नयाँ शक्तिको औचित्य, आधार र निर्माण प्रक्रिया

डा. बाबुराम भट्टराई   Baburam-Bhattarai

नयाँ शक्तिको औचित्य

हामीले किन नयाँ युगको निम्ति नयाँ शक्तिको कुरा गरिरहेका छौं ? पुरानै शक्तिले किन हुन सकेन र नयाँ किन आवश्यक पर्‍यो ? र नयाँ युगले गर्ने के हो ? भन्ने विषयमा म प्रकाश पार्न चाहन्छु । यसमा दुईवटा कुरा छन् । एउटा त बस्तुगत प्रक्रिया हुन्छ । इतिहासको जुन एउटा गतिको नियम हुन्छ त्यो गतिको नियमले निर्धारित गरेका कतिपय कुरा हुन्छन् त्यसलाई तपाईं-हामीले नजरअन्दाज गर्न मिल्दैन । हामी भौतिकवादी/बस्तुवादी चिन्तन राख्ने मानिसहरुले इतिहासको माग के हो ? बस्तुगत आवश्यकता के हो ? त्यसलाई नै पहिलो प्राथमिकता दिन्छौं । दोस्रो कुरा भनेको चाहिँ आत्मगत पक्ष हो । त्यो बस्तुगत आवश्यकता पूर्ति गर्नको निम्ति आत्मगत रुपमा हाम्रो प्रयत्न के हुनुपर्छ ? हाम्रो चेतना, हाम्रो पहल के हुनुपर्छ ? पुरानोले किन पुगेन र नयाँ किन आवश्यक पर्‍यो ? यी दुईवटा कुरा महत्वपूर्ण हुन्छन् । त्यसैले अहिले हामीले नयाँशक्तिका कुरा गर्दा एउटा बस्तुगत पक्ष र अर्को आत्मगत पक्ष भनेर बुझ्नु आवश्यक छ ।

बस्तुगत पक्षको कुरा गर्दा, अहिले दुई सय वर्ष पहिलेदेखिको – मैले सुगौली-सन्धीलाई बेन्चमार्क बनाइराखेको छु, पृथ्वीनारायण शाहले काठमाडौंलाई कब्जा गरेको दिनबाट गन्दाखेरि त अढाई सय वर्ष हुन्छ – एउटा युगको परिवर्तन हो । किनकि पृथ्वीनारायण शाहको नेतृत्वमा र उनका उत्तराधिकारीहरुले पूर्णतामा पुर्‍याएको नेपाल भनेको सामन्ती, एकात्मक, निरंकुश नेपाल थियो । त्यसले पुराना भुरे-टाकुरे राज्यहरु, कविलायी राज्यहरुलाई एक ठाउँमा मिलाएर सामन्ती, केन्दि्रकृत नेपाल बनाएको हो । त्यसक्रममा हामीले सुगौली-सन्धीमा, अंग्रेजहरुसँगको लडाइँमा हामीले हार्‍यौं, हाम्रो सीमा निर्धारण भयो र दुई सय वर्षदेखि हामी यहाँसम्म आयौं ।

यो पुरानो राज्यसत्ता जसलाई हामीले आन्तरिक रुपमा सामन्तवादी र बाह्य रुपमा अर्धऔपनिवेशिक भन्दै आएका थियौं । त्यसैका विरुद्धमा पहिले लखन थापाको विद्रोह भएको थियो । वि.सं. १९९७ सालमा प्रजापरिषद्को नेतृत्वमा विद्रोह भयो । २००७ सालको नेपाली कांग्रेसको नेतृत्वमा र भर्खरै स्थापना भएको कम्युनिष्ट पार्टीको सहयोगमा एक ढंगको विद्रोह र आशिंक परिवर्तन भयो । त्यसपछिको लामो निरंकुशताको काल र २०४६ सालमा फेरि एउटा पूँजीवादी प्रकारको आंशिक परिर्वतन भयो । त्यो अपूर्ण रहेर २०५२-०६२ सम्मको माओवादी जनयुद्धले देशव्यापी रुपमा सामन्तवादको जरा काटेर पूँजीवादी क्रान्तिलाई पूर्णता दिने प्रयास भयो । त्यसैको जगमा भएको २०६२/०६३ को आन्दोलन र मधेश, थारुवान, जनजाति लगायतका आन्दोलनको जगमा नै त्यो पूरानो सामन्ती राज्यसत्ताको अन्त्य भयो । हामीले संविधानसभाबाट संविधान बनाएर पूँजीवादी गणतन्त्रलाई संस्थागत गर्ने जुन केन्द्रीय माग बनाएका थियौं त्यो केन्द्रीय माग अहिले असोज ३ गते आएर पूरा गर्‍यौं । त्यसैले त्यो एउटा युग पूरा भएकै हो । अब हामी नयाँ पूँजीवादी युगमा विधिवत् रुपमा प्रवेश गर्‍यौं । अब के हुन्छ त ?

एउटाको पुच्छर अर्को जस्तै गरी कांग्रेसको पुच्छर एमाले र एमालेको पुच्छर माओवादी भएर उही पुरानै सत्ताको अंग हुन पुग्यो

पूँजीवादी क्रान्ति अर्थात सामन्तवादको विरुद्ध, पूरानो निरंकुश राजतन्त्रात्मक, एकात्मक जुन राज्यसत्ता थियो त्यसलाई अन्त्य गर्ने, त्यसको विरुद्ध संघर्ष गर्ने एउटा तरिका हुन्छ । त्यो भनेको पूरानो सत्तालाई भत्काउनको निम्ति विद्रोहात्मक ढंगले गतिविधि गर्नको निम्ति बन्ने पार्टीहरुको ढाँचा एउटा प्रकारको हुन्छ । प्रजापरिषद्कै ढाँचा हेर्ने हो भने सुरुमा अलिकति आतंककारी ढंगले भूमिगत गतिविधि गर्ने, राणा शासकहरुलाई मार्ने जस्ता योजनाहरुबाट उनीहरुले सुरु गरेका थिए । पछि नेपाली कांग्रेसले २००७ सालको विद्रोहमा पनि विदेशबाट हतियार ल्याएर राणाशाहीको विरुद्धमा सत्ता कब्जा गर्ने ढंगले काम गरेको थियो । पछि पञ्चायतका विरुद्धमा भएका विभिन्न खालका विद्रोहहरु पनि चाहे कांग्रेसले गरेको होस्, चाहे एमालेले (त्यतिबेलाको माले) गरेको होस्, चाहे साना कम्युनिष्ट घटकहरुले होस्, विद्रोहात्मक ढंगले नै गरिएका हुन् । त्यतिले नपुगेपछि २०५२-२०६२ मा हामीले गरेको महाविद्रोह जसलाई हामीले जनयुद्ध भन्यौं त्यसमार्फत त्यो पुरानो सत्तालाई भत्काउने र जरादेखि उखेल्ने काम हामीले गरेका हौं । त्यसैले त्यसप्रकारको पुरानोलाई भत्काउने ढंगको संगठन र शैली एक प्रकृतिको हुन्छ ।

अब हामी पूँजीवादी क्रान्तिलाई पूर्णता दिएर नयाँ चरणमा जाँदैछौं र हामीले बुझेको मोटामोटी विषय के हो भने पूँजीवाद जो अहिले विश्वमा प्रचलनमा छ त्यसले पनि समस्याको समाधान गर्दैन । पूँजीवाद इतिहासको विकासको निम्ति आवश्यकता त हो, उत्पादक शक्तिको विकासको निम्ति, तर त्यो मात्रै पर्याप्त हुँदैन । पूँजीवादले जुन खालको असमानता र विभेद ल्याउँछ त्यसले गर्दा मुट्ठीभर मान्छे सम्पन्न हुने र बहुसंख्यक मान्छे चाहिँ विपन्न र उत्पीडित हुने परिस्थिति सिर्जना गर्छ । त्यसैले समाजवादको दिशातिर जानु, समाजवाद हुँदै राज्य र वर्गविहिन साम्यवादसम्म जानुको विकल्प रहन्न भन्ने मानव जातिबाट विकसित ऐतिहासिक द्वन्दात्मक भौतिकवादी पद्धतिले हामीलाई सिकाएको कुरा हो ।

यसरी हेर्दा नेपालमा सामन्तवाद, निरंकुशता र एकात्मकताको अन्त्य त गर्‍यौं, पूँजीवादी क्रान्तिलाई मूलरुपमा, राजनीतिक रुपमा पूरा त गर्‍यौं तर अब हामी समाजवादको यात्रामा अगाडि बढ्नुछ र पूँजीवादलाई एक विन्दूसम्म विकास गरेर जुन उपलब्धी प्राप्त छन् त्यसमा टेकेर अगाडि बढ्नुछ । यो नित्तान्त नयाँ प्रकारको कार्यभार हुन्छ । अब हिजोकै राजनीतिक चिन्तनले, हिजोकै विचारले, हिजोकै कार्यदिशाले, हिजोकै संगठनात्मक शैली, हिजोकै नेतृत्व प्रणाली र हिजोकै तपाईं-हाम्रा क्षमताले पुग्दैन । त्यसैले यो नयाँ युगले नयाँ विचार, नयाँ कार्यदिशा, नयाँसंगठनात्मक ढाँचा, नयाँ शैली र नयाँ प्रणालीको माग गर्छ ।

