ताजा समाचार:
Search

प्रवासी म्याग्देलीको मन, वस्यालको उपचारका लागि आयो धन

Belgium

करेन्ट लागेर घाईते भएका म्याग्दीको पिप्ले का गोविन्द बस्यालको उपचारका लागि बेल्जीयमबाट नगद सहयोग प्राप्त भएको छ । राखु पिप्ले घर भई हाल बेल्जीयममा रहेकाहरुले संकलन गरि पठाएको ६५ हजार रुपैया गोविन्दका बुवा भिमसेन बस्याललाई आईतबार म्याग्दी उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

म्याग्देली प्रवासी नेपाली संघ (मोना)का अन्तराष्ट्रिय महासचिव समेत रहनुभएका मोना बेल्जीयमका निवर्तमान अध्यक्ष घन शाही, सल्लाहकार राजेन्द्र कार्की र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले नगद हस्तान्तरण गर्नुभएको थियो । पत्रकार कमल खत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकर्माले व्यक्तिगत रुपमा तिन हजार पाँच सय र पिप्ले कलेजाबाङका लक्ष्मण भण्डारीले बस्यालको उपचारका लागि एक हजार रुपैया सहयोग गर्नुभएको थियो ।

गत भदौमा भाडामा बस्दै आएको घरको छतमा करेन्ट लागेर घाइते भएका बस्यालको हाल शुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौमा उपचार भइरहेको छ । गोविन्दको उपचारका लागि हालसम्म तिन लाख ५२ हजार रुपैया खर्च भएको र एक लाख ९० हजार रुपैया सहयोग जुटेको बुवा भिमसेनले बताउनुभयो । घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले बस्यालको लागि उपचारखर्च जुटाउन ओमकुमारी शान्ति कोष र प्रवासमा रहेका म्याग्देलीहरुले पहल गरिरहेका छन् ।