनेर भाषाशास्त्रीहरुले मानेका छन् र मागधीमा लुङ भनेको बस्ती र वेनी भनेको संगम अर्थात “बस्तीहरुको संगम” भन्ने अर्थमा लुम्विनी नामाकरण भएको हो भनेर अनुमान गरिन्छ ।

समथर जग्गालाई मगरभाषामा “बाङ” भनिन्छ । म्याग्दीका प्रस्तावित गाउँपालिकाहरुकोे सदरमुकाम मध्येको एउटा ताकमको पनि पुरानो नाम सिवाङ, खिवाङजस्तै “तावाङ” थियो होला । तावाङकै परिवर्तित रुप तामक हुनसक्ने सम्भावनालाई इन्कार गर्न मिल्दैन । पहिले खेतबारीका सम्म परेका फाँटलाई “वाङ” भनियो र पछि तिनै फाँटहरुमा बस्ती बसेपछि गाउँको नाम नै सिवाङ, दरवाङ, नाङलीवाङ आदि हुन गएको हो । मगर भाषामा पानीको ठूलो सोतो, खोला वा नदीलाई “दी” भनिन्छ । पर्वतराज्यले ओगटेको सेरोफेरोमा लुङदी, लस्दी, म्येग्दी, दुरदी, मुदी, निरस्दी, मिरस्दी आदि अनेक नदी खोल्सी खोलाहरुको नामसँग दी जोडिएको देखिन्छ ।

काली गण्डकीको नाम पनि पर्वतराज्यकालसम्म “चिकचौदी” प्रचलित थियो भन्ने प्रमाण पाइन्छ । बाग्लुङको बडीगाड र म्याग्दीको राउगाडहरु अपवादका रुपमा रहेका देखिन्छन अथवा चिकचौदी कालीगण्डकीमा रुपान्तरण भएजस्तै तिनका पुराना मगरभाषाका नामहरु हराएका पनि हुनसक्छन् । यस भेकका गाउँबस्ती, नदीनाला र वनपर्वतका नामहरु मगरभाषासँग सम्वन्धित रहेको देखिनाले यो क्षेत्र पुरानो मगरबस्ती हो र यसक्षेत्रको आदिवासी जाति मगरसमुदाय हो भन्ने कुरा प्रमाणित हुन्छ ।

एउटा आश्चर्य मान्नुपर्ने कुरो के रहेको छ भने यसभेकका प्रायः गाउँबस्ती नदीनालाहरुको नामाकरण गरिएको भाषा यस क्षेत्रबाट पूर्णरुपमा लोप भएको छ । खासगरेर पुरानो पर्वतराज्य सिमाभित्र मगरभाषा बोलिदैन । पूर्वबाट दक्षिण हुँदै म्याग्दीको पश्चिमउत्तरसम्मका जिल्लाहरु स्याङजा, तनहुँ, पाल्पा, नवलपरासी, अर्धाखाँची, गुल्मी, बाग्लुङ, रोल्पा, रुकुम र डोल्पासम्म पनि मगरभाषा प्रचलनमा छ । केवल पर्वत, म्याग्दी र बागलुङको दक्षिणी भेग (जुन पर्वतराज्यमै पथ्र्दथ्यो ) को इलाकामा मात्र मगरभाषा बोलिदैन । यो इलाकामा बाक्लो भन्न मिल्नेगरी मगरबस्तीहरु रहेका छन ।

म्याग्दीको मात्र कुरा गर्ने हो भने त जिल्लाको सम्पूर्ण आवदीमध्ये ४० प्रतिशतभन्दा बढी मगर सुमदायको जनसंख्या रहेको छ । भनिन्छ के भने कुनै राजाले कुनै कालखण्डमा कुनै कारणबस मगरभाषा प्रयोग गर्नमा प्रतिबन्ध लगाएको हुनाले यस क्षेत्रबाट मगर भाषा हराएको हो रे । यो जनश्रुति मात्र हो । कहिले कुन राजाको पालामा के कारणले भाषा प्रतिवन्धमा परको हो भन्ने कुरा कतैबाट खुल्दैन । भाषा लोप हुनुको कारण र समय अज्ञात छ । वि.सं १९४२ को तुले रोहानीको पाखापानी विद्रोह पछि मगरभाषामा प्रतिबन्ध लागेको हो कि भन्ने अनुमानमा पनि विश्वस्त हुन सकिदैन । सानो समुदाय छन्त्यालको भाषा जोगिनु तर अपेक्षाकृत ठूलो मगरसमुदायको भाषा मासिनुमा निश्चयनै ठूलै कारण रहेको हुनुपर्छ भनेर अनुमान गर्न त सकिन्छ तर कुराको तहसम्म पुग्न सकिदैन ।