त्यसैले पहिलो कुरा, बस्तुगत रुपमा एउटा युग पूरा भएर नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा हिजोकै विचार, संगठनात्मक शैली र पद्धतिले पुग्दैन । अब हामीले मुख्य रुपमा पहिलो चरणमा उत्पादक शक्तिको विकास गर्दै पूँजीवादी क्रान्तिलाई सापेक्ष पूर्णतामा पुर्‍याउने र दोस्रो चरणमा चाहिँसमाजवादको दिशामा जाने ढंगले जानको निम्ति हिजोको हाम्रा विचार, शैली, संगठनले पुग्दैन । पहिलो बस्तुगत आवश्यकता यो हो । त्यसैले हामीले नयाँ शक्ति भन्नुको पछाडिको पहिलो बस्तुगत कारण यो हो ।

मैले दुई वर्ष पहिले उपाध्यक्षबाट पदत्याग गरेको त्यत्तिकै होइन । केन्द्रीय समितिको त्यो बैठकमा केन्द्रीय सदस्यहरुले मैले पद पाइनँ, अर्कोले खायो मैले पाइनँ भन्ने बहस बाहेक कसैले गरेन । विचार, राजनीति, आदर्श, मूल्य-मान्यता भन्ने कुरा कहिँ पनि देखिएन

दोस्रो आत्मगत कारण हो । हिजोकै शक्तिलाई मिलाएर, त्यसैलाई सुधार गरेर, त्यसैमा नेतृत्व परिवर्तन गरेर, अर्थात तिनै मध्येका विभिन्न समूहलाई एक ठाउँमा ल्याएर पनि त्यो हुन्थ्यो होला भन्ने अर्को प्रश्न आत्मगत पक्षको प्रश्न हो । संगठन या शक्ति निर्माण गर्दाखेरि भएका पुरानै विचारलाई सामान्य सुधार गर्ने र पुरानै पार्टी र संगठनहरुमा सामान्य हेरफेर र सुधार गर्ने, त्यहाँ नेतृत्व परिवर्तन गर्ने अर्थात ती भएका विभिन्न समूहहरुलाई एक ठाउँमा ल्याएर अगाडि लिएर जाने पनि त गर्न सकिन्थ्यो नि भन्ने प्रश्न उठ्न सक्छ ।

आत्मगत रुपमा हामीलाई के लाग्छ भने नयाँ युगको यति ठूलो युगीन कार्यभार पूरा गर्दा त्यसरी हिजोकै खास परिवेशमा बनेका संगठन, बनेको विचार र बनेको नेतृत्व र कार्यशैलीलाई सामान्य जोड-घटाउ र सुधार गरेर मात्रै त्यो शक्तिले यो नयाँ युगको कार्यभार पूरा गर्न सक्दैन । त्यसैले आत्मगत रुपमा पनि हामीले नयाँ ढंगले सोच्नुपर्ने हुन्छ । किनकि हिजोदेखिका शक्ति, नेपालको इतिहासमा पहिलो चरणमा प्रजापरिषद्, त्यसको जगमा अलिकति अगाडि आएको नेपाली कांग्रेस, त्योभन्दा अलि फरक र नयाँ प्रगतिशील चेतना बोकेर आएका वामपन्थी र त्यसको पहिलेको मूल शक्ति माले/एमाले र त्यसभन्दा पनि माथि उठेर त्यसैमा सुधार गरेर नयाँ ढंगले जान्छु भनेर आएका माओवादी शक्ति, यो चारवटा शृङ्खला टेकेर हामीले त्यो युग पूरा गरेका थियौं । यहाँसम्म आइपुग्दा प्रजापरिषद् त इतिहासमा विलिन भइसक्यो ।

कांग्रेस एउटा झारजस्तो हो, त्यसलाई कसैले गोडमेल पनि गर्न पर्दैन आफैं उम्रिराख्छ, चुनावको बेलामा भोट हाल्छ तर त्यसको कुनै विचार, नीति, आदर्श खास बाँकी पनि छैन, त्यस्तो बाँकी रहिराख्छ । तर नयाँ युगको आवश्यकता पूर्ती गर्ने ढंगले त्यो आउने सम्भावना छैन । इतिहासको विडम्बना के हुँदोरहेछ भने पुरानो शक्तिको विनाश हुँदै जान्छ र नयाँ आएको शक्ति पनि गोलचक्कर हुँदै त्यहीँ पुग्दोरहेछ । पछि वामपन्थी कम्युनिष्टहरुको एमालेको रुपमा आएको शक्तिको पनि विस्तारै कांग्रेसीकरण भएर त्यो कांग्रेसकै अलिकति नयाँ रुप भएको अहिले हामी देख्छौं । २०४६ सालपछि आएको एमाले विस्तारै कांग्रेसीकरण भएर गयो । त्यसैको विरुद्धमा माओवादीले विद्रोह गर्‍यो र नयाँ क्रान्तिकारी शक्ति, विकल्प निर्माण गर्छौं भनेर हामी लागेकै हो । केही हदसम्म निर्माण गर्न हामी सफल भएको पनि हो । तर इतिहासको विडम्बना, त्यो माओवादी शक्ति पनि एउटा विन्दूमा पुगिसकेपछि विस्तारै केही चाहिँ टुटफुट भएर जाने र भएको पार्टीको मूलधारको मूल नेतृत्वले रंग बदलेर अन्ततः त्यही पुरानै शक्तिमा गएर मिसिने भयो ।

नेपाली कांग्रेसको अधःपतन जुन ढंगले भयो, पञ्चायत अथवा राजतन्त्रवादी शक्तिहरुसँग मिलेर त्यही विचार लिएर कांग्रेसको आफ्नो जुन स्वरुप, विपी कोइरालाले लिएको प्रजातान्त्रिक समाजवादी विचार थियो त्यो विस्तारै अत्यन्त दक्षिणपन्थी धारमा गएको थियो र पछि एमाले त्यसरी नै कांग्रेसको धारमा गएको थियो, पछिल्लो चोटि माओवादी आन्दोलन जसको अधिकांश हिस्सा हामी छौं त्यो माओवादी आन्दोलनको मूल नेतृत्व पनि घुमीफिरीकन फेरि एमालेकरण भयो । अहिले एमालेको कांग्रेसीकरण र माओवादीको एमालेकरण भएको स्थिति छ ।

एउटाको पुच्छर अर्को जस्तै गरी कांग्रेसको पुच्छर एमाले र एमालेको पुच्छर माओवादी भएर उही पुरानै सत्ताको अंग हुन पुग्यो ।

पछिल्लो चोटि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि त्यसबाट बनेको पहिलो सरकारले नै आगामी दिनमा कस्तो स्थिति बन्छ र के हुन्छ भन्ने झल्को दिन्छ । जसरी २००७ सालको परिवर्तन भयो तर नेतृत्व राणाले गरे, २०४६ सालको परिवर्तन भयो तर राजतन्त्र अन्तरगत नेतृत्व कांग्रेस र एमालेले गरे र अहिलेको जुन परिवर्तन भयो र त्यसको नेतृत्वमा उही पुरानै कमल थापा, केपी शर्मा ओली र विजयकुमार गच्छदार र त्यसमा माओवादी पार्टीबाट क. प्रचण्डसँग रहेको समूह भएर जसरी सहवरण हुन पुग्यो त्यसले २००७ सालदेखिकै पुनरावृत्ति फेरि नयाँ ढंगले भयो । त्यसैले त्यो माओवादी आन्दोलन, जो तपाईं-हामी सबैले रगत-पसिना बगाएर यहाँसम्म ल्याएका थियौं, त्यो पनि यो विन्दूमा आइसकेपछि आत्मगत रुपमा पुरानै शक्तिमा रुपान्तरण हुन पुग्यो ।

यो अवस्थामा हामीले त्यही पुरानै शक्तिलाई फेरि टालटुल गरेर हुन्छ कि भनेर सोच्ने अवस्था रहेन । कतिपय साथीहरुले यसैलाई टालटुल गरेर, यसैलाई सुधार गरेर, यसैको नेतृत्व फेरेर हुन्थ्यो कि भन्ने जुन कुराहरु गर्नुभएको छ, यथार्थ त्यस्तो हुँदैन । आदर्शवादी ढंगले सोच्न त सकिन्छ, तर व्यवहारिक ढंगले, बस्तुवादी ढंगले सोच्दाखेरि त्यो माओवादी आन्दोलन अहिले यहाँसम्म आइपुग्दा विधिवत् रुपमा टुटफुटबाट विघटन र विसर्जन र वैचारिक-राजनीतिक ढंगले यतिधेरै स्खलन कि पुरानो राजनीतिक शक्तिमा विलिन भयो । त्यहाँको कुरा गर्दा सुन्नै लाजमर्दो हुन्छ । साथीहरुसँग बैठकमा बस्यो, मलाई मन्त्री दिएन भने म यहीँ आत्महत्या गरेर मर्छु भन्छन् ।

