गुर्जामा भैलो खेलेर विद्यालयका लागि पाँच लाख संकलन

ramro-gurja-hamro-gurja1

सन्तोष गौतम / विकल्प
म्याग्दी २६ कात्तिक । म्याग्दीको दुर्गम गाविस गुर्जाका बासिन्दाहरुले तिहारको अवसरमा भैलो खेलेर विद्यालयका लागि पाँच लाख रुपैया भन्दा बढी नगद संकलन गरेका छन् ।
गुर्जा स्थित जनकल्याण मावि सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले भैलो खेलेर पाँच लाख २३ हजार ८१४ रुपैया नगद संकलन गरीएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिका पदाधीकारीहरुले कात्तिक २३, २४ र २५ गते गाविसका सबै वडाका बासिन्दाको घरमा पुगेर भैलो खेलेका थिए ।

सबै भन्दा बढी वडा नम्बर ९ बाट एक लाख तिन हजार ५१५ रुपैया संकलन भएको प्रअ सुवेदीले जानकारी दिनुभयो ।

भैलो खेलेर संकलन भएको रकम विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने जनाइएको छ । तिन सय जना बालबालीका अध्ययनरत उक्त विद्यालयमा ११ जना शिक्षक शिक्षिका कार्यरत छन् । मावि तहका ३ जना शिक्षक निजी स्रोतका हुन् ।

उनीहरुको तलबभत्ताका लागि वार्षिक १२ लाख रुपैया स्थानीय स्रोतबाट जुटाउने गरिएको छ ।