पछिल्लो घटना अर्थात पाखापानी विद्रोहपछि यति ठुलो इलाकाभित्र बोलिने एउटा जिवित भाषा नामेट हुनेगरी प्रतिबन्ध लाग्यो होला भनेर पत्याउन सकिदैन । त्यस्तो सम्भावनै देखिदैन । किनकि जनस्तरमा बोलिने भाषामा लागेको प्रतिबन्ध कार्यान्वयन गराउनका लागि गतिलो निगरानीको आवश्यकता पर्छ । अर्थात राज्यप्रशासनको निरन्तर आँखा पर्न सक्ने अवस्था हुनुपर्छ । त्यतिबेलाको प्रशासनिक संयन्त्र अहिलेको जस्तो बलियो थिएन । राज्यको पहँुच देशको कुनाकुनासम्म पुग्न सक्ने संरचना नै बनेको थिएन । तिनताका पुरानो पर्वतराज्य पाल्पा गौडा अन्तर्गत पर्दथ्यो । अर्थात राज्यप्रशासन चलाउने गढी गौडाहरुबाट यो क्षेत्र निकै टाढा अवस्थित थियो । त्यसैले तुले रोहानी (पूर्जा) काण्ड हुनुपूर्व नै यस क्षेत्रमा मगरभाषा समाप्त पार्ने सशक्त अभियान चलेको हुनुपर्छ भनेर अुनमान गनुृपर्ने हुन्छ र एउटा सानो सम्भावनाको संकेत मिल्दछ पनि ।

वि.सं. १७७४ मा मलेवम पर्वतको राजगद्दीमा बसेका थिए । आफ्ना सौतेला भाइ भद्रीवम र उनका मित डिल्ली भूलजेल समेतको हत्याको अपराधबोधले मलेवलाई धर्मकर्मतिर अभिप्रेरित गरायो । पापमोचनको लागि प्रायश्चित्त स्वरुप वेनीको दोविल्लामा शिवमन्दिर निर्माण गराए । वि.सं. १७७७ तिर बनेको शिवालयमा नित्य पूजाका अतिरिक्त सालिन्दै श्रीमदभागवत पारायणको समेत व्यवस्था मिलाए ।

दरवारीया पण्डितहरुबाट मलेवम महात्म्य, मल्लादर्श, प्रायश्चित्त प्रदिप जस्ता संस्कृत ग्रन्थहरु लेखाए । उनका दरावरीया पण्डित वीरशाली पन्तले कृष्णचरीत्रको नेपाली अनुवाद गरेका थिए भनिन्छ । त्यसको अर्थ उनी पर्वते भाषाका नामबाट चिनिने खसभाषाको उन्नयनमा पनि लागेको थिए भन्ने प्रमाणित हुन्छ । पर्वतराज्यले विकास गरेको खसभाषाको भाषिका नै भानुभक्तको रामायणमा प्रयोग भएको देखिन्छ । अर्थात खसभाषाले पर्वते र गोर्खा हुदै नेपालीभाषाको वर्तमान रुप ग्रहण गरेको हो ।

सम्भवतः आफ्नो राज्यभित्र मगरवस्तीको बाहुल्यता रहेको र पर्वते भाषाभन्दा व्यवहारमा मगरभाषाकै प्रयोगले प्राथमिकता पाउने अवस्थाको अन्त गर्नुपर्ने आवश्यताबोध भयो होला र मगरभाषा विस्थापनको अभियान सुरु गरियो होला । यसरी आर्थिक र सामरिक रुपमा समृद्ध मानिने तत्कालीन पर्वतराज्यले थालेको पर्वते भाषाको विकास र विस्तारको अभियानको शिकार मगरभाषा भएको हुनुपर्छ भनेर अनुमान गर्न सकिने आधारको संकेत पहिल्याउन सकिन्छ ।

आम बोलीचालीमा ठूलो प्रभाव नपर्ने भएको हुनाले अपेक्षाकृत सानो समदुदायले प्रयोग गर्ने छन्त्याल भाषा राज्यको कोपभाजन नबनेको हुनुपर्छ । लगभग सिंगो राज्यभर बोलिने मगरभाषाको अन्त नगर्दासम्म राजभाषा अर्थात खसभाषाको विकास र विस्तार हुन नसक्ने भएको कारणले मगरभाषाको प्रयोगमा कडाइकासाथ बन्देज लगाइएको हुनुपर्छ भन्ने कुरा पर्वतराज्य सिमा बाहिर भाषा जीवित रहनु तर पर्वतको सिमाभित्रका मगरबस्तीहरुमा भने भाषा लोप हुनुबाट प्रमाणित हुन्छ भन्न सकिन्छ ।