मैले दुई वर्ष पहिले उपाध्यक्षबाट पदत्याग गरेको त्यत्तिकै होइन । केन्द्रीय समितिको त्यो बैठकमा केन्द्रीय सदस्यहरुले मैले पद पाइनँ, अर्कोले खायो मैले पाइनँ भन्ने बहस बाहेक कसैले गरेन । विचार, राजनीति, आदर्श, मूल्य-मान्यता भन्ने कुरा कहिँ पनि देखिएन । त्यसैले दुई वर्ष पहिले नै यो पार्टी र आन्दोलन विघटन र विसर्जनमा पुगेछ भनेर अब यसको नेतृत्वमा बस्नु भन्दा तल बसेर नै सुधार्ने प्रयत्न गर्छु भनेर नै छोडेको थिएँ। यहाँसम्म आइपुग्दा त नांगो रुपमा नै त्यो देखा पर्‍यो । त्यसैले आत्मगत रुपमा पनि हिजोको माओवादी आन्दोलनको एउटा चक्र पूरा भयो । अब त्यसैलाई माया गरेर, त्यसैलाई बोकेर हिँडेर हामी कहिँ पनि पुग्दैनौं । हिँड्न त सकिन्छ तर जसको अवसान भइसकेको छ, ऐतिहासिक भूमिका पूरा गरिसकेको छ त्यसैलाई बोकेर हिँड्नुको खासै अर्थ रहँदैन ।

यसरी बस्तुगत रुपमा पनि हामी मुख्य रुपमा नयाँ युगमा प्रवेश गरेको र आत्मगत रुपमा पछिल्लो चोटि विकसित भएको माओवादी शक्ति पनि क्रमशः पुरानै शक्तिमा विघटित र विसर्जित भएको अवस्थामा नयाँ युगको नयाँ कार्यभार पूरा गर्नको निम्ति हामीले अब नयाँ ढंगले सोच्नुको विकल्प छैन । यही निष्कर्षका साथ नै अब पहल गरौं, हामीले हिजोदेखि जे भन्दै आएका थियौं त्यसको सुरुवात गरौं भनेर नै मैले यो कदम चालेको हो र सल्लाहले, सहमतिले र एकरुप बुझाइले नै हामी यहाँसम्म आएका हौं ।

 नयाँ शक्तिको मुख्य कार्यभार

अब यसपछि नयाँ युगको नयाँ कार्यभार पूरा गर्ने नयाँ शक्तिको मुख्य कार्यभार के त ? के गर्नुपर्छ त ? भन्ने सन्दर्भमा, समस्या के हो ? अन्तरविरोध के हो ? त्यो पहिले हामीले बुझ्नुपर्ने हुन्छ । किनकि हामीले सिकाएको ऐतिहासिक तथा द्वन्दात्मक पद्धतिले के भन्छ भने कुनै पनि परिवर्तन, क्रान्ति अथवा कुनै पनि राजनीतिक शक्तिको भूमिका भनेको समाजमा तत्काल विद्यमान अन्तरविरोध के हो ? त्यो अन्तरविरोधलाई हल गर्ने ढंगले नै कुनै पनि शक्तिको आवश्यकता र औचित्य रहन्छ ।

केपी ओली जस्ता अत्यन्त प्रतिगामी सोच राख्ने मान्छे हावी भएको ठाउँमा, ८/१० जना मन्त्री थपिएर पनि त्यहाँ गर्न सक्ने कुरा केही पनि हुँदैन, कार्टुन र जोकर बन्ने स्थिति त्यहाँ बन्छ

जसरी हिजो सामन्तवादसँगको अन्तरविरोधलाई हल गर्नको निम्ति यी विभिन्न चरणका पार्टीहरु बने र हामीले अन्त्यमा माओवादी बनाएका थियौं अबको नयाँ चरणको अन्तरविरोध के हो ? भन्ने ठम्याएर मात्रै नयाँ शक्तिको विचार र राजनीति, संगठनात्मक ढाँचा, नेतृत्व प्रणाली हामीले विकास गर्न सक्छौं । यसरी हेर्दा मलाई तत्काल लागेको कुरा के हो भने तीन वटा मुख्य अन्तरविरोध नेपाली समाजमा तत्काल देखा पर्छन् ।

एउटा, नेपालको बदलिएको जुन संरचना छ त्यसमा अगाडि बढेको राजनीतिक सम्बन्ध र पछाडि परेको आर्थिक सम्बन्धको बीचको अन्तरविरोध नै नेपाली समाजको आन्तरिक रुपमा सबभन्दा ठूलो अन्तरविरोध हो । राजनीतिक रुपमा हामीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको जुन संविधान बनायौं त्यो संविधानको मोटामोटी खाका तपाईंहरुले अध्ययन पनि गर्नुभयो होला, म आफूले त सुरुदेखि नै पार्टीको तर्फबाट मुख्य भूमिका निर्वाह गर्ने अवसर पाएको र पछिल्लो चरणमा संविधानसभाको मुख्य संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको सभापति र त्यसअन्तरगतको विशेष समितिको संयोजक भएको नाताले मलाई अक्षरशः सबै कुरा थाहा छ । त्यसरी हेर्दा के देखिन्छ भने कतिपय कमि-कमजोरीका वावजुद पनि धेरै नै राम्रा कुराहरु, प्रगतिशील कुराहरु, पूँजीवादी क्रान्तिभित्रका कुराहरु त्यसभित्र छन् ।

उदाहरणको निम्ति शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यसम्प्रभुता, आवास जस्ता कुरामा जनताको मौलिक अधिकार स्थापित गर्ने भन्ने कुरा पूँजीवादी लोकतन्त्रभित्रको अत्यन्त विकसित अवधारणा हो । त्यो यो संविधानमा छ । यसरी हेर्दा संविधानमा भएको राजनीतिक अधिकारको हिसाबले र समाजको उपरीसंरचनाको हिसाबले अत्यन्त अगाडि बढेको अवस्था हो । त्यसैले एकापट्टि राजनीतिक अधिकार अगाडि बढ्यो तर यसलाई कार्यान्वयन गर्नको निम्ति आर्थिक आधार छैन । राजनीति र अर्थतन्त्र त अन्तरसम्बन्धित हुन्छन् । राजनीति भनेको त अर्थतन्त्रको संकेन्दि्रत रुप हो । यसरी हेर्दाखेरि अर्थतन्त्रकै एउटा अभिव्यक्ति र ‘सुपरस्ट्रक्टर’ (अधिरचना) राजनीति हो । त्यो त हामीले अगाडि बढायौं ।

हाम्रा अहिलेसम्मका आन्दोलनबाट प्राप्त परिवर्तनलाई संविधानसभाले संस्थागत त गर्‍यो तर, हाम्रो आर्थिक आधार के छ त भनेर हेर्नुभयो भने यतिधेरै गरीवी छ, यतिधेरै बेरोजगारी छ, त्यसभित्र पनि यतिधेरै असमानताहरुः वर्गीय, जातीय, क्षेत्रीय असमानता छ, त्यो रहेसम्म संविधानमा जतिसुकै राम्रा राजनीतिक अधिकारका कुरा लेखिए पनि व्यवहारतः त्यो लागू हुँदैन ।

भोलिदेखि सबैलाई शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क, आवासको सबैलाई व्यवस्था हुने, कोही पनि भोको बस्न नपर्ने भन्ने कुरा त राम्रो लेखियो तर त्यो पुर्‍याउनको निम्ति त्यही अनुरुपको हाम्रो समृद्धि हुनुपर्‍यो कि परेन ? राज्यको आर्थिक हैसियत हुनुपर्‍यो कि परेन ? तर हाम्रो स्थिति के छ भने अहिले हाम्रो प्रतिव्यक्ति आम्दानी करिव सात सय डलर छ । त्यो भनेको प्रतिदिन हाम्रो आम्दानी दुई डलर हो । प्रतिदिन दुई डलर भनेको विश्वको मापदण्डको हिसाबले हेर्दा गरीबीको रेखामुनी हो । यसरी पूरै देश नै गरीबीको रेखामुनी पर्छ । यस्तो अवस्थामा रहेसम्म संविधानमा जतिसुकै राम्रा कुरा लेखिए पनि त्यो व्यवहारतः लागू हुन सक्दैन । त्यसैले अगाडि बढेको राजनीतिक अधिकार, राजनीतिक सम्बन्ध, उपरीसंरचना र अत्यन्त पछाडि परेको आर्थिक सम्बन्ध नै नेपाली समाजको तत्कालको सबभन्दा ठूलो अन्तरविरोध हो ।

सत्तामा जोसुकै बसे पनि आर्थिक विकास र समृद्धिको ठूलो अभियान र योजना नल्याएसम्म यो अन्तरविरोध हल नै हुँदैन । अहिले आफ्नो नेतृत्व पनि छैन, अर्काको नेतृत्वमा, कमल थापाजस्ता मान्छेहरु हावी भएको ठाउँमा, केपी ओली जस्ता अत्यन्त प्रतिगामी सोच राख्ने मान्छे हावी भएको ठाउँमा, ८/१० जना मन्त्री थपिएर पनि त्यहाँ गर्न सक्ने कुरा केही पनि हुँदैन, कार्टुन र जोकर बन्ने स्थिति त्यहाँ बन्छ ।

