इराकबाट फर्किएका मल्लको गाउँमा आधुनिक बाख्रा फार्म

विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ १९ गते ।
म्याग्दीका एक युवाले इराकबाट फर्किएर गाउँमै आधुनिक प्रबिधि र संरचनाको प्रयोग गरेर बाख्रापालन सुरु गर्नुभएको छ ।

बेनी नगरपालीका ३ गौस्वाँराका ३७ वर्षिय बिराज मल्लले सञ्चालन गरेको सिद्धबराह बाख्रापालन तथा कृषि फार्ममा नयाँ शैली, प्रबिधि र संरचनाको प्रयोग गर्नुभएको छ । तिस मिटर लम्बाई र ५.२ मिटर चौडाई भएको खोरभित्र बाख्रा राख्ने ११ वटा छुट्टा, छुट्टै कोठा छन् ।Bakhra Farm (2)

मानिस बस्ने घर जस्तै सफा सुग्धर रहेको फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तिन महिना उमेर पुगेका पाठापाठी, सो भन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टा छुट्टै कोठा छन् । सजिलै घाँस, दानापानी खान सक्ने डुँडको ब्यवस्था गरिएको खोरको बाख्रा बस्ने टाँडमा मल रोकिदैन । जाडो याममा न्यानोका लागि फाईबर टिनको ब्यवस्था गरिएको छ ।

गर्मीमा हावा छिर्नेगरी झ्यालमा तारजाली राखिएको छ । जसले गर्दा बाख्रालाई खोर भित्र र बाहीर लैजाने ल्याउने गर्नुपरेको छैन् । घाँस काट्ने आधुनिक औजारको प्रयोग गरिएको उक्त फार्मका सञ्चालक मल्लले जंगलबाट फार्मसम्म घाँस ल्याउन रोपवे, बाख्राले चाहेको बेला आफै पानी पिउन सक्ने ब्यवस्था र चिसोबाट बचाउन खोरभित्र हिटर जडान गर्ने तयारी गरेको बताउनुभयो ।

‘टेलिभिजन र इन्टरनेटमा बिदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रा पालेको हुँ, मल्लले भने ‘खोरलाई सरसफाई, वातावरण अनुकुलीत, व्यवस्थित बनाउन सकेमा रोगको समस्या धेरै कम हुन्छ ।’ उनले बाख्रा कुनै स्वास्थ्य समस्या देखिएमा लक्षणको आधारमा इन्टरनेटमा उपचार बिधीको बारेमा खोजी गर्ने र कृषि प्राबिधिकसंग टेलिफोन मार्फत परामर्श लिने गरेका छन् ।Bakhra Farm 01

प्रबिधि र यन्त्र उपकरणको प्रयोगले मानविय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लले बताउनुभयो । उहाँले बाख्रा, खसीबोकाको सामाजिक सञ्जाल फेसबुक पेज खोलेर बजारीकरण गर्नुभएको छ । साढे तिन वर्ष इराकमा काम गरेर गाउँ फर्कीएका मल्लले बाख्रा फार्म स्थापना र पूर्वाधार तयार गर्न हालसम्म बिस लाख रुपियाँ लगानी भएको बताउनुभयो ।

खोरमा भएका बाख्राको हिसाब गर्दा फर्मको पुँजी एककरोड रुपैयाँ भन्दा बढी हुन्छ । दुई वर्षअघि २७ वटा बाख्राबाट फार्म सुरु भएको थियो । ११० वटा जमुनापारी, बित्तल र खरी जातका बाख्रा रहेको फर्मबाट पछिल्लो एक वर्षयता पाँच लाख रुपैयाँ मूल्य बराबरको खसीबोका बिक्री भएको छ ।

आफू बाहेक थप चार जनालाई रोजगारी दिएका मल्लले आगामी दशैदेखि नियमित खसीबोका बिक्री गर्ने र फर्मको पूर्ण क्षमत्तामा बाख्रा पाल्ने योजना बनाएका छन् । व्यवसायमा सफल नभएपछि बिदेश गएका मल्लले आफ्नै देशमा केही गरेर स्वरोजगार बन्ने अठोटका साथ सुरु गरेको बाख्रापालनबाट सन्तुष्ट रहेको बताउनुभयो ।

व्यवस्थापन र संरचनाको हिसाबले उक्त फर्म जिल्लामै नमुना रहेको पशु सेवा केन्द्र ज्यामरुककोटका पशु सेवा प्राबिधिक टुकनाथ तिवारीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष पशु सेवा कार्यालयले उक्त फार्मलाई युवा स्वरोजगार कार्यक्रम अन्तरगत एक लाख रुपियाँ अनुदानको साथै प्राबिधिक सेवा उपलब्ध गराइदै आएको छ । प्रस्तुती सन्तोष गौतम