ताजा समाचार:
Search

बैँसरीका पहिरोपीडितलाई रु ५० लाख सहयोग

DSC06226

म्याग्दी, कात्तिक ३० गते  ।

म्याग्दीको बँैसरीका पहिरोपीडितलाई ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका बैँसरीवासीको राहत तथा पुनर्वासका लागि जिल्लाका सङ्घसंस्था, देशभित्र र विदेशमा रहेका म्याग्देलीमार्फत ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको हो । ४० लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग प्राप्त भएको बैँसरी पहिरोपीडित राहत सहयोग व्यवस्थापन समितिले जनाएको छ । विभिन्न दाताले उपलब्ध गराएको नगद तथा जिन्सी सङ्कलन गरी एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरेको समितिका सचिव मनबहादुर पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार (क) वर्गका पीडितले प्रतिपरिवार दुई लाख रुपैयाँका दरले नगद सहयोग पाएका छन् । क्षतिको आधारमा (क), (ख), (ग), (घ) र (ङ) वर्गमा पीडितलाई विभाजन गरेर राहत वितरण गरिएको हो । सचिव पुर्जाका अनुसार थप सात लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री दाताले पहिरोपीडितलाई दामासाहीका दरले उपलब्ध गराएका छन् । नगदबाहेक विभिन्न क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, भाँडा, पाल, जस्तापाता, फर्निचर लगायतका सामग्री सहयोग भएको छ । २०७२ साल जेठ १० गते राति राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले राम्चे–९ र भगवती–२ बँैसरीको २७ वटा घर पुरिएको थियो । पहिरोका कारण घरबारविहीन भएकामध्ये हाल १८ परिवार पिप्ले–४ राहुपारेमा अस्थायी टहरा बनाएर बसेका छन् ।

बाँकी नौ घरपरिवार अन्य ठाउँमा रहेको आफ्नै घर, आफन्तकहाँ र भाडामा बसेका छन् । विभिन्न सङ्घसंस्था र व्यक्तिबाट प्राप्त भएको सहयोगले पहिरोपीडित पहिलेकै दैनिकीका फर्कन थालेका छन् । पहिरोको पीडा भुल्नलाई र जीविकोपार्जनका लागि अस्थायी टहरामा केरा व्यापार, चिया, खाजा पसल सञ्चालन गरेको बँैसरी पहिरोपीडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीले बताउनुभयो । सरकारी निकायबाट पुनर्वासका लागि स्थान छनोट गरी आवश्यक व्यवस्था गर्न ढिलाइ भएको पहिरोपीडितले गुनासो गरेका छन् । रासस