त्यसैले यो अगाडि बढेको राजनीतिक सम्बन्ध र पछाडि परेको आर्थिक सम्बन्धबीचको अन्तरविरोध नै मुख्य अन्तरविरोध हुन्छ । हो, त्यो हल गर्नको निम्ति राजनीतिक सत्ता त चाहिन्छ । राज्यसत्ता लिएर, राज्यको नेतृत्व लिएर आर्थिक विकास र समृद्धिको योजना हाम्रो सोंचअनुसार, भिजनअनुसार कार्यान्वयन गर्ने ढंगले जान सक्यौं भने सापेक्ष ढंगले हल हुन्छ, पूर्ण ढंगले त हल हुँदैन ।

किनकि पूँजीवाद नै अहिले आउने हो, पूँजीवादले समस्याको पूरै हल त गर्दैन । तैपनि अहिलेको अत्यन्त गरीबी र बेरोजगारीको अवस्थालाई चाहिँ हल गर्न सम्भव हुन्छ । त्यसको निम्ति आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर नै केही दशक हामीले योजना बनाएर जानुपर्ने हुन्छ । त्यसैले यो कार्यभार पूरा गर्न पुरानै शक्तिबाट सम्भव हुँदैन । जसको आर्थिक विकास र समृद्धिको खास निश्चित योजना पनि छैन, त्यसमा पनि व्यक्तिगत रुपमा यति भ्रष्टाचार र दूराचार भएको अवस्था छ कि यिनै राजनीतिक शक्ति, यही नेतृत्वले त्यो आर्थिक विकास र समृद्धिको अभियानको नेतृत्व गर्नै सक्दैन । त्यसैले यो मुख्य अन्तरविरोध हल गर्नको निम्ति हामीलाई नयाँ ढंगको राजनीतिक शक्ति चाहिन्छ ।

हामीले पनि बिजुलीको नाकाबन्दी लगाइदिन्थ्यौं र विहार र युपीजस्तो अत्यन्त घना बस्ती भएको क्षेत्रमा अन्धकार हुन थालेपछि, जसरी मधेसमा अहिले आन्दोलन भएको छ, त्यस्तो आन्दोलन विहार र युपीमा हुन्थ्यो र सन्तुलनमा आउँथ्यो । त्यसैले हामी साँच्चै नै स्वाधीन बन्ने हो भने अन्तरनिर्भर अर्थतन्त्र हामीले बनाउनुपर्छ

दोस्रो, अन्तरविरोधको सन्दर्भमा, नेपाल विविध जातीय, भाषिक र क्षेत्रीय समुदायले बनेको देश हो । अहिलेसम्म नेपाल भनेर हामीले मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मको भूगोललाई मात्र भन्यौं । तर नेपाल भनेको जनता पनि हो, राष्ट्र भनेको त जनता हो । तर हामीले राष्ट्र र जनतालाई बिर्सिएर भौगोलिक सीमालाई मात्रै नेपाल भन्ने र त्यसैको निम्ति हामीले बुझेर/नबुझेर बडो अन्धराष्ट्रवादी नारा लगाउने मात्रै गर्‍यौं । तर नेपाली सीमाभित्र रहेका विविध जाति, भाषा, क्षेत्र, लिंग, समुदायका जो जनता हुन् तिनको समुच्चता नै नेपाली राष्ट्रियता हो र त्यसैको समष्टिगत अभिव्यक्ति नै नेपाल देश हो भन्ने कुरालाई हामीले ठीक ढंगले बुझ्न जरुरी छ । हिजो सामन्ती-कालमा त राजा-महाराजाहरुले आफूलाई नेपालको प्राधिकार ठान्ने, फ्रान्सको लुई सम्राटले ‘आइ एम द स्टेट’ भनेजस्तै म नै नेपाली हुँ, ‘सबै पञ्च नेपाली सबै नेपाली पञ्च’ भन्ने जस्ता भावनात्मक कुराहरु गरेर जनतालाई बिर्सिएर शासक मात्रै नेपाली हुन् भन्ने जुन अवधारणा ल्याए त्यसले अब पुग्दैन । सामन्ती युगमा त त्यो थियो तर अब हामी नयाँ युगमा प्रवेश गरेका छौं ।

अबको नेपाल र नेपाली राष्ट्रियता भनेको यो देशमा बस्ने सबै जाति, भाषा, क्षेत्र, लिंग, समुदायको समुच्चता हो । यी सबै जाति, भाषा, क्षेत्र, लिंग, समुदायलाई एकतावद्ध नगरेसम्म हामीले नयाँ नेपाल बनाउन सक्दैनौं । हामीले सोचेको समृद्ध नेपाल पनि बन्दैन । त्यसैले यहाँका मुख्य जातीय, भाषिक र क्षेत्रीय समूहहरुलाई अधिकारसम्पन्न बनाएर, उनीहरु सबैमा नेपाली हुँभन्ने भावनाको विकास गरेर विभिन्न जाति, भाषा, क्षेत्रलाई हामीले एकतामा गाँस्न सक्नुपर्छ । त्यो नै अबको मुख्य काम हुन्छ ।

अहिले तत्काल एउटा अन्तरविरोध त्यहाँनेर देखा पर्छ । त्यसैको निम्ति हामी संघीयतामा जाने, संघीय इकाइहरुलाई पर्याप्त अधिकार दिने र बलियो केन्द्रीय सत्ता निर्माण गर्ने जुन हामीले सोंच बनाएका छौं त्यो लागू गर्ने कुरा, त्यसलाई ठीक ढंगले बुझ्ने र प्रयोग गर्ने कुरा नै राजनीतिक रुपमा सबैभन्दा ठूलो अन्तरविरोधको विषयको रुपमा आउन सक्छ ।

नेपालमा थुप्रै जाति, भाषिक समुदाय त छन्, तर मुख्य रुपमा तीनवटा ‘क्लस्टर’ छन् । आर्य-खस मूलको राष्ट्रियताको एउटा ‘क्लस्टर’ छ जसको जनसंख्या करिव एक तिहाइ छ र त्यो नै नेपालको अहिलेसम्मको शासनसत्ताको मुख्य केन्द्रमा रहँदै आयो । यो एक तिहाई नै मुख्य शासकको रुपमा रहँदै आयो र सत्तामा रहेपछि अलिकति बढी सेवा-सुविधा लिने कारणले गर्दा मूल रुपमा यही ‘क्लस्टर’का मान्छेहरु चाहिँ अलि बढी अगाडि आए ।

दोस्रो भनेको मंगोल अथवा तिब्बती-बर्मेली/भोट-बर्मेली परिवारका आदिवासी/जनजाति जुन हामीले भन्छौं त्यो अर्को समुदाय हो जो मुख्य रुपमा पहाडमा बस्छ र त्यसको पनि जनसंख्या करिव एक तिहाई छ । यो पनि नेपालको महत्वपूर्ण हिस्सा हो जो नेपालको राज्यसत्तामा केन्द्रीय भूमिकामा रहन सकेन । आर्य-खस समुदायकै जातिको नेतृत्व रहेको राज्यसत्तामा सहयोगीको भूमिका मात्रै उसले खेल्यो । कतिपय अवस्थामा उत्पीडित अवस्थामा रह्यो । मूल नेपालीको रुपमा त्यो समुदाय पनि स्थापित हुन सकेन ।

तेस्रो समुदाय भनेको चाहिँ मैदानी आर्य र अष्ट्रो-द्रविड मूलका तराई-मधेशमा बस्ने मधेशी र थारु लगायतका एक तिहाई जनसंख्या भएको समुदाय हो । त्यो पनि नेपालको राज्यसत्ताको मूल प्रवाहमा दुई सय वर्षसम्म रहन सकेन, सहायक रुपमा नै रह्यो, मूल प्रवाहमा कहिल्यै त्यो पनि आउन सकेन ।

यसरी जुन तीनवटा ‘क्लस्टर’ छन्ः आर्य-खस समुदाय, तिब्बती-बर्मेली समुदाय र मैदानी आर्य-अनार्य लगायतको मधेशी-थारु समुदाय, यी समुदायबीचको एकता नै नेपालको एकता हो । यसको समुच्चता नै नेपाल हो । त्यसैले यो कुरालाई ठीक ढंगले हामीले ग्रहण गर्न सकिएन भने र अब पनि एउटै समुदायको वर्चश्व कायम रहने र अरु समुदायलाई उनीहरुको सही हक-अधिकार नदिने हो भने देशमा एकता पनि कायम हुन सक्दैन र हामीले सोचेको समृद्ध नयाँ नेपाल पनि निर्माण हुन सक्दैन । त्यसैले यी विविध जातिहरु, मुख्य यी तीनवटा ‘क्लस्टर’हरुको बीचमा एकता कायम गरेर नेपाललाई एकतावद्ध र बलियो बनाउने पनि आगामी दिनको महत्वपूर्ण कार्यभार हुन्छ । त्यसैले यो अन्तरविरोध आगामी दिनमा हामीले हल गर्नैपर्छ । त्यो हल नगरिकन एउटा पक्षले म मात्रै हावी हुन्छु र अरुमाथि दमन गरेर शासन चलाउँछु भन्ने सोच्यो भने त्यो सम्भव हुँदैन ।

अहिलेको बदलिएको परिवेशमा, पूँजीवादी भए पनि लोकतान्त्रिक नयाँ युगमा हामी प्रवेश गर्‍यौं, त्यसैले अब त्यो सम्भव हुँदैन । त्यसैले अबको नयाँ शक्तिले यो अन्तरविरोधलाई पनि हल गर्नुपर्छ । जातीय, क्षेत्रीय, लैंगिक जुन विभेद छ त्यसलाई अन्त्य गरेर नेपाललाई एकतावद्ध गर्ने, आन्तरिक रुपमा बलियो बनाउने कार्यभार पनि नयाँ शक्तिले बहन गर्नुपर्छ ।

तेस्रो अन्तरविरोध भनेको चाहिँ नेपालको भू-राजनीतिक अवस्थितिले गर्दा निर्माण गरेको अन्तरविरोध, बाह्य अन्तरविरोध हो । त्यो भनेको नेपालको दक्षिण, पूर्व र पश्चिममा महादेशीय आकारको देश भारत छ, जोसँग हाम्रो खुला सीमाना छ, त्योसँगको दुई सय वर्षदेखिको जुन असमान सम्बन्ध छ त्यसलाई हल गर्ने कुरा र उत्तरपट्टि पनि उही महादेशीय आकारको देश चीन छ यो दुई वटा देशको बीचको सम्बन्धलाई सन्तुलित राख्ने कुरा पनि हामीले ठीक ढंगले हल नगरिकन नयाँ नेपाल निर्माण गर्न र नयाँ शक्तिको निर्माण गर्न हामी सक्दैनौं ।

त्यसैले भारतसँग दुई सय वर्षदेखिको जुन असमान सम्बन्धको शृङ्खला छ, त्यसलाई हल गरेर हामीले स्वतन्त्र र स्वाधीन हुनु पनि छ र साथसाथै हामीले आर्थिक विकास र समृद्धि तथा आन्तरिक शान्तिको निम्ति उसलाई एक ढंगले कूटनीतिक ढंगले सन्तुलनमा राख्नुपर्ने पनि आवश्यकता छ भने अर्कोपट्टि चीन एउटा ठूलो शक्तिको रुपमा आइराखेको छ त्योसँग पनि उचित सम्बन्ध बनाएर उसको विकासबाट पनि उचित लाभ लिएर नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्धिको दिशातिर लिएर जाने सन्तुलित परराष्ट्र नीति कायम गर्ने र भू-राजनीतिक जटीलताको समस्या समाधान गर्ने तेस्रो महत्वपूर्ण अन्तरविरोध हामीबीचमा छ ।

त्यसैले नयाँ शक्तिले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले कायम राख्ने, भारतसँगको असमान सम्बन्धको शृङ्खलालाई अत्यन्त चातुर्यपूर्ण र कुटनीतिक ढंगले हल गरेर नेपालको स्वाधीनता बचाउने र चीनसँग पनि सन्तुलित सम्बन्ध राखेर दुईवटै देशको आर्थिक विकासबाट लाभ लिने ढंगले जानु आवश्यक हुन्छ । यसैको निम्ति नयाँ शक्तिले सही नीति लिन सक्नुपर्छ ।

कैयौंले मार्क्सवाद छोड्यो आदि भन्ने गरेका छन् तर उहाँहरुको ‘माओवाद’को नाउँमा कमल थापासँग घाँटी जोड्ने नक्कली ‘माओवाद’ भन्दा त हामीले सही र विकसित खालको माक्र्सवाद नेपालमा लागू गर्ने भन्नु नै वैज्ञानिक, सही र इमान्दारीपूर्ण कुरा हुन्छ

विगतमा हाम्रो राष्ट्रियतासम्बन्धी बुझाइ भावनात्मक ढंगको बढी छ । बस्तुवादी भन्दा पनि शासकहरुले आफ्नो फाइदाको निम्ति बाहिर चर्का राष्ट्रियताका कुरा गर्ने तर भित्री रुपमा चाहिँ बाह्य शक्तिसँग झुकेर तिनको चाकडी र दलाली गरेर जनतामाथि दमन गर्ने र आफ्नो सत्ता टिकाउने । सुगौली-सन्धीदेखि यताको नेपालको शासक वर्गको अत्यन्त ढोंगी प्रकारको ‘राष्ट्रियता’ छ । मुखले बाहिर चाहिँ अन्धराष्ट्रवादका कुरा गर्ने र भित्रचाहिँ त्यही शक्तिको मुख्यतः दिल्ली दरबारको आशिर्वाद लिएर सत्तामा बस्ने, सुगौली-सन्धीदेखि यताका सबै शासक वर्गको श्रृङ्खला यही हो । अहिले पनि नेपालको नयाँ शासक जो भर्खरै सत्तामा छन्, उनले बाहिर ठूलो हो-हल्ला त गरेका छन् हामी ठूला राष्ट्रवादी हौं भनेर, तर भित्रीरुपमा चाहिँ उनीहरुको दिल्ली दरबारसँग सम्झौता भइराखेको छ ।

किनकि उनीहरुलाई थाहा छ, अहिले नेपालको जुन आर्थिक परनिर्भरता छ भारतसँग जो उसले पटकपटक नाकाबन्दी गरेर देखाइराखेको छ, ०२७/०२८ सालमा पनि पारबहन सन्धीको उसले उल्लंघन गरेर नाकाबन्दी गरेको थियो, ०४५/०४६ सालमा पनि उसले त्यसरी नै नाकाबन्दी गर्‍यो र अहिले फेरि गरिराखेको छ । किनभने सुगौली-सन्धीदेखि यता जुन असमान सम्बन्धमा हामी बाँधिएका छौं, सबै आर्थिक कुराहरुमा हामी भारतसँग परनिर्भर छौं, उसलाई अलिकति रीस उठ्यो, अलिकति चित्त बुझेन कि उसले हाम्रो पाखुरा मर्काउने काम गर्छ । त्यसैले यसबाट कसरी मुक्ति पाउने, त्यसको उपाय खोज्नुपर्‍यो ।

तर, हाम्रा शासकहरुले पटक-पटक के गर्छन् भने बाहिर चाहिँ चर्का चर्का कुरा गरेर जनताको ध्यान अन्यत्र मोडिदिने र आफूलाई भयंकर राष्ट्रवादी देखाउने तर भित्री रुपमा त उनीहरुलाई थाहा छ उसको चाकडी र दलाली नगरेसम्म त उसले तेल पनि पठाउँदैन र नुन पनि खान नपाइने हुन्छ । त्यसको निम्ति फेरि भित्रभित्र दलाली गर्ने र आफ्नो सत्ता टिकाइदिने शर्तमा के-के बली चढाउनुपर्छ, के-के भेटी चढाउनुपर्छ भित्रभित्रै चढाउने विगतदेखि पटक-पटक हुँदै आएको छ । उदाहरणको निम्ति, राजा महेन्द्र पछिल्लो चरणमा सबभन्दा ‘राष्ट्रवादी’ भनेर चिनिएका तर राजा महेन्द्रकै पालामा सन् १९५६ मा जुन १९५० को सन्धीको आदान-प्रदान गरिएको पत्र छ त्यो सबभन्दा खतरनाक छ ।

पछि १९६२ मा जुन भारत र चीनको लडाइँ भयो त्यतिबेला भारतलाई आफ्नो सेना राख्नको निम्ति कालापानी भित्री रुपमा उनले दिए, त्यहीँभित्रका मान्छेहरुले हामीले बताए कि राजा महेन्द्रले भारतलाई दिएकै हो कालापानी । आफ्नो सत्ता २०१७ सालमा उनले हत्याए त्यो बचाउनको निम्ति कालापानी उनले भारतलाई दिएर सन् १९६२ मा भारत र चीनको लडाइँको बेलामा भारतलाई खुशी पारे ।

सन् १९६५ मा गएर हातहतियारसम्बन्धी अर्को असमान सम्झौता, भारतसँग मात्रै ल्याउने अरुसँग नल्याउने भन्ने सम्झौता राजा महेन्द्रले नै गरेका थिए । यसरी बाहिर चर्का चर्का राष्ट्रवादका कुरा गर्ने तर भित्रीरुपमा चाहिँ दिल्ली दरबारलाई रिझाउने सुगौली-सन्धीदेखि पछिल्लो चरणमा सबभन्दा राष्ट्रवादी भनिएका राजा महेन्द्रसम्मले गरे भने अब अहिले सत्तामा पुगेका महानुभावहरुले पनि त्यही गरिरहनुभएको छ ।

किनकि म त प्रधानमन्त्रीसम्म भइसकेको हुनाले नालिबेली बुझ्ने ठाउँमा छु, मेरा आँखाले त देखिहाल्छ । त्यसैले उहाँहरुले के-के भेटी चढाउनुहुन्छ, तपाईं-हामीलाई उहाँहरुले अत्यन्त राष्ट्रवादी कुरा गरिराख्नुभएको भन्ने त लागेको छ तर भित्री रुपमा के-के भेटी चढाएर आफ्नो सत्ता, कुर्सी टिकाउनुहुन्छ त्यो चाहिँ हामीले हेर्न बाँकी नै छ ।

ठगिने नेपाली जनता र नेपाल राष्ट्र नै हुन्छ । त्यसैले यस्तो प्रकारको पाखण्डी, ढोंगी राष्ट्रियताको पक्षमा लाग्ने कि हामी साँच्चै नै नेपाललाई स्वाधीन, समृद्ध बनाएर नेपालको सच्चा राष्ट्रियताको जगेर्ना गर्ने ? भन्ने प्रश्न छ ।

त्यसै सन्दर्भमा हामीले केही समय पहिले प्रगतिशील राष्ट्रवादको अवधारणा अगाडि सारेका थियौं । त्यो भनेको के हो भने पहिले त हाम्रा सम्पूर्ण जाति, भाषा, क्षेत्र, लिंगका समुदायहरुलाई एकतावद्ध गरेर आन्तरिक राष्ट्रियता बलियो पार्ने । खासगरी तराई-मधेशको जुन अत्यन्त संवेदनशील भू-भाग छ र त्यहाँ खुला सीमानाको कारणले गर्दा र हाम्रा त्यहाँका जनता पनि जातीय, भाषिक रुपमा मैदानी आर्यकै अंग भएको र थारुहरु पनि अष्ट्रो-द्रबिड मूलकै भएको हुनाले भारतीय उपमहाद्वीपमा भएका अधिकांश जनसंख्यासँग उनीहरुको संस्कार/संस्कृति जुन मिल्दोजुल्दो छ, त्यसले गर्दाखेरि भारतले सजिलै तिनीहरुलाई भड्काइदिने खतरा पनि रहन्छ । त्यसैले त्योभन्दा पहिले हामी आफैंले मधेसी र थारु दाजुभाइ, दिदीबहिनीहरुलाई हामीले नेपाली मूलप्रवाहमा ल्याउनुपर्छ ।

उनीहरुमाथि हेला गरेर होइन, उनीहरुलाई समान हैसियत दिएर, सम्मान दिएर नेपालसँग जोड्ने काम हामीले गर्नुपर्छ । त्यसरी आन्तरिक राष्ट्रियतालाई बलियो पार्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही सन्दर्भमा अहिले तराई-मधेसको जुन समस्या छ त्यो आन्तरिक नै समस्या थियो । थारुहरुको आफ्नो ‘क्लस्टर’ मिलाएर प्रदेश बनाउने भन्ने जुन कुरा भएको थियो त्यो नबन्दाखेरि थारुहरुको आन्दोलन भएको हो । त्यसैबाट नै सल्कँदै गएर मधेससम्म पुग्यो ।

त्यसैले ती जनतालाई हामीले उनका समस्या हल गरेर एकतामा बाँध्नको निम्ति प्रयत्न गर्नुपर्दथ्यो त्यहाँ अलिकति ढिला गर्दाखेरि त्यसमा भारतले खेलेर ऊचाहिँ बडो मधेसी र थारुहरुको पक्षमा र हामी पहाडमा बस्ने नेपालीहरु चाहिँ मधेसी र थारुहरुको विपक्षमा भनेजस्तो जुन स्थिति बन्न पुग्यो, हामीले त्यस्तो गर्नुहुँदैन । त्यसैले हामीले पहिले सबै राष्ट्रियतालाई, सबै जातीय समुदायहरुलाई जोड्नुपर्छ र दोस्रो कुरा भारतसँगको जुन परनिर्भरता छ त्यसको अन्त्य गर्न तीब्र ढंगले आर्थिक विकास र समृद्धिको बाटोमा जानुपर्छ ।

उदाहरणको निम्ति अहिले पेट्रोलियम पदार्थमा शत प्रतिशत हामी भारतसँग निर्भर छौं । यसको विकल्प हामीले खोज्न सक्नु पर्दथ्यो । त्यो विकल्प के हुन सक्थ्यो भने हाम्रा तुलनात्मक लाभका जुन विषयहरु छन् त्यसमध्ये हामीले यस्तो वस्तु उत्पादन गर्नुपर्‍यो र भारतले आयात गर्नुपर्‍यो, जसमा चाहिँ भारत पनि हामीमाथि निर्भर होस्, त्यो भनेको जलस्रोत हो, जलविद्युत हो । हामीसँग ८० हजार मेगावाट विजुली उत्पादनको सम्भावना भनिएको छ त्यसमा पनि ४० हजार मात्रै उत्पादन गरियो भने पनि १५/२० हजार मेगावाट हामीले आन्तरिक रुपमा खपत गर्ने र १५/२० हजार मेगावाट मात्रै भारततिर निर्यात गर्न पाएको भए, उसले नाकाबन्दी लगाउनुभन्दा पहिले ऊ सोच्न बाध्य हुन्थ्यो ।

किनकि हामीले पनि बिजुलीको नाकाबन्दी लगाइदिन्थ्यौं र विहार र युपीजस्तो अत्यन्त घना बस्ती भएको क्षेत्रमा अन्धकार हुन थालेपछि, जसरी मधेसमा अहिले आन्दोलन भएको छ, त्यस्तो आन्दोलन विहार र युपीमा हुन्थ्यो र सन्तुलनमा आउँथ्यो । त्यसैले हामी साँच्चै नै स्वाधीन बन्ने हो भने अन्तरनिर्भर अर्थतन्त्र हामीले बनाउनुपर्छ ।

मैले अन्तरनिर्भर किन भनेको भने पूर्णरुपमा आत्मनिर्भर अहिलेको दुनियाँमा सम्भव हुँदैन । त्यसैले हामीले हाम्रा तुलनात्मक लाभका क्षेत्रमा बढी लगानी गरेर भारततिर बस्तु निर्यात गर्ने ता कि भारत पनि हाम्रो बस्तु आयातमा निर्भर हुन पुगोस् । त्यसो भएपछि उसले एकपक्षीय रुपमा हामीलाई यसरी नाकाबन्दी लगाउन सक्दैन । यस्तो प्रकारको नीति हामीले लिन सक्नुपर्छ । यसैलाई नै हामीले प्रगतिशील राष्ट्रवाद भनेका हौं । अर्थात आन्तरिक रुपमा हाम्रा सबै जाति मधेसी, पहाडी, जनजातिलाई एकतावद्ध पार्ने र कसैलाई खेल्ने ठाउँ नदिने र आर्थिक रुपमा हाम्रो अर्थतन्त्रलाई भारतसँग र अरु देशसँग अन्तरनिर्भर बनाउने हुन सक्यो भने बल्ल नेपालको राष्ट्रिय स्वाधीनता बच्छ र यसैलाई हामीले प्रगतिशील राष्ट्रवाद भनेका हौं ।

त्यसैले यी तीनवटा कुराः पहिलो, अगाडि बढेको राजनीतिक सम्बन्ध र पछाडि परेको आर्थिक सम्बन्ध हल गर्न आर्थिक विकास र समृद्धिको योजनालाई कार्यान्वयन गर्न, दोस्रो, जुन आन्तरिक रुपमा हाम्रा विविध राष्ट्रियताहरु छन्, मूलतः तीनवटा जुन क्लस्टरहरु छन् तिनको बीचको एकता कायम गरेर नेपाललाई समृद्ध र बलियो पार्न र तेस्रो चाहिँ भारत र चीनबीचको जुन हाम्रो भू-राजनीतिक अवस्थिति छ त्यसको सन्तुलन मिलाएर प्रगतिशील राष्ट्रवादको तरिकाले नेपालको स्वाधीनता कायम गर्नको निम्ति हामीलाई नयाँ शक्तिको आवश्यकता पर्छ । जुन पुराना शक्तिहरु छन् उनीहरुमा यो अवधारणा छैन ।

त्यसैले हामीले नयाँ शक्ति निर्माण गरौं भन्ने अभियान चलाउन खोजेका छौं । अब कसरी जाने, यसका नीति-कार्यक्रमहरुबारे हामी क्रमशः छलफल गर्दै जान्छौं ।

वैचारिक आधार

धेरैलाई जिज्ञासा छ, यसको वैचारिक आधार के हुन्छ ? मेरो आग्रह के छ भने यो विषयमा पनि हामी खुला हुनुपर्छ । विचार भनेको विकासको नियम हो । विश्व व्रह्माण्ड र समाजको गति र विकासको एउटा नियम छ त्यो मूल नियमलाई हामीले पकड्ने हो । त्यो भनेको द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद हो । त्यो नै मानवजातिले आविष्कार गरेको सबभन्दा उन्नत विचार शृङ्खला हो । जसलाई हामीले माक्र्सवाद भन्ने गर्छौं त्यो नै हाम्रो बन्ने नयाँ शक्तिको मुख्य आधारशीला हुन्छ र हुनुपर्छ ।
त्यो भन्दा पछि लेनिनले, माओले, स्टालिनले, चे ग्वेभाराले, हो-ची मिन्ह लगायतले त्यसमा सुधार गर्नुभयो, परिवर्तन गर्नुभयो, विकास गर्नुभयो र भेनेजुएला लगायत अरु देशमा पनि अहिले जुन नयाँ-नयाँ प्रयोग भइराखेको छ यी सबैबाट हामीले सिक्नुपर्छ । तर यो द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद र मार्क्सवादलाई अहिलेको २१औं शताब्दीको आवश्यकता अनुसार विकसित र परिमार्जन गर्ने र नेपालको विशिष्ट जुन अवस्था हो, तत्काल सामन्तवादबाट भर्खरै पूँजीवादमा गएको जुन अवस्था हो र पूँजीवादी उत्पादक शक्तिको अधिकतम विकास गरेर समाजवादको दिशामा जाने गरी कार्यक्रम तय गर्ने प्रकारको माक्र्सवादको विकास हामीले गर्नुछ । यसलाई नाम के दिने भन्ने विषयमा पहिले नै हामीले टाउको दुखाउनु भएन ।

हाम्रो कम्युनिष्ट आन्दोलनको रोग नै के भयो भने त्यसको गुदी र सारतिर जानुभन्दा पनि रुप र नामबाट सुरु गर्ने । फलानो नाम, फलानो वाद हाम्रो भए कि भएनन् भनेर वाद चाहिँ भट्याउने तर वाद भट्याएर के हुन्छ ? बरु त्यसको सार के हो भन्ने बुझ्नु पर्‍यो । हामी बाहुन परिवारबाट आएकाहरुलाई ७/८ वर्षमा नै गुरुले गायत्री मन्त्र सुनाइदिनुहुन्थ्यो । गुरुले कानमा फुकिदिने, राम्रोसँग नबुझे पनि त्यो संस्कृतको श्लोक त्यसैलाई हामीले विहान-बेलुका ३ चोटि भट्याउँथ्यौं । कहिल्यै थाहा भएन त्यसको अर्थ । धेरैपछि मात्रै मैले थाहा पाएँ त्यो भनेको त सूर्यको आराधना पो रहेछ । त्यत्ति भनिदिएको भए त बुझिन्थ्यो नि । २०औं वर्ष भट्याइयो, कहिल्यै थाहा भएन । हाम्रो माक्र्सवाद पनि, हाम्रो माओवाद पनि भट्याउने चाहिँ भयो तर त्यसको सार र गुदी चाहिँ मान्छेले बुझेनन् । त्यसैले त्यस्तो नबुझी भट्याउने मात्रै गर्नु हुँदैन ।

मुख्य कुरा त्यसको सारतत्व, माक्र्सवादको सारतत्व द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद हो । त्यसलाई दह्रोसँग पकड्ने र २१औं शताब्दीको आवश्यकताअनुसार त्यसलाई विकास गर्ने र नेपालको ठोस सन्दर्भमा लागू गर्ने । त्यसैको आधारमा नै नयाँ शक्तिको निर्माण गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । यसमा सबैसँग छलफल गरेर नै हामी अगाडि बढ्नेछौं ।

कैयौंले माक्र्सवाद छोड्यो आदि भन्ने गरेका छन् तर उहाँहरुको ‘माओवाद’को नाउँमा कमल थापासँग घाँटी जोड्ने नक्कली ‘माओवाद’ भन्दा त हामीले सही र विकसित खालको माक्र्सवाद नेपालमा लागू गर्ने भन्नु नै वैज्ञानिक, सही र इमान्दारीपूर्ण कुरा हुन्छ । यसमा हामी कोही पनि डग्मगाउनुपर्ने आवश्यकता म देख्दिनँ ।

त्यसपछि नीति, कार्यक्रम र कार्यदिशाको प्रश्न छ । पहिलो चरणमा उत्पादक शक्ति र उत्पादन सम्बन्धको बीचमा, उपरीसंरचना, राजनीतिक सम्बन्ध र आर्थिक सम्बन्धको बीचमा जुन अन्तरविरोध छ त्यसलाई हल गर्ने गरी तीब्र आर्थिक विकास र समृद्धिको कार्यक्रम लिएर जाने नै हाम्रो तत्कालीन कार्यदिशा हुन्छ । त्यसको गन्तव्य चाहिँ समाजवादतिर जाने हुनुपर्छ ।

समाजवादमा नगएसम्म पूँजीवादले जुन असमानता ल्याउँछ त्यो असमानताले संसारमा दीगो शान्ति ल्याउन सक्दैन । त्यसैले समाजवादी ध्येय, समाजवादी रणनीति अन्तरगत तत्काल पूँजीवादी उत्पादक शक्तिको विकास गर्ने नै हाम्रो मूल र तत्कालीन राजनीतिक कार्यदिशा हुन्छ । यसको निम्ति लोकतन्त्र हामीले भनेका छौं त्यो लोकतन्त्र हिजोको नयाँ जनवाद, जनताको जनवाद भन्नु भन्दा पनि हामीले अगाडि सारेको शब्द के छ भने – समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र । यो नै नेपालको सन्दर्भमा नयाँ जनवाद अथवा जनताको जनवाद हो । त्यसैले यस्तो प्रकारको लोकतन्त्रको प्रणाली हामीले लिन्छौं ।

यसपछि महत्वपूर्ण कुरा हामीले आफ्नो आचरण र कार्यशैलीलाई नयाँ ढंगले विकास गर्नैपर्छ । किनकि पुरानो सामन्त पूँजीपतिहरुले भन्ने एउटा गर्ने अर्को गर्छन् । उनीहरुको संस्कार/संस्कृति त्यस्तो हुन्छ । आर्थिक रुपमा पनि उनीहरुको अत्यन्त अपारदर्शी ढंगले हर्कत गर्ने र राज्य र समाजको सम्पत्ति व्यक्तिगत हितको निम्ति भ्रष्टाचारजन्य तरिकाले ग्रहण गर्ने जुन प्रचलन छ त्यसलाई अन्त्य गर्नुपर्छ । हाम्रो नयाँ शक्ति यस अर्थमा नयाँ हुनुपर्‍यो कि हामी जनताको नजरमा पनि स्वच्छ देखिनुपर्‍यो, पारदर्शी देखिनुपर्‍यो, इमानदार देखिनुपर्‍यो, सदाचारी देखिनुपर्‍यो । हामी पनि भ्रष्टाचारी, लोभी, पापी, अर्कालाई ठग्ने खाने खालका भयौं भने त्यो नयाँ हुँदैन ।

झट्ट हेर्दाखेरि त सामान्य कुरा हो तर व्यवहारमा, जनताको नजरमा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यही हो । हामी स्वच्छ र सदाचारी हुन्छौं कि हुँदैनौं ? भ्रष्टाचारबाट मुक्त हुन्छौं कि हुँदैनौं ? यो आचरणको पक्ष पनि हाम्रो नयाँ शक्तिको मुख्य आधार हुनुपर्छ । त्यसैले हाम्रो नीतिका पाँच वटा ‘स’ हामीले भनेका छौं ।

पहिलो – स्वाधीनता, दोस्रो – समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्र, तेस्रो – समतामूलक समृद्धि, चौथो – समाजवाद र पाँचौं – सुशासन र सदाचार । यसरी प्रारम्भिक रुपमा पाँचवटा ‘स’ भनेका छौं, यसमा छलफल गर्दै गएर अगाडि बढाउनेछौं ।

संगठनात्मक ढाँचा र निर्माण प्रक्रिया

यही पाँच ‘स’ अनुरुपको संगठनात्मक ढाँचा पनि हामीले नयाँ ढंगले विकास गर्नुपर्छ । हिजो हामीले जनवादी केन्द्रीयता भनियो तर त्यसलाई प्रयोग गर्ने क्रममा त्यहाँ जनवाद कतै रहेन, खालि केन्द्रीयता मात्रै रह्यो, केन्द्रीयता पनि अत्यन्त एकल/व्यक्तिवादी खालको र एकमनावादी खालको केन्द्रीयता बन्यो । त्यसले नै हिजोका कम्युनिष्ट पार्टीहरुलाई अथवा विभिन्न नामधारी पार्टीहरुलाई अन्ततः भिन्न प्रकारको नोकरशाही संयन्त्र र निरंकुशतन्त्रमा लग्यो ।

त्यसैले हामीले यसबाट पनि पाठ सिक्नुपर्छ र त्यो हिजोकै जस्तो अत्यन्त केन्द्रिकृत नोकरशाही प्रकारको संगठनात्मक ढाँचा होइन, माथिबाट तल आएको ढाँचा होइन, नयाँ शक्तिको संगठनात्मक ढाँचा तलबाट माथि जाने ढाँचा हुनुपर्छ ता कि प्रत्येक कार्यकर्ता/जनताको नीति निर्माणमा सहभागिता होस्, नेतृत्वले/नेताले गल्ती गर्‍यो भने त्यसलाई निगरानीमा राख्ने र गल्ती गर्नेलाई कारवाही गर्ने हदसम्मको भूमिका तिनले निर्वाह गर्न सकुन् । त्यस्तो प्रकारको तलबाट माथिको ढाँचामा आधारित नयाँ संगठनात्मक ढाँचा हुनुपर्छ । किनकि हाम्रा पुराना पार्टीहरु अत्यन्त केन्दि्रकृत ढाँचामा छन्, अत्यन्त व्यक्तिवादी प्रकारका छन्, व्यक्तिमुखी छन् ।

पहिले नै माओवादी आन्दोलनमा किरण गुट, विप्लव गुट, मातृका गुट, मणि गुट भन्ने छ फेरि प्रचण्ड गुट, बाबुराम गुट भन्ने अर्को गुट बन्थ्यो र त्यसले कुनै नयाँपन दिँदैनथ्यो

अब नयाँ बन्ने शक्तिले त्यस्तो व्यक्तिमुखी खालको संगठनात्मक ढाँचा बनाउने होइन, विचार/नीतिमुखी र कार्यकर्ता/जनतामुखी ढाँचा बनाउने र जनता/कार्यकर्ताको प्रत्यक्ष सहभागिता/निगरानी/हस्तक्षेप रहने प्रकारको संगठनात्मक ढाँचा हामीले अपनाउनुपर्छ । त्यो विषयमा पनि पर्याप्त छलफल गरेर हामी अगाडि जानुपर्छ ।

यही विषयमा युरोपमा, ल्याटिन अमेरिकामा, भारतमा पनि नयाँ-नयाँ बहसहरु चलिराखेका छन् । हिजोका परम्परागत राजनीतिक शक्तिहरु भन्दा फरक प्रकारको वैकल्पिक राजनीतिक धार भनेर विश्वमा अहिले व्यापक ढंगले चर्चा/परिचर्चा भइरहेको छ । त्यसैले हामीले पनि हिजोका कांग्रेस, एमालेदेखि माओवादीसम्मको अत्यन्त केन्द्रीकृत व्यक्तिवादी खालका, नोकरशाही प्रकारका जुन ढाँचाहरु बने त्यसलाई उल्ट्याएर जनता र कार्यकर्ताको प्रत्यक्ष सहभागिता रहने सहभागितामूलक लोकतन्त्रको ढाँचामा आधारित नयाँ संगठनात्मक ढाँचा अपनाउनुपर्छ । त्यसको कार्यशैली चाहीँ सदाचारपूर्ण र पारदर्शी प्रकारको हामीले बनाउन सक्नुपर्छ । यिनै पक्षहरु हाम्रो नयाँ शक्तिका मुख्य संगठनात्मक आधार हुन्छन् ।

त्यसको निम्ति प्रक्रिया के त ? नयाँ शक्ति बनाउने हो भने प्रक्रिया पनि नयाँ हुनुपर्‍यो । हाम्रो प्रक्रिया चाहिँ पुरानै तर कुरामा चाहिँ नयाँ शक्ति भन्यौं भने त्यो नयाँ शक्ति बन्दैन । यसै सन्दर्भमा मैले किन पदत्याग गरें भन्ने चूरो कुरो यहाँनेर छ । धेरैलाई लाग्न सक्छ – किन पदत्याग गरेको होला, यही पार्टीमा रहेर हामी सबैलाई लिएर, ८/१० हजार मान्छे जम्मा पारेर समूह बनाएर गएको भए राम्रो हुन्थ्यो, हामी पनि सँगै हुन्थ्यौं । तर त्यो गरिएको भए त्यो एउटा गुट मात्रै हुन्थ्यो । पहिले नै माओवादी आन्दोलनमा किरण गुट, विप्लव गुट, मातृका गुट, मणि गुट भन्ने छ फेरि प्रचण्ड गुट, बाबुराम गुट भन्ने अर्को गुट बन्थ्यो र त्यसले कुनै नयाँपन दिँदैनथ्यो ।

हिजोको संगठन र आन्दोलनले एउटा चरणसम्म भूमिका खेलेकै हो, तपाईं-हामी पनि त्यसमा लागेकै हौं । हामी पानीमाथिको ओभानो बन्न मिल्दैन । धेरै दोष त जो मूल नेतृत्वमा छ उसले लिनुपर्छ तर सहायक दोष हामीले पनि लिनुपर्छ । हामी पनि त्यसका भागिदार छौं । त्यसैले हामीले कमी-कमजोरी सहित एउटा कार्यभार पूरा गर्‍यौं । त्यसैले हामीले कसैप्रति दूराग्रह नराखिकन अब नयाँ युगको नयाँ कार्यभार पूरा गर्न नयाँ शक्ति र नयाँ संगठनात्मक ढाँचामा नयाँ संगठन निर्माण गर्ने हो भने हामी पनि नयाँ हुनुपर्छ । त्यो नयाँ हुने भनेको हामीले हिजोका सम्बन्धहरुलाई तोडेर नयाँ आधारमा नयाँ सम्बन्ध विकास गर्ने ढंगले जानुपर्छ । मैले पुरानो संगठनसँग सम्बन्ध विच्छेद गरेर बाहिर निस्कने र आफू नयाँ बन्ने साथै अरु विभिन्न पक्षहरु, हामीसँग विमति राख्ने पार्टीहरु, व्यक्तिहरु, संस्थाहरुसँग पनि अन्तरक्रिया गरेर त्यो सुरुवात गर्ने भनेर त्यो सुरुवातको रुपमा नै मैले पदत्याग गरेर बाहिर निस्किएको हुँ ।

त्यसैले सबै साथीहरुलाई पनि मेरो आग्रह छ – हामी सबैले हिजोका कुराहरुको पश्चात्ताप नगरौं, हिजो मूल रुपमा हामीले ठीकै गर्‍यौं ।
किनकि यत्रो युगान्तकारी काम त हाम्रो पालामा भयो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याउने, संविधानसभाबाट संविधान बनाउने मुख्य लाइन त हाम्रै हो । त्यसैले मूल रुपमा हामी त्यसमा सफल नै छौं । तर अब नयाँ युगमा जानको निम्ति त्यतिले पुग्दैन । त्यसैले नयाँ युगको नयाँ यात्रा गर्न एउटा क्रमभंग र छलाङको माग हुन्छ ।

तपाईं-हामीले पटक-पटक द्वन्दवादको नियमका कुरा गरेका छौं र विकास भनेको सर्पको गतिमा घसि्रएर होइन भ्यागुताको गतिमा उफ्रिएर हुन्छ, जुन हामीले भन्ने गरेका छौं । त्यसैले अब नयाँ शक्ति निर्माण गर्दा घसि्रएर, क्रमिक सुधार गरेर होइन कि त्यो पुरानोसँग सम्बन्धित विषयमा क्रमभंग गरेर नयाँ ढंगले नयाँ निर्माण गर्नुपर्छ ।

यही सोचका साथ नै मैले यो पहल गरेको हुँ । सबै साथीहरुसँग मेरो आग्रह के हो भने हामीले पहिले आन्तरिक रुपमा बहस र छलफल चलाऔं, जो साथीहरु पुरानो पार्टीभित्र हुनुहुन्छ त्यहाँ पनि व्यापक ढंगले माथिदेखि केन्द्रमा, प्रदेशमा, जिल्लामा, निर्वाचन क्षेत्रमा, गाउँमा, वडामा, तलैसम्म नयाँ शक्तिको आवश्यकता किन र कसरी भन्ने विषयमा अभियानात्मक ढंगले बहस चलाऔं । त्योसँगै राम्रा मान्छेहरु त बाहिर पनि छन् । कांग्रेसभित्र, एमालेभित्र, पुरानो माओवादीका विभिन्न घटकहरुभित्र, कुनै पनि पार्टीमा नभएका स्वतन्त्र व्यक्तिहरु, नागरिक समाजसँग अन्तरक्रिया गरेर राम्रा र असल मान्छेहरुसँग एकाकार हुने ढंगले हामीले अभियान चलाउनुपर्छ । केही समय, केही महिना त्यो ढंगको अभियानबाट गुजि्रसकेपछि अनि भित्र र बाहिरका शक्तिहरु जोडेर नयाँ ढंगले नयाँ शक्ति हामीले अगाडि ल्याउनुपर्छ । यो प्रक्रिया नै नयाँ प्रक्रिया हुन्छ । यसले मात्रै नयाँ शक्ति सिर्जना गर्न सक्छ भन्ने सोंचका साथ यो पहल गरिएको हो ।

अब हामी ऐतिहासिक नयाँ युगमा प्रवेश गरेका छौं । त्यसको निम्ति ऐतिहासिक कदम अब हामीले चाल्नैपर्छ । त्यसको सुरुवात भएको छ । सबै साथीहरुलाई म आग्रह गर्न चाहन्छु, हामीले हिजोकै मानसिकता, हिजोकै सोंच, हिजोकै आग्रह-पूर्वाग्रह लिएर नयाँ बनिँदैन, त्यसैले सबभन्दा पहिले हामी नयाँ बनौं र त्यसपछि नयाँ बनाउने प्रयत्न गरौं । त्यसको निम्ति हाम्रो सोंच सकारात्मक हुनुपर्छ । खालि नकारात्मक कुण्ठा, मैले यो पाइनँ, यो भएन, त्यो भएन मात्रै भन्यौं भने हाम्रो पनि विकास हुँदैन । नयाँ कुराको थालनी गर्न सकारात्मक ढंगले सोच्नुपर्छ । त्यसैले पहिले हामी सकारात्मक सोचको विकास गरौं र नयाँ यात्रामा अघि बढौं ।

(असोज २८ गते पोखरामा भएको आन्तरिक भेटघाटका क्रममा व्यक्त विचार) onlinekhabar 

 



CLOSE
CLOSE