कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस मनाइयो

विकल्प न्यूज \बेनी
माघ ४ गते ।

नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

स्मृति दिवसको उद्घाटन गदैं नेपाली कांग्रेसकी केन्द्रिय सदस्य चम्पादेवी खड्काले पार्टीका संस्थापकहरूको सपना पुरा गर्ने गरी पार्टीका हरेक गतिविधिहरू अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले देशमा संकट पर्दा कांग्रेसले नेतृत्व गर्ने गरेकाले इतिहासमा कांग्रेसकै नेतृत्वमा विभिन्न आन्दोलनहरुमा सफलता प्राप्त भएको बताउनुभयो।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, पूर्व सहसभापति नेत्र बहादुर महत, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा, साहित्यकार एवम् नेकाका नेता अजयमिलन श्रेष्ठ, वडाका निर्वतमान सभापति बसन्त बोगटी र नरबहादुर थापा क्षेत्रीले मन्तब्य राख्नुभएको थियो ।

सोही अवसरमा भानु माविमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनेयमुना नेपालीलाई ओम्बो ट्रस्टद्धारा नगद ५ हजार सहित सम्मान गरिएको थियो भने अपाङ्गता भएका विपन्न परिवार लालबहादुर किसान र रामजी नेपालीलाई न्यानो कपडा वितरण गरिएको थियो । सोही अवसरमा संस्थापक सभापति स्व. बोगटीलाई मरणोपरान्त “रत्नेचौरको रत्न“ उपाधि सहित सम्मान गरिएको थियो ।

रत्नेचौरको माटोमा वि.सं.२००१ असोज २५ गते जन्मनु भइ २०५२ माघ ४ गते दिवंगत हुनुभएका बोगटीले स्थानीय समाजसेवी व्यक्तित्व स्व. बसन्तबहादुर बोगटीका साथै शिक्षाप्रेमी व्यक्तित्व स्व. इमानसिंह बोगटीको जनहितकारी विरासतलाई निरन्तरता दिनुभएकोमासंस्थापक सभापति बनेर पार्टीको सांगठनिक सुदृढीकरण र विकासका लागि पु–याउनु भएको लोकतान्त्रिक योगदानको स्मरणका साथै शैक्षिक, सामाजिक, धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा पु–याउनुभएको अविस्मरणीय योगदानहरूको उच्च मूल्याङ्कन गर्दै उल्लेखित कार्यको कदरस्वरूप मरणोपरान्त “रत्नेचौरको रत्न“ उपाधि प्रदानका साथ सम्मान गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि खड्काले स्वर्गवासी ओमबहादुर बोगटीका पत्नी लीला बोगटीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो । स्मृति दिवसको वडा सभापति कमल थापा मगरको अध्यक्षता र महाधिवेशन प्रतिनिधि विक्रम बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो।

म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठलाई लोकप्रिय साहित्यकारको उपाधि सहित सम्मान

म्याग्दीका सहित्यकार अजयमिलन श्रेष्ठलाई ‘लोकप्रिय साहित्यकार’को उपाधि सहित सम्मानित गरिएको छ । बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा मंगलबार आयोजित नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य चम्पादेवी खड्काले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर रुपमा कलम चलाउँदै विभिन्न विधामा पुस्तक लेखन र प्रकाशन गरी अनुसन्धानात्मक र ऐतिहासिक खोजमूलक तथ्यहरूलाई सङ्कलन गरेर सम्प्रेषण समेत गर्न सफल साहित्यकार श्रेष्ठलाई २०७८ मंसिर १ गते नेपाली कांग्रेसको आठौं जिल्ला अधिवेशनको समुदघाटन कार्यक्रममा “म्याग्दीका चम्किला तारा“ जीवनी सङ्ग्रह विमोचन र लोकार्पण गर्नुभएको थियो ।

उक्त पुस्तकमा पार्टीको जिल्ला नेतृत्वमा रहेर योगदान पु–याउनु भएका ४५ जना दिवंगत व्यक्तित्वका लोकतान्त्रिक योगदानका साथै जनहितकारी सामाजिक कार्यहरू जनसमक्ष ल्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै सम्मान गरिएको नेपाली कांग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका श्रेष्ठको म्याग्दीको साहित्य क्षेत्रमा अतुलनीय योगदान रहेको छ । सम्मानित भएपछि साहित्यकार श्रेष्ठले आफ्नो लेखन यात्रा जारी रहने बताउनुभएको थियो ।

नेपाली कांग्रेसका वडा सभापति कमल थापा मगरको अध्यक्षता र महाधिवेशन प्रतिनिधि विक्रम बोगटीको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वर्गीय ओमबहादुर बोगटीका पत्नी लीला बोगटी र नाति अभिषेक बोगटीले कार्यक्रममा उपस्थित सम्पूर्णप्रति आभार प्रकट गदैं आगामी दिनमा समेत रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।