वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

विकल्प न्यूज \काठमाण्डौं
माघ ४ गते ।

 काठमाडौँ — सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए ।

 तोकिएकै समयमा स्थानीय निर्वाचनका लागि दलहरू सहमत भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा भएको सहमतिबारे जानकारी दिँदै उनले भने, ‘निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत रहेका छन् । अरु थप विषयमा छलफल र निर्णयको लागि पर्सि माघ ६ गते पुनः गठबन्धन समन्वय समितिको बैठक बस्नेछ।’

बैठकमा राष्ट्रिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे सैद्धान्तिक छलफलमात्रै भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

‘आज सैद्धान्तिक छलफल मात्रै भएको हो,’ गुरुङले भने, ‘संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ। तर, डेटलाइनबारे आज कुराकानी भएन ।’ गुरुङले कोभिडका कारण माधव नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता समेत अनुपस्थित भएकाले मितिबारे अर्को बैठक राखेर छलफल गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुने बताए । ‘पहिले आफ्ना दलमा आन्तरिक छलफल गरेर एकपटक पुनः शीर्ष तहमा बसेर मितिबारे टुंगो लगाउने सहमति भएको छ,’ उनले भने।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि समयमै स्थानीय तहको निर्वाचन हुने बताए । बैठकबारे जानकारी गराउँदै उनले भने, ‘संविधानले तोकिएकै समयमा स्थानीय निर्वाचन गरेर संघीयतालाई मजबुत गराउँदै स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौं । समